मध्यपहाडी सडक निर्माण अझै अधुरै- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडी सडक निर्माण अझै अधुरै

मेनुका ढुंगाना

अछाम — देशको समृद्धिको आधारको रूपमा हेरिएको र नेपालको मध्यपहाडी भूभागमा निर्माण गरिन लागेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना निर्माणअन्तर्गत अछाममा चारमध्ये एक खण्डको काम अझै सम्पन्न हुन सकेको छैन । चारवटा खण्डमा काम भएको अछाममा ३ खण्डको काम सम्पन्न भइसकेको छ । आयोजनाको ६० किलोमिटर सडक अछाममा पर्छ ।

२०७३ वैशाख १६ मा सम्झौता भई २०७६ वैशाख १५ सम्म कालोपत्र सक्ने लक्ष्य रहेको यो आयोजनाको अछाम खण्डको बीचमा विनायक–ठाटीखाँदमा पर्ने १६ किलोमिटर सडक निर्माणको काममा ढिलाइ भएको हो । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण कार्य अघि बढाएको यो योजनाअन्तर्गत अछामको उक्त सडक खण्ड कालोपत्र गर्न मूल्य अभिवृद्धि करसहित १ अर्ब १७ करोड बजेट रहेको छ । जसमा विनायकदेखि ठाटीखाँदसम्म र ठाँटीखाददेखि मंगलसैनसम्मको सडकको कालोपत्रको लागि ३३/३३ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको थियो । तर सोचेअनुरूप काम गर्न नसकेको एक कर्मचारीले बताए । ‘ठेकेदारहरू नेताको संरक्षणमा भएपछि काम अवरुद्ध हुन्छ । जिल्लामा पटकपटक यो खण्डको विषयमा छलफल र बहस हुन्छन् । तर काम भने राम्रोसँग कहिल्यै हुँदैन’ उनले भने, ‘कामदारले आवश्यक मेसिन तथा उपकरण, क्रसर, टिपर, जेसीबी, एक्स्काभेटर, लोडर गुणस्तर मापनका लागि ल्याबलगायतका सामान तथा पूर्वाधार, दक्ष जनशक्तिको अभावले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।’

अछामको तीन खण्डमा काम सम्पन्न भए पनि बीचको खण्डमा काम सुस्त गतिमा भएको आयोजनाको साइट इन्जिनियर मनीष सिंहले बताए । उनका अनुसार मंगलसैन ठाटीखाँद, बेलखेत–कैलाश खोला, विनायक–बेलखेतको काम सम्पन्न भएको छ । समयमै काम सम्पन्न हुनुपर्छ भनेर निर्माण कम्पनीलाई पटकपटक पत्रसमेत पठाएकाको उनले बताए । पटकपटक गरी ३४ पटकसम्म काम सम्पन्न गर्नलाई म्याद थपिएको उनको भनाइ छ । ‘वर्षाको समय सुरु भएसँगै अछाममा मध्यपहाडी सडक क्षेत्रमा पहिरो जान थालेको छ ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

छाडा चौपाया व्यवस्थापनमा जुट्दै पालिका

राजमार्ग क्षेत्रका नगरप्रमुख उपाय निकाल्न बर्दिया, कतर्नियामा सञ्चालित सामुदायिक गौ आश्रममा भेला
अर्जुन शाह

धनगढी — चिसापानीस्थित कर्णाली पुलदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको पूर्व–पश्चिम राजमार्गसहित धनगढी र महेन्द्रनगरलगायतका मुख्य बजार क्षेत्रमा छाडा चौपायाका कारण सवारी दुर्घटना बढेको र स्थानीयको बालीनाली पनि सखाप हुने गरेको वर्षौं भइसक्यो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आथिक वर्ष सडकमा छोडिएका छाडा पशु चौपायासँग सवारी साधन ठोकिएर ३८ वटा दुर्घटना भए, जसमा तीन जनासँगै २९ छाडा चौपाया मरे ।

ती घटनामा ४३ जना घाइते भएका छन् । चालु आव साउनको तीन सातामा भएका तीनवटा सडक दुर्घटनामा एक जनाको मृत्यु भइसकेको छ भने चार जना घाइते भएका छन् । यसै साता अत्तरियामा ट्यांकरले ठक्कर दिँदा ५ वटा छाडा चौपाया सडकमै मरे । ट्यांकर पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भयो ।

छाडा चौपाया व्यवस्थापनको प्रतिबद्धता पछिल्ला निर्वाचनका एजेन्डा बन्दै आएको छ । तर समस्या ज्युँका त्यूँ छ । बरु दुर्घटना बढेको बढ्यै छन् । छाडा चौपायाले बालीनाली पनि सिध्याएर सखाप छ । स्थानीय जनप्रतिनिधिले यसअघि छाडा चौपाया नियन्त्रण तथा संरक्षणका प्रयास नगरेका होइनन् । तर सफल हुन सकेन । महेन्द्रनगरदेखि लम्कीचुहासम्मका हाइवे क्षेत्रका पालिकाले त्यसैका लागि खर्चेको करोडौं रकम उपलब्धिविहीन भइरहेको छ ।

