कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थलारा गाउँपालिका पूर्ण खोपयुक्त घोषणा 

वसन्तप्रताप सिंह

बझाङ — बझाङको थलारा गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि शुक्रबार पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । 

थलारा गाउँपालिका पूर्ण खोपयुक्त घोषणा 

थलाराले गत चैत र वैशाख महिनामा पालिकाभरका सम्पूर्ण बालबालिकाले खोप पाए नपाएको बारेमा सर्वेक्षण गरेको थियो । प्रत्येक वडामा अभियान सञ्चालन गरेर खोप प्राप्त गर्ने उमेरका बालबालिकाहरुलाई खोप लगाउने र ९ वटा वडा रहेको यस पालिकामा १३ वटा खोप केन्द्रबाट नियमित खोप सेवा दिने ग्यारेन्टी गरिसकेपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पदम ओलीले जानकारी दिए ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेअनुसार स्वास्थ्य तथा सरसरसफाइ स्थानीय सरकारको एकल अधिकारको हो । यसको सुरुवात खोपको सुनिश्चितता भएपछि मात्रै सम्भव हुन्छ,’ शाखा प्रमुख ओलीले भने ‘आज हामीले यो आधारभूत खुड्किलो पार गरेका छौं । यो पालिकाभरका बालबालिकाको जीवन रक्षाका लागि ठूलो उपलब्धि हो ।’ उनले अभियानका क्रममा जन्मेदेखि २३ महिनासम्मका १ हजार ३३ बालबालिकालाई नेपाल सरकारले तोकेका सबै अनिर्वाय खोप लगाइएको जानकारी दिए ।

खोप सेवा प्राप्त गर्नु प्रत्येक बालबालिकाको नैर्सगिक अधिकार भएको बताउँदै थलारा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायाले बालबालिका स्वस्थ भए मात्रै पालिकाको भविष्य सुन्दर हुने बताए । ‘यो उपलब्धिले हामी स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा दिन सक्छौँ भन्ने मनोबल बढाएको छ,’ उनले भने ‘स्वास्थ्यकर्मीहरूले गर्नु भएको यो मेहनतका लागि धन्यवाद दिन चाहन्छु । तपाईंको यो ऊर्जा कायम रहेमा हामी गुणस्तरीय स्वास्थ्य सेवाका अन्य क्षेत्रमा पनि सफल हुनेमा पालिका विश्वस्त छ ।’

प्रकाशित : असार १७, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?