कैलालीमा काठ तस्करी बढ्यो- सुदूरपश्चिम - कान्तिपुर समाचार

कैलालीमा काठ तस्करी बढ्यो

हाते आरा प्रयोग गरेर जंगलभित्रका सालका रुख ढलाउने र गोलिया बनाएर ओसारपसार गर्ने स्थानीयको भनाइ
मोहन बुडाऐर

धनगढी — कैलालीको बर्दगोरिया–३ रानीकुण्डा खल्लाबाट गत शुक्रबार ७ वटा गोरुगाडा (डन्लव) सहित २२० क्युफिट चोरी तस्करीको काठ वनकर्मीले बरामद गरे । स्थानीयको सूचनाका आधारमा पहलमानपुर डिभिजन वन कार्यालयबाट वन सुरक्षाकर्मीको टोलीले ७ थान काठ डन्लवमा लोड भएको अवस्थामा बरामद गरेको हो । प्रहरीले काठ तस्करीमा संलग्न ३ जनालाई पक्राउसमेत गरेको छ ।

कैलालीको पहलमानपुर वन डिभिजन कार्यालयले बरामद गरेको काठ । तस्बिर सौजन्य : वन डिभिजन कार्यालय, कैलाली

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गौचरण चौधरीले उक्त काठ चोरी तस्करीको घटनामा पक्राउ परेका तीन जनासहित थप ४ जनाको नाममा मुद्दा दर्ता भएको बताए । यसअघि रानीकुण्डाको त्यही स्थानमा २ डन्लवमा २५ क्युफिट सालको गोलिया बेवारिसे अवस्थामा बरामद भएको थियो । दुई साताका दुई घटनाले कैलालीको बर्दगोरिया गाउँपालिकामा पर्ने चुरेको घाडीघाँच क्षेत्रमा रानीकुण्ड क्षेत्रमा काठ चोरीतस्करी भइरहेको कुरालाई पुष्टि गरेको स्वयम् सहायक वन डिभिजन अधिकृत चौधरी स्विकार्छन् । ‘चोरी तस्करीको जानकारी आएपछि संलग्नलाई पक्राउ गर्न सकिरहेका छौं,’ उनले भने, ‘साधन स्रोतको अभावले वन क्षेत्रभित्र रातविरातमा गस्ती गरेर चोरी तस्करी पूर्ण नियन्त्रण गर्न सम्भव पनि छैन ।’

चौधरीका अनुसार पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्ने लम्कीचुहादेखि पहमानपुरको चुरे घाडीघाँच क्षेत्र, वसन्ता संरक्षित वनको पचमुरिया, काठ चोरीतस्करी बढी हुने गरेको छ । हाते आरा प्रयोग गरेर जंगलभित्रका सालका रूख ढलाउने र गोलिया बनाएर डन्लवमा ओसारपसार गर्ने स्थानीय बताउँछन् ।

‘स्थानीयबाट खबर भएको ठाउँमा पुगेर वन सुरक्षाकर्मर्लीे काठ समात्ने गरेको हो,’ स्थानीय संरक्षणकर्मी हेरुलाल चौधरीले भने, ‘वनभित्रै गस्ती गरेर चोरीतस्करी नियन्त्रणमा वन डिभिजनको सक्रियता छैन ।’ उनका अनुसार हरेक दिन चुरेको घाडीघाँच (फेद) बाट ठूलठूला सालका दर्जनौं रूखहरू ढल्छन् । ती काठ राजमार्गका छेउछाउका समिलमा पुग्ने गरेका छन् । सहायक वन अधिकृत चौधरीले पनि स्थानीयहरूको खबरबाटै वनकर्मर्लीे चोरीतस्करीको काठ बरामद गर्ने गरेको बताए । उनले भने, ‘काठ चोरी तस्करी नियन्त्रणमा स्थानीयवासीको सहयोग पनि आवश्यक छ । ’ डिभिजन वन कार्यालय पहलमानले आर्थिक वर्ष २०७८/२०७९ मा करिब ४ सय क्युफिट काठ बरामद भएको जनाएको छ ।

धनगढी वन डिभिजनअन्तर्गतको वन क्षेत्रबाट समेत काठ चोरी तस्करी भइरहेको छ । गौरीगंगा नगरपालिकादेखि चुरेसम्मको वनक्षेत्र धनगढी वन डिभिजनअन्तर्गत पर्ने गरेको छ । धनगढी वन डिभिजनको कार्यालयले आर्थिक वर्ष २०७८/२०७९ मा २२ घटनामा १ हजार ७३१ क्युफिट काठ बरामद गरेको जनाएकोछ । धनगढी वन डिभिजनअन्तर्गत सबैभन्दा धेरै काठचोरी तस्करी गोदावरी नगरपालिकाको गोदावरी तीर्थधाममाथिको राष्ट्रिय चुरे वनबाट हुने गरेको छ ।

