कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्पको डसाइले अकालमै मृत्यु, जिल्लामा छैन उपचार

‘उपचारका लागि भारतीय बजार जाने गर्छौं तर महाकालीमा पुल नभएकाले वर्षात्मा डुंगा र ट्युबबाट नदी तर्न गाह्रो भएर जान सकिँदैन’
तृप्ति शाही

बैतडी — बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–१ कुस्मौत निवासी करन साउदकी १४ वर्षकी छोरी मनीषाको विषालु सर्पले डसेर मृत्यु भयो । शनिबार बिहान ९ बजेतिर घरकै भित्ताको दुलोबाट आएको सर्पले टोकेर उनको मृत्यु भएको हो । सर्पले टोकेपछि मनीषाले उपचारै नपाएर ज्यान गुमाइन् । सर्पले टोकेको डेढ घण्टामै छोरीको मृत्यु भएको उनका ठूलाबुवा वीरबहादुर साउदले बताए ।

सर्पको डसाइले अकालमै मृत्यु, जिल्लामा छैन उपचार

नजिकैका स्वास्थ्य संस्थामा उपचार नहुने भएपछि कहाँ लैजाने भन्ने अलमलमै भएको बेला छोरीको मृत्यु भइसकेको साउदले बताए । समयमै उपचार पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने मनमा लागिरहेको उनले सुनाए । ‘यहाँ त दुर्गम छ । ४ घण्टा बढी पैदल हिँडेपछि मात्र सडकमा पुगिन्छ । त्यहाँबाट पनि जिल्ला सदरमुकाम वा डडेलधुरा जान ७/८ घण्टा लागिहाल्छ,’ उनले भने, ‘त्यहाँसम्म पुगाउँदा त बिरामीको मृत्यु नै भइसक्छ । उपचारका लागि भारतीय बजार जाने गर्छौं तर महाकालीमा पुल नभएकाले वर्षात्मा डुंगा र ट्युबबाट नदी तर्न गाह्रो भएर जान सकिँदैन ।’

सर्पले टोकेर मृत्यु हुनेमा मनीषा मात्र होइनन् । तल्लोस्वराड क्षेत्रमा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बर्सेनि २/४ जनाले सर्पको टोकाइका कारण ज्यान गुमाउनुपर्ने बाध्यता छ । स्थानीयका अनुसार एक पालिकामा गर्मी सुरु भएसँगै २/४ जनाले ज्यान गुमाउँछन् । अहिलेसम्म कति जनाले सर्पले टोकेर ज्यान गुमाए भन्ने तथ्यांक भने कसैसँग छैन । पालिकाले पनि यसमा चासो दिएका छैनन् । स्वास्थ्य संस्थाहरूमा पनि योबारे जानकारी नै हुँदैन ।

गत वर्ष पनि सर्पको टोकाइबाट आफूले ११ वर्षको छोरालाई गुमाएको पञ्चेश्वर गाउॅपालिका– ४ आमचौराका स्थानीय चमन सार्कीले बताए । उपचारै नपाएर आँखै अगाडि छोराको मृत्यु भएको उनले दुखेसो पोखे । उनले भने, ‘यहाँ त मैले जस्तै धेरैले आफन्त गुमाएका छन् । पीडा ज्यान गुमाउनेका आफन्तले मात्र भोगेका छन् । अरुलाई केही वास्ता छैन । पालिकामै उपचार हुने भए यसरी अकालमै मान्छेको मृत्यु हुनबाट जोगाउन सकिन्थ्यो होला । तर के गर्नु ?’

शिवनाथ र पञ्चेश्वरको महाकाली किनारमा तराईकै जस्तै गर्मी हुन्छ । गर्मी र वर्षात्मा सर्पको बढी देखिने पञ्चेश्वर गाउँपालिका— २ अम्रराडका स्थानीय मोहनबहादुर चन्दले बताए । सर्पको टोकाइबाट उपचारै नपाएर ज्यान जाने गरेको छ । उनले भने