कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

१२ वर्षदेखि पुल अधुरै

कैलालीको करिब ६२ किलोमिटर हुलाकी सडक खण्डमा पुल बन्न बाँकी यो एउटा मात्रै हो
मोहन बुडाऐर

भजनी, कैलाली — कान्द्रा नदी वारपार गर्न बनाएको काठेपुल गत साताको बाढीले बगायो । स्थानीयले अहिले डुंगाबाट तारउतार गर्छन् । भजनी नगरपालिकाले स्थानीयको डुंगाबाट आउजाउ गर्न डुंगा सञ्चालनको ठेक्का दिने गरेको छ । स्थानीय भीम विकले चालु वर्षको ठेक्का लिएका छन् । उनी हिउँदमा पानी थोरै हुने भएकोले काठेपुल (साँघु ) हाल्छन् । बर्खामा डुंगा चलाएर वारपार गराउँछन् ।

१२ वर्षदेखि पुल अधुरै

स्थानीयले डुंगाबाट वारपार गर्दा १० रुपैयाँका दरले तिर्नुपर्छ । साइकल, मोटरसाइकल तारेको छुट्टै रकम लाग्छ । अहिले मोटरसाइकलसहित तर्नुपरे ५० रुपैयाँ शुल्क लाग्छ ।

भजनी नगरपलिका क्षेत्रमा नागबेली जस्तै बगेको कान्द्रा नदी नतरेर लालबोझीका बासिन्दा भजनी आउन सक्दैनन् । लालबोझीका बासिन्दाको नगरपालिकाको केन्द्र भजनी काम विशेष आउजाउ मात्रै हुँदैन । लालबोझीका १० कक्षा माथि पढ्ने विद्यार्थीले समेत साँझ–बिहान डुंगामा तारउतार गर्नुपर्छ । केहीको खेतीपातीको सम्बन्ध वारिपारिको गाउँसँग भएकाले एकै दिन १० पटकसम्म पनि डुंगामै वारपार गर्नुपर्छ । ‘बर्खाका बेला त लालबोझीका विद्यार्थी र स्थानीयको ज्यान डुंगामै रहने गरेको छ,’ स्थानीय पत्रकार जय बुढाले भने, ‘साविकको गाविस लालबोझीको मुख्य समस्या बर्खामा नदी वारपारको हो ।’ उनका अनुसार हिउँदमा नदीको सतह घुँडामुनि रहने हुँदा समस्या हुँदैन तर बर्खामा नदी तर्न सकिँदैन । बर्खामा डुंगा डुबेर केहीको ज्यान पनि गएको घटना भएको उनले बताए ।

लालबोझी मोहना र कान्द्रा नदीको टापुको बस्ती हो । लालबोझीको पश्चिम–दक्षिणमा मोहना नदीले घेर्ने र उत्तरपूर्वमा कान्द्राले घेरेको छ । मोहना नदी पारि भारत पर्छ । लालबोझी बस्ती सधैं मोहना र कान्द्राको बाढीले कटानी र पटानीबाट क्षति पनि गर्दै आएको छ । हुलाकी सडकको निर्माणले यहाँका बासिन्दालाई टापुमा बस्नुपरेको पीडा कम भएको स्थानीय पत्रकार बुढाले बताए । ‘धनगढीदेखि टिकापुरसम्म ६२ किलोमिटरको हुलाकी सडक मार्ग निर्माणले लालबोझीको लागि यातायातको मेरुदण्ड बनेको थियो’ बुढाले भने, ‘तर हुलाकी सडकको कान्द्रा नदीमा ठेक्का लागेको १२ वर्षदेखि पुल नबन्दा स्थानीयले अहिलेसम्म नदी वारपारको समस्या भोग्नुपरेको छ ।’

