कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइपाल नुन काण्ड : छानबिन गर्न सिडियो र डीएसपीलाई ज्ञापनपत्र

वसन्तप्रताप सिंह

बझाङ — नेपाल कम्युनिस्ट पार्टी बहुमतले सरकारले ढुवानी अनुदानमा बझाङको विकट साइपाल गाउँपालिकामा पठाइरहेको नुन ढुवानी नै नगरी अनियमितता गरेको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । 

साइपाल नुन काण्ड : छानबिन गर्न सिडियो र डीएसपीलाई ज्ञापनपत्र

जनताको दैनिक जीविकासँग जोडिएको नुनलगायत खाद्यान्न ढुवानीमा पनि अनियमितता हुने गरेको; प्रशासन, प्रहरी, ठेकेदार र जनप्रतिनिधि नै यसमा संलग्न रहेको विषय गम्भीर रहेको भन्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा बहुमतले ज्ञापन पत्र बुझाएको हो ।

बिहीबार प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर विष्टलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला इन्चार्ज लोकेन्द्र सार्कीले यो घटना सामसुम पार्ने संकेत देखिएको बताए । ‘दुर्गमका जनताको जीवन सहज होस् भनेर राज्यले दिएको अनुदानमा आँखा लगाउनेलाई कारबाही भएन भने यसको प्रतिकार गर्छाैं‚’ उनले भने ।

साइपाल गाउँपालिकामा तीन वर्षदेखि सरकारले ढुवानी अनुदानमा दिएको नुन ढुवानी नभएको तर कागज मिलाएर ढुवानी अनुदानबापतको १ करोड २८ लाखभन्दा बढी रकम भुक्तानी गरिएकोबारे मंगलबार कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले नुन ढुवानीको मुख्य जिम्मेवार निकाय साल्ट ट्रेडिङ कर्पाेरेसन रहेकाले कर्पाेरेसनले नै यस विषयमा छानबिन गर्नुपर्ने बताए । ‘यो विषयमा गुनासो आइरहेको छ । हामी साल्ट ट्रेडिङलाई जानकारी गराउँछौं‚’ उनले भने ।

प्रकाशित : श्रावण ५, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?