गोदावरीमाथिको चुरे वन सखापै भएको तेघरी गोदावरी सामुदायिक वनका पूर्वअध्यक्ष कैलाश जोशीले बताए । ‘अतिक्रमण र खडा रूख कटानीसंॅगै बढेको छ,’ उनले भने, ‘वनकै कर्मचारीको मिलेमतोमा काठ चोरीतस्करी र अतिक्रमण भएको छ ।’ गोदावरी क्षेत्रमा भएको वन क्षेत्र अतिक्रमणमा स्थानीय दलका नेता, वनका कर्मचारी र अत्तरियाका ठूला व्यापारीको समेत संलग्नता भएको जोशी बताउँछन् । उक्त क्षेत्रमा बढेको अतिक्रमणका बारेमा बारम्बार चर्चामा आउँदासमेत राजनीतिक संरक्षणको कारण हटाउन गाह्रो भएको जिल्ला वन अधिकृत केशव पराजुलीले बताए ।

गोदावरी पछि गौरीगंगाको चुरे क्षेत्रमा काठ चोरी तस्करी हुने गरेको छ । चुरेको फेदमा भइरहेको काठचोरी तस्करी सम्बन्धमा सामुदायिक वनका अध्यक्ष जोशीले एक्लो नयाँ मान्छे अहिले पनि जंगलभित्र पस्न नसक्ने बताए । ‘अन्जानवश जंगलको बाटो नयाँ मान्छे प्रवेश गरेपछि जंगलभित्र काठचोरी गरिहेका समुहबाट धम्काएर पठाउने गरेका छन्,’ उनले भने, ‘बाह्रैमास नै कटान छ । कोही अनुगमन गर्न आए कैलालीको चुरे क्षेत्रमा कति अवैध कटान बढेको छ भनेर थाहा पाउँथे ।’

स्थानीय जानकारहरूका अनुसार चुनाव बेला चोरी तस्करी बढेको थियो । डिभिजन वन अधिकृत पराजुलीले चुनावको समयमा बन क्षेत्रभित्र स्थानीयको पनि ध्यान कम जाने र वनका केही कर्मचारी पनि चुनावमा खटिएको कारण काठ चोरीतस्करी बढेको स्विकारे । उनले कैलाली र कञ्चनपुरको वन जंगल भित्र गस्ती गर्न बर्खामा बाटोघाटोको समस्या छ । अब बर्खामा काठ चोरीतस्करी अझ बढन सक्ने उनले आशंका व्यक्त गरे ।

निर्माणाधीन घरमा अवैध काठ

धनगढीमा हरेक बर्ष एक सय भन्दा बढी पक्की भवन निर्माण हुन्छन । एउटा भुई तले घरको चार ढोका र ६ झ्यालका लागि कम्तीमा एक सय ६० क्युफिट काठ आवश्यक हुन्छ । यस हिसावमा सय घरका लागि १६ हजार क्यूफिट काठ चाहिएको हुन्छ । धनगढीमा अहिले एक तलेभन्दा दुई वा दुई भन्दा बढी घरको नक्सा पास भइरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

बागेश्वर सःमिल तथा फर्निचर उद्योगका घनश्याम चौधरीले धनगढीलगायत स्थानीय आफनो ५ प्रतिशत पनि ग्राहक नभएको बताए । अन्य समिल उद्योगका प्रोपराइटरले पनि राजधानी पोखरालगायतका सहरमा आफ्नो उद्योगबाट काठ जाने गरेको बताए । ‘धनगढीका निर्माणधीन अधिकांश घरका झ्यालढोका काठका बन्छन्,’ चौधरीले भने, ‘घरधनीले काठ कहाँबाट ल्याउँछन्, हामी अचम्ममा छौं । हाम्रा काठ उद्योगबाट स्थानीयले लगेका हुँदैन । निर्माणाधीन घरको अधिकांश काठ अवैध तथा चोरीको हुनुपर्छ ।’ काठ चोरीको बजारले वैध व्यापार गर्ने काठ व्यवसायीसमेत धरापमा परिरहेको उनको भनाइ छ ।

धनगढी मात्रै नभएर गोदावरी अत्तरियालगायत कैलालीको पूर्वपश्चिम राजमार्गका स्थानीय बजार सहरीकरणतर्फ उन्मुख छन् । वन डिभिजन कार्यालय धनगढीका डिभिजन अधिकृत (डीएफओ) पराजुलीले पनि स्थानीय स्तरमा निर्माणाधीन घर तथा पूर्वाधार संरचनामा प्रयोग भएको अधिकांश काठ चोरी तस्करीबाट आउने गरेको स्विकारे । जिल्ला काठ आपूर्तिले स्थानीयलाई घर निर्माणका लागि प्रति ब्यक्ती घरलाई ८० देखी १ सय ६० क्युफिटसम्म काठ उपलब्ध गराउने व्यवस्था छ । दुई वर्षदेखि सरकारले काठ प्रतिबन्ध लगाउँदा जिल्लाबाट समेत काठ पाउन बन्द थियो ।