छाडा चौपायाले हैरान खेपेका राजमार्ग क्षेत्रका नगरप्रमुखहरू छाडा चौपाया संरक्षणको उपाय निकाल्न शुक्रबार कैलालीको छिमेकी जिल्ला बर्दियाको बारबर्दिया नगरपालिकास्थित कतर्नियामा सञ्चालित सामुदायिक गौ आश्रममा भेला भए । यो गौ सेवा आश्रम समुदायद्वारा व्यवस्थित नमुना संरक्षण केन्द्र हो । बसाहा वर्डा गौ सेवा आश्रम र भक्त विवि फर ह्युमानिटीको संयुक्त आयोजनामा आयोजित भेलामा कैलालीको धनगढी, कञ्चनपुरको भीमदत्त, राजमार्गका क्षेत्रका नगरप्रमुख तथा प्रतिनिधि, बर्दियाका विभिन्न पालिकाका प्रतिनिधि, पालिकामा कार्यरत प्रशासनिक प्रमुख, प्रदेश मन्त्रालयका पशुसेवा निर्देशनालयका निर्देशकसहित पूर्वमन्त्री रमेश लेखक पनि सहभागी भए ।

योगी पीताम्बरको अगुवाइमा कतर्नियामा करिब एक वर्षदेखि गौशाला स्थापना भएको हो । छाडा चौपायाले हैरान भएका त्यस क्षेत्रका स्थानीयलाई योगी पीताम्बरले गौ संरक्षणको धार्मिक तथा वैज्ञानिक महत्त्वको चर्चा गर्दै सडकमा गाई छाड्नु एक प्रकारले अपराध हो भन्ने बुझाएपछि स्थानीय गौ तथा छाडा चौपाया संरक्षणमा कस्सिएका थिए । आश्रम व्यवस्थापन समितिका सदस्य समेत रहेका स्थानीय देवेन्द्र गौतमले भने, ‘पोहोरसम्म त छाडा चौपायाले बालीनाली सखाप पारेर हामीले अन्न नै भित्र्याउन नपाउने अवस्था थियो । अहिले त्यो समस्या छैन । आश्रमबाट आम्दानी गर्न सुरु भएको छ ।’

करिब अढाई सयभन्दा बढीको संख्यामा गौ संरक्षण गरिएको उक्त आश्रममा सबै काम समुदायले नै गर्दछन् । तीन जना हेरालो राखिएका छन् । चरिचरनका लागि सामुदायिक वनले व्यवस्थापन गरिदिएको छ । गाईको धार्मिक तथा वैज्ञानिक महत्त्व थाहा पाइसकेपछि समुदाय जागरुक भएका हुन् । आश्रम सञ्चालनमा बारबर्दिया नगरपालिकाले पनि पूर्वाधार निर्माण सुरुआत गरेर सहयोग गरेको आश्रमका प्रतिनिधिले बताए ।

आश्रममा सहभागीलाई योगी पीताम्बरले गौ संरक्षणको महत्त्व तथा छाडा चौपाया नियन्त्रण तथा संरक्षणका उपायहरूमा प्रवचन दिएका थिए । योगी पीताम्बरले भने ‘धर्मशास्त्रमा गौ रक्षाको धार्मिक महत्त्व त आफ्नो ठाउँमा छँदै छ, अहिलेको जमानामा गाईबाट उत्पादन हुने वस्तुहरूको व्यापारीकरणबाट मात्रै पनि अर्थोपार्जन गर्न सकिने सम्भावना छ ।’

गाई संरक्षणको धार्मिक तथा आम्दानीका स्रोत बढाउने माध्यमको मर्म नबुझाउँदासम्म छाडा चौपायाका नाममा जतिसुकै खन्याए पनि सम्भव नभएको उनको भनाइ थियो । उनले स्थानीय तहका प्रतिनिधिहरूलाई प्रश्न गर्दै भने ‘खर्च त अहिलेसम्म तपाईंहरूले करोडौं गरिसक्नुभयो । ख्वै त संरक्षण भएको ?’

भेलाको आयोजक भक्त विवि फर ह्युमानिटीका प्रतिनिधि राजबहादुर चन्दले पनि स्थानीय तहलाई गौ संरक्षण केन्द्र स्थापनामा सहजीकरण गर्न तयार रहेको बताए । धनगढीका नगरप्रमुख गोपाल हमालले भने, ‘समुदायको अपनत्व र स्वामित्वबिना गौ संरक्षण सम्भव रहेनछ ।’

प्रकाशित : श्रावण २३, २०७९ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×