कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुक्तिकोट पुग्यो चिकित्सक टोली

कुपोषणले ग्रस्त २८ बालक र २३ बालिका गरी ५१ जनाको अवस्था गम्भीर रहेको चिकित्सकको भनाइ
वसन्तप्रताप सिंह

बझाङ — कुपोषणले ग्रस्त बाजुराको मुक्तिकोट गाउँमा पोषणविद् र बाल चिकित्सकको टोली पुगेको छ । स्वामिकार्तिक खापर गाउँपालिका–१ मा पर्ने यो गाउँमा पुगेर उक्त टोलीले बालबालिकाको कुपोषणको अवस्था मापन गरेको छ । टोलीले महिला, बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य परीक्षण, उपचार र निःशुल्क पौष्टिक आहार वितरण गरेको थियो । जेठ २८ गते मुक्तिकोट पुगेको टोलीले २९ देखि असार १ गतेसम्म शिविर सञ्चालन गरेको हो ।

मुक्तिकोट पुग्यो चिकित्सक टोली

नेपालमा २५ वर्षदेखि पोषण पुनःस्थापनाको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था नेपाल युथ फाउन्डेसनले मुक्ति कोटमा चार दिने शिविर सञ्चालन गरेर ७ सय बढी महिला, १ हजार बढी किशोरकिशोरी र बालबालिकाको कुपोषणको अवस्था जाँच तथा उपचार गरेको थियो । टोलीमा बालरोग विशेषज्ञ डाक्टर समुन्द्र बजिमय, पोषणविद् सुदा महर्जन, जनरल फिजिसियन, स्टाफ नर्सलगायत ११ स्वास्थ्यर्मी थिए । उनीहरूले १४ वर्षमुनिका १ हजार १३ बालबालिका र ७ सयभन्दा बढी आमाहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको फाउन्डेसनकी सूचना तथा विकास संयोजक अनिता पराजुलीले जानकारी दिइन् । ‘जहाँ हरेक आमाले गुमाएका छन्, सन्तान’ शीर्षकमा चैत ८ गते कान्तिपुर दैनिकमा प्रकाशित यस गाउँको समाचारले संस्थाको ध्यानार्कषण भएपछि शिविर सञ्चालन गरिएको उनले बताइन् ।

जाँच गरिएकामध्ये ४६ प्रतिशत बालबालिका कुपोषणले ग्रस्त रहेको पाइएको र अधिकांश कुपोषित बालबालिकामा छालासम्बन्धी रोग पनि देखिएको अध्ययनपछि संस्थाले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जाँच गरिएका १ हजार १३ मध्ये ४ सय ६० जना कुपोषण ग्रस्त भेटिएकोमा २८ बालक र २३ बालिका गरी ५१ जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

बालबालिकाको उपचार गर्दै बालरोग विषेशज्ञ । तस्बिर सौजन्य : अनिता पराजुली

यसअघि मुगु, हुम्लाजस्ता नेपालको थुप्रै दुर्गम जिल्लामा शिविर सञ्चालन गर्न गएको तर मुक्तिकोटमा आफूले कल्पना नै नगरेको अवस्था भेटिएको बालरोग तथा पोषणविद डाक्टर समुन्द्र बजिमयले बताए । ‘मैले १६ वर्षको सेवा अवधिमा थुप्रै दुर्गम जिल्लामा शिविर चलाएको छु । थुप्रै कुपोषित बालबालिकाको उपचार गरेको छु । यस्तो विजोग त कहिं देखेको छैन ।’ उनले भने, ‘सिंगै गाउँ कुपोषणको प्रकोपमा पर्दा पनि त्यहाँ राज्यको उपस्थिती देखिएन त्यो झन दुखद अवस्था हो ।’ उनले शिविर सञ्चालनको क्रममा २५ वर्षको उमेर मै ६ वटा बच्चा गुमाइसकेको र चार वटा जिवित वच्चा साथमै रहेका महिलाहरूसँग भेट्दा आफू पटकपटक स्तब्ध भएको बताए । ‘यस्तो केस एक दुईवटा मात्र हैन । बरु शिविरमा आएकाहरूमध्ये एक दुई जना मात्रै यस्तो नभएका भेटिए । म त पूरै ‘शक’ भए’ उनले भने ।

पोषणयुक्त खाना, शुद्ध खानेपानी तथा सरसफाइको कमी र कलिलै उमेरमा बर्सेनि बच्चा जन्माउनुपर्दा यहाँका अधिकांश महिला पनि कुपोषित भएको पाइएको फाउन्डेसनकी पोषणविद सुदा महर्जनले बताइन् । ‘स्कुले उमेरका नानीहरू तीनचार वटा सम्म बच्चा जन्माइसकेका हुँदा रहेछन् । राम्रो खाना छैन, पानी शुद्ध छैन । केटा मान्छे सबै इन्डिया जाने रहेछन् । बालबच्चा हुर्काउनेदेखी घरको काम सबै महिला कै थाप्लोमा पर्ने रहेछ’ उनले भनिन ‘यस्तो अवस्थामा कुपोषित नभएर के हुन्थे ?’ उनले राज्यका निकायले यहाँको अवस्था सम्बोधन गर्नका लागि ठोस कार्यक्रम सञ्चालन गर्न नसके अवस्था अझ विकराल बन्न सक्ने बताइन् । ‘कडा खालका कुपोषितले पनि उपचार पाएका छैनन । उनीहरूलाई पोषण पुनःस्थापना केन्द्र मै राखेर उपचार गराउनुपर्ने अवस्था छ । नभए जुनसुकै बेला ज्यानजान सक्छ,’ उनले भनिन् ।