प्रकाशित : असार १६, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

नहर छ, पानी छैन

‘धान र गहुँ लगाउने समयमा नहरमा पानी नछोड्दा किसान बर्सेनि सास्ती भोग्न बाध्य’
कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका–१० का ६५ वर्षीय हाउले थारु मंगलबार बिहान निकै खुसी देखिन्थे । तर, उनको खुसी धेरै बेर टिकेन । आकाशमा कालो बादल मडारिँदै केही बेर सिमसिमे पानी पर्‍यो र बन्द भयो । उनको खेत रोप्ने खुसी छिनभरमै खोसियो ।

बर्दियाको राजापुर–५ का किसान रोपाइँका लागि धानको बीउ उखेल्दै। तस्बिर : कमल/कान्तिपुर

हातमा फरुवा बोकेर खेतमा गएका उनी पानी पर्न बन्द भएपछि निराश हुँदै घर फर्किए । उनको घरनजिक बबई सिँचाइ आयोजनाको नहर भए पनि पानी नबग्दा समयमै खेत जोत्न पाएका छैनन् । रोपाइँ त टाढाको कुरा, गरा पटपट्ती फुटेपछि जोत्न पनि मुस्किल पर्ने उनले सुनाए । बारबर्दिया नगरपालिकाका धेरै ठाउँमा बबईको नहर निर्माण भए पनि त्यसमा पानी नबग्दा किसानले खेत सिँचाइ गर्न पाएका छैनन् ।

खेती गर्ने समयमा पानी नछोड्दा नहर निर्माण भए पनि किसानका लागि खुसी नदिएको स्थानीय बल्लु थारुले गुनासो गरे । ‘सरकारले अर्वौं रुपैयाँ नगरका लागि लगानी गरे पनि यसबाट किसानले प्रतिफल पाएका छैनन्,’ उनले भने, ‘धान र गहुँ लगाउने समयमा नहरमा पानी नछोड्दा किसान बर्सेनि सास्ती भोग्न बाध्य छन् ।’ राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ आयोजनाको नहरमा पानी नहुँदा यहाँका सयौं किसानले रोपाइँ गर्न पाएका छैनन् ।

पूर्वतर्फको २१ हजार र पश्चिमतर्फको १५ हजार हेक्टर कृषियोग्य जमिनमा सिंचाइ पुर्‍याउने उद्देश्यका साथ ०५१ सालदेखि नहरको काम सुरु भएको हो । बबई उपभोक्ता शाखा समितिका अध्यक्ष रामभरोसे थारूले ठेकेदार कम्पनी र कार्यालयको हेलचेक्र्याइँले नहर र तटबन्धको काम ढिलासुस्ती भएको आरोप लगाए ।

सिंचाइका लागि निर्माण भएका नहरमा समेत पानी नहुँदा किसानले रोपाइँ गर्न नपाएको उनले गुनासो गरे । पर्याप्त सिँचाइका लागि ५७.५ क्युमेक्स पानी चाहिन्छ । अहिले ९ क्युमेक्स पानी बगिरहेको बबई सिंचाइ आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नवीन अधिकारीले भेरी बबई डाइभर्सनको काम पूरा भएपछि बाह्रै महिना पर्याप्त पानी बग्ने र सिँचाइ सुविधा हुने बताए । ‘आव २०८२/८३ सम्म भेरी बबई डाइभर्सनको काम सम्पन्न हुन्छ,’ उनले भने । आयोजनाले हालसम्म १० अर्ब ८७ करोड भौतिक संरचनामा खर्च गरेको छ । पूर्वी मूल नहर ३४ किमि गत वर्ष निर्माण सम्पन्न भइसकेको छ । पश्चिमी मूल नहर कुल ४१ किमिमध्ये २८ किमि निर्माण पूरा भएको छ । उत्तरको मूल नहर ८.५ किमि निर्माण भएको छ । आयोजनाका अनुसार जब्दी बर्गदहा मूल नहर ४.५ किमि निर्माण सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताए । उनले काम नगर्ने १२ जना ठेकेदार कम्पनीविरुद्ध सूचनासमेत प्रकाशित गरिएको जनाए । आयोजनाको काम सम्पन्न गर्न सरकारले कुल १८ अर्ब ९६ करोड ३० लाख रुपैयाँ स्वीकृत गरिसकेको छ । आयोजनाको भौतिक प्रगति ६१ प्रतिशत भएको छ ।

प्रकाशित : असार १६, २०७९ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×