कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कटानले बस्ती नै जोखिममा

‘चौधर नदी घरछेउ आइपुग्यो, फेरि पनि बाढी आयो भने घर छाडेर भाग्नुपर्ने हुन्छ’
भवानी भट्ट

कञ्चनपुर — पद्मा पार्कीको परिवार २०३० सालमा बझाङबाट बसाइँ सरेर कञ्चनपुरको वेदकोट नगरपालिका–४ मा बस्न थालेको हो । चौधर नदी किनारमै बसोबास गर्ने उनको ४ कट्ठा जमिन थियो । साउन तेस्रो साता चौधर नदीमा आएको बाढीले उनको अधिकांश जग्गा बगायो । अब घर मात्रै बाँकी छ ।

कटानले बस्ती नै जोखिममा

‘खेत कटान गरेर नदी घर छेउमै पुगिसकेको छ, अब कतिबेला घर पनि लैजान्छ,’ पद्माले भनिन्, ‘चौधरमा फेरि बाढी आयो भने घर छाडेर भाग्नुपर्ने हुन्छ ।’ साउन १९ गते रातिदेखि आएको बाढीले उनको आधाभन्दा बढी जमिन बगाएको छ । उक्त जमिनमा तिल लगाएकी थिइन् ।

चौधर नदीको बाढीले अलिअलि बर्सेनि कटान गर्दै आएको थियो । यस वर्ष एकै पटकको बाढीले धेरै कटान गरेको हो । १५ परिवारको जमिन कटानसंँगै दुई घरसमेत बगाएको पद्माले बताइन् । नदी किनारका अधिकांश घरहरू उच्च जोखिममा रहेको पार्कीले बताइन् । उनका अनुसार दुवै टोलका ३२ घर नदी कटानका कारण उच्च जोखिममा परेका छन् ।

साउन तेस्रो साताको बाढीले १३ परिवारको एक बिघाभन्दा बढी जमिन कटान गरेको छ । ३ घर नदी किनारमै पुगेका छन् । ती घर भत्काएर अन्यत्र सार्ने काम भइरहेको उनले बताइन् । वेदकोट नगरपालिकाको बगुनदेखि सिसैयासम्मै नदीले निरनतर कटान गरिरहेको उनले बताइन् ।

चुरे क्षेत्रबाट बाग्ने बगुन, साजगाड र बैतडा खोला सार्की पार्की टोलमै आएर मिसिन्छन् । तीनवटा नदी एउटैमा मिसिँदा बढी क्षति हुने गरेको अम्बिका पार्कीले बताइन् । यस पटकको बाढीले उनको पनि ५ कट्ठाभन्दा बढी जमिन नदीले बगाएको हो । उनको १५ कट्ठा जमिन थियो । चौधर नदीले बर्सेनि कटान गर्दा अहिले चार/पाँच कट्ठा मात्रै बाँकी छ ।

उनको परिवार २०२५ मा बझाङ जुजीबाट चौधर नदी किनारमा बसाइँ सरेको हो । दलित समुदायको बसोबास रहेकाले उक्त टोलको नाम नै सार्की पार्की टोल राखिएको छ । यहाँका स्थानीय दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँछन् । अधिकांश युवाहरू रोजगारीका लागि भारततिर पसेका छन् । सार्की पार्की टोलको बस्ती जोगाउनका लागि चौधर नदीमा तटबन्ध निर्माणका नाममा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले विभिन्न समयमा टुक्रे योजनाहरू बनाउने गरेको छ । तर ती योजनाहरू नदीको कटान नियन्त्रणका लागि पर्याप्त हुन सकेनन् । जसका कारण यो बस्तीले बर्सेनि कटानको पीडा झेल्नुपरेको छ ।

नदी नालाहरूको अनियन्त्रित उत्खनन तथा नदी किनारमा विभिन्न संरचनाहरू निर्माण हुने गरेका कारण हालका वर्षमा स–साना खोलाहरूले पनि ठूलो क्षति पुर्‍याउने गरेका छन् । बगुन खोला बेदकोटको सबैभन्दा बढी उत्खनन हुनेमध्ये पर्दछ । स्थानीय तहहरूले उत्खननका लागि ठेक्का दिने तर अनुगमन नगर्दा प्राकृतिको स्रोत साधनको दोहनले बर्खामा नदी किनारका बासिन्दाले पीडा झेल्नुपरेको छ ।

‘एकै दिनको बाढीले एक बिघाभन्दा बढी जमिन कटान गर्‍यो,’ अर्का स्थानीय गोविन्द ओडले भने, ‘फेरि अर्को बाढी आउँदा कति बगाउँछ केही ठेगान छैन ।’ उनका अनुसार सार्की र पार्की टोलमा डेढ सय बढी परिवारको बसोबास छ । अधिकांशका मुख्य पेसा कृषि र दैनिक ज्यालादारी काम नै हो । बर्सेनि जमिन कटान गर्न थालेपछि छाक टार्नसमेत समस्या हुने उनले बताए ।

तत्कालका लागि अस्थायी किसिमको रोकथामका लागि सुरक्षाकर्मीको सहयोगमा सिमेन्टको बोरीमा ग्राभेल भरेर राखिए पनि त्यसको भर नभएको वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताए । उनका अनुसार जमिन कटान बढी भएको छ । केही परिवार विस्थापित पनि भए । फेरि ठूलो बाढी आएमा अझै विस्थापित हुन सक्ने उनले बताए । उनका अनुसार नगरपालिका र प्रदेश सरकारले केही स्थानमा तटबन्ध निर्माण गरेको छ । तर सानोतिनो बजेटले बस्ती जोगाउन सकिँदैन । यसका लागि गुरुयोजना बनाएर तटबन्ध निर्माण गर्नुपर्ने उनले बताए । ‘यस पटक पनि गुरुयोजनाका लागि प्रयास भएको हो, तर सकिएन,’ उनले भने, ‘पानीको सतहमाथि भएकाले बढी क्षति भइरहेको छ ।’

प्रकाशित : श्रावण ३०, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?