कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढीमा प्रहरी अस्पताल

कान्तिपुर संवाददाता

धनगढी — सुदूरपश्चिम प्रदेश प्रहरीले धनगढीमा ५० शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको छ । अस्पतालमा सबैले सेवा पाउने बताए । काठमाडौंमा प्रहरी अस्पताल सञ्चालनमा आएका ३८ वर्षपछि धनगढीमा शाखा अस्पताल सञ्चालनमा आएको हो । प्रहरी अस्पताल महाराजगन्जअन्तर्गत शाखा अस्पतालका रूपमा सञ्चालन हुने यस अस्पतालबाट सर्वसाधारणले समेत सेवा लिन सक्ने अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंहले बताइन् ।

एआईजी सिंहले सोमबारदेखि एक सातासम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र औषधि निःशुल्क वितरण गरिने बताइन् । अस्पतालले शल्यक्रिया र प्रसूति सेवासमेत चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइन् । हाल अस्पतालमा दुई विशेषज्ञ चिकित्सक छन् । निर्देशक सिंहले छिट्टै अन्य विधाका विशेषज्ञ चिकित्सकसमेत थप गर्दै लैजाने बताए ।

यसैबीच सोमबार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागद्वारा धनगढीमा एक अलग्गै कार्यशालाको आयोजना गरिएको छ । प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी नाम दिइएको उक्त कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका जिल्ला प्रहरी प्रमुख र अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता छ । कार्यक्रममा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले प्रदेशमा अपराध न्यूनीकरण तथा अनुसन्धान कार्यलाई चुस्त बनाउन प्रहरीलाई स्रोत र सीपले दक्ष बनाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

आमनागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको प्रहरी पूर्वाधार अभावमा आफैं असुरक्षित बन्नुपर्ने अवस्था दुःखद भएको उनको भनाइ थियो । ‘प्रदेश सरकारले प्रहरीलाई पूर्वाधार निर्माणमा करोडौं बजेट लगानी गरिरहेको छ,’ आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले भने, ‘राजमार्गलगायत संवेदनशील ठाउँमा प्रहरीको सहकार्यमा सीसीटीभी जाडानमा सहयोग गरिरहेका छौं ।’ सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूको अवस्था अझ पीडादायी भएको मन्त्री रावलले बताए ।

प्रकाशित : श्रावण १९, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?