कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा थपिए ९ हजार मतदाता

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि ९ हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तहको निर्वाचनपछि संकलित मतदाता नामावलीअनुसार ९ हजार ८ सय २८ मतदाता थपिएका हुन् ।

कञ्चनपुरमा थपिए ९ हजार मतदाता

निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनपश्चात् जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गरेको थियो ।

सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणाको अघिल्लो दिनसम्म ४ हजार ८ सय ६२ पुरुष र ४ हजार ९ सय ६६ महिलाको मतदाता नामावली संकलन भएको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए । ‘अझै पनि धेरैको नामावली संकलन हुन सकेको छैन,’ जिल्ला निर्वाचन अधिकारी जोशीले भने । उनका अनुसार निर्वाचन घोषणालगत्तै मतदाता नामावली संकलनको काम सबै रोकिएको छ ।

स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा १ लाख ४३ हजार ३ सय ४१ पुरुष, १ लाख ५२ हजार १२ महिला र १ तेस्रो लिंगी गरी २ लाख ९५ हजार ३ सय ५४ मतदाता रहेका थिए । २ गाउँपालिका र ७ नगरपालिका रहेको कञ्चनपुरमा स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ सय ३२ मतदान स्थल र ३ सय ४१ मतदान केन्द्र निर्धारण गरिएको थियो । २०७४ को निर्वाचनमा २ लाख ३५ हजार ७ सय ३५ मतदाता थिए ।

मतदाता नामावली संकलनको काम रोकिए पनि स्थानीय तहमा धेरै मतदाताको नामावली संकलन हुन नसकेको राजनीतिक दलका अगुवा तथा जनप्रतिनिधिहरूले बताएका छन् । मतदाता आफैं संकलन केन्द्रसम्म जान नसक्ने तथा ग्रामीण भेगका मतदाताहरू बढी मात्रामा छुटेको उनीहरू बताउँछन् । दोधारा चाँदनी नगर कार्यपालिकाका प्रवक्ता ओम बस्नेतले भने, ‘हरेक वडामा १५/२० जनाभन्दा बढीको नामावली संकलन हुन सकेको छैन ।’

राजनीतिक दलका नेता कार्यकर्ताले पनि अन्तिम अवस्थामा बेवास्ता गरेको र मतदाता स्वयम्ले पनि सोधीखोजी नगरेका कारण छुटेको उनले बताए । स्थानीय तहको निर्वाचनअघि निर्वाचन कार्यालयले हरेक पालिकाबाट समेत मतदाता नामावली संकलन गरेको थियो । हरेक पालिकाको केन्द्रमा लामो समयसम्म नामावली संकलन हुँदासमेत धेरै मतदाता छुटेका थिए । तर यस पटक पालिकामा मतदाता नामावली संकलन हुन सकेन । स्थानीय तहको निर्वाचनमा धेरै मतदाता छुटेको गुनासो आएको कृष्णपुर नगरपालिकामा भने यस पटक छिटपुट मात्रै छुटेको हुन सक्ने नगरप्रमुख हेमराज ओझा बताउँछन् । उनले निर्वाचन कार्यालयसँग केही दिन पालिकाबाटै नामावली संकलनका लागि आग्रह गरिएको भए पनि यस पटक कार्यक्रम नभएर हुन नसकेको बताए । ‘हामीले पालिकाबाटै नामावली संकलनका लागि आग्रह गरेका हौं,’ उनले भने, ‘खर्चको व्यवस्थापन नगरपालिकाले गर्छ पनि भन्यौं, तर निर्वाचन कार्यालयले हुन नसक्ने बतायो ।’

उनका अनुसार कृष्णपुर नगरपालिकाका धेरै मतदाताले कैलालीको धनगढी पुगेरसमेत नामावली संकलन गरेको बताए । अझै पनि केही मतदाताहरू छुटेको हुन सक्ने उनले बताए । राजनीतिक दलहरूले सवारीसाधनको व्यवस्था गरेर संकलन केन्द्रसम्म पुर्‍याउने व्यवस्था गर्दासमेत केही मतदाता छुटेको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?