गाउँको आर्थिक मेरुदण्ड हुलाकी सडकलाई एउटा पुलको निर्माण काममा भएको ढिलाइले धनगढीदेिख टीकापुर, खक्रौला भन्सारसम्मको व्यापारिक करिडोरसमेत सञ्चालनमा आउन नसकेको भजनीका व्यापारी भेषबहादुर शाहाले बताए । उनका अनुसार हुलाकी सडकको कान्द्रा पुल अभावमा खक्रौला भन्सारलाई समेत असर पुगेको छ ।

भारतका विभिन्न सहरबाट कैलालीका टीकापुर, राजमार्गका स्थानीय बजार र धनगढीका लागि आउने व्यापारिक समान हुलाकी सडकको प्रयोगले छोटो हुने उनको भनाइ छ । धनगढीबाट टीकापूर पूर्वपश्चिम राजमार्गबाट १ सय किलोमिटर बढी दूरीमा छ । हुलाकी सडकले धनगढी र टीकापुरको दूरी झन्डै आधा घटेको छ । धनगढी–टीकापुर हुलाकी सडक ६२ किलोमिटर छ ।

भारत सरकारले निर्माण गरिदिन लागेको पूर्व–पश्चिम हुलाकी सडकको पहिलो चरणको कामअन्तर्गत कैलालीमा निर्माण सुरु गरेको थियो । भारतीय कम्पनीले धनगढीदेखि हसुलियासम्म ३१ र भजनीदेखि सत्ती कर्णालीसम्म १२ किलोमिटर गरी ४३ किलोमिटर सिंगल सडक निर्माण गरेर २०७२ मा फर्केको थियो । यो पुलको ठेक्का भएको १२ वर्ष पुग्यो । कैलालीको करिब ६२ किलोमिटर हुलाकी सडक खण्डमा पुल निर्माण हुन बाँकी यो एउटा मात्रै हो ।

हुलाकी सडक आयोजनाले लालबोझी र भजनीलाई जोड्ने १ सय मिटर लामो कान्ध्रा नदीमा पुल दुई वर्षभित्र निर्माण गर्न आर्थिक बर्ष २०६७/६८ मा लामा शाल्पा शेर्पा बिरुवा जेभी कम्पनीलाई ४ करोड ४२ लाख २१ हजारमा ठेक्का दिएको थियो । आयोजनाका प्रमुख इन्जिनियर सुवित जोशीले पहिलो चार वर्ष आयोजनाका कारण र सात वर्ष ठेकेदार कम्पनीको लापरबाहीले अहिलेसम्म पुल बन्न नसकेको बताए । उनका अनुसार पुलको रि–डिजायन गरिएको बताए । उनले पुलको वाइल फाउन्डेसन पिल्लरलाई पाइप फाउन्डेसनमा रिडिजाइन गरिएको बताए । ‘पुलको रिडिजाइन स्वीकृत भएर आउन चार वर्ष लाग्यो,’ जोशीले भने, ‘पछिल्लो सात वर्ष ठेकेदार कम्पनीको कारण निर्माणको काम सम्पन्न हुन सकेको छैन ।’

उनका अनुसार आयोजनाले ०७२ मै ठेकेदार कम्पनीलाई रिडिजाइन दिएर थप २ वर्षको निर्माणको अवधि तोकेको थियो । ठेकेदार कम्पनीले नियमित काम नगर्दा अहिलेसम्म चार पटक म्याद थप गरेको जोशीले बताए । ‘चौथो पटकको थप म्यादभित्र पनि पुल निर्माण सम्पन्न गर्न नसकेकाले ठेक्का सम्झौतानै तोडने यही असार १५ मा सार्वजनिक सूचना जारी गरेका थियौं,’ उनले भने, ‘अहिले फेरी बर्खा पछिको समयमा पुल निर्माण गर्ने प्रतिबद्धतासहित म्याद थपको निवेदन दिएको छ । यस निवेदनमा पुनर्विचार हुँदै छ ।’ आयोजनाले निर्माण कम्पनीलाई पहिलो म्याद थप ०७७ फागुन, दोस्रो म्याद ०७८ साउन, तेस्रो ०७८ चैतसम्म दिएको जोशीले बताए ।

प्रकाशित : असार २३, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?