यसअघि कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएलगत्तै चैत अन्तिमतिर स्वास्थ्य कार्यालय बाजुराले गरेको अध्ययनका क्रममा यहाँका एउटै महिलाले १३ वटासम्म बच्चा जन्माएको, हरेक तीन आमाहरूमध्ये दुई जनाले कम्तीमा १ सन्तान गुमाएको भेटिएको थियो । त्यति बेला यहाँका ६१ जना पाँच वर्षमुनिका बालबालिका कुपोषित रहेको र तीमध्ये १६ को अवस्था गम्भीर रहेको अध्ययनले पत्ता लागेको थियो । १ सय ९६ जना १० बर्षभन्दामाथिका महिलाहरू कुपोषित रहेको र उनीहरूमध्ये ४३ को अवस्था गम्भिर रहेको उक्त अध्ययनबाट पत्ता लागेको थियो । उक्त अध्ययनमा सहभागी प्रजनन उमेरका ६० जना आमाले मात्रै २०७८ चैतसम्म १ सय ११ जना बच्चा गुमाइसकेको बताएका थिए ।

नेपाल युथ फाउन्डेसनले गरेको अध्ययनले भिरालो र सुख्खा जमिनका कारण स्थानीय स्तरमा उब्जनी नहुनु, गरिबी, पर्याप्त खाना, शुद्ध खानेपानीको अभाव, परिवार नियोजनसम्बन्धी चेतना नहुनु, सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने कारणले गर्दा यहाँ कुपोषण र यससँग सम्बन्धीत रोगहरूको अवस्था भयावह रहेको निष्कर्ष निकालेको छ । अध्ययनले गाउँमा तत्काल सुविधासम्पन्न स्वास्थ्य संस्था स्थापना गरि कुपोषितको उपचार गर्न र परिवार नियोजनसम्बन्धी शिविरहरू सञ्चालन गर्न सुझाव दिएको छ ।

सबैभन्दा पहिला त्यहाँका मानिसहरूलाई खाद्य सुरक्षित बनाउनुपर्ने कुरामा जोड दिँदै प्रतिवेदनमा भनिएको छ, ‘जनचेतनाका कार्यक्रम मात्रै चलाएर प्रभावकारी हुने देखिँदैन । पहिलो कुरा त उनीहरूसँग पकाउनलाई पर्याप्त खाना नै छैन ।’ प्रतिवेदनले सिंॅचाइजस्ता कृषि पूर्वाधारको व्यवस्था गरेर स्थानीय स्तरमा उत्पादन बढाउने वातावरण तयार गर्नुपर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना हुने खालका सीप र प्रविधि दिइनुपर्ने, खानेपानी तथा सरसफाइ पूर्वाधारका व्यवस्था हुनुपर्नेलगायतका सुझाव दिएको छ ।

‘कुपोषणको यो जर्जर अवस्थाबाट मुक्तीकोटलाई मुक्त गर्न हाम्रो संस्थाको तर्फबाट पनि के गर्न सकिन्छ भनेर सल्लाह गर्दै छौं’ नेपाल युथ फाउन्डेसनका कार्यकारी निर्देशक राजु धमलाले भने ‘यो अवस्था सम्बोधन गर्नका लागि पालिका, प्रदेश र संघीय सरकारका निकायसँग समन्वय गरेर काम गर्नेछौ’ उनले नेपाल विकासशील देशको सुचिमा चढ्ने तयारीमा रहेको बेला यहाँकै कुनै गाउँमा प्रत्येक आमाले खाना कै अभावमा सन्तान गुमाउनु पर्ने अवस्था राष्ट्रिय लज्जाको विषय भएको बताउदै स्वास्थ्य सेवा विभागलगायतले यो कुरालाई गम्भिर रुपमा लिनु पर्ने बताए ।

गाउँपालिकाले यहाँको समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि विभिन्न संघसंस्थासँग मिलेर काम गर्ने सोच बनाएको र त्यसका लागि सार्वजनिक आहृवान गरेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताए । ‘त्यहाँको समस्या दीर्घकालीन रूपमा के गर्दा समाधान हुन्छ भनेर योजना बनाउनेदेखि अन्य सहयोग गर्न हामीले दातृ संस्थाहरूलाई पनि आव्हान गरेकाछौ’उनले भने ‘पालिकाले पनि १५ लाख रकम तत्कालिन गर्नुपर्ने कामको लागि छुट्याएको छ । हामीले यो गाउँको समस्यालाई पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रयास गरिरहेकाछौ ।’ उनले विश्व खाद्य कार्यक्रम, फियान नेपाललगायत थुप्रै संघ संस्थाहरू यसमा साथ दिन तयार भैसकेको र मुक्तिकोटलाई कुपोषणमुक्त गरेरै छाड्ने आफ्नो प्रतिबद्धता रहेको बताए ।

प्रकाशित : असार १७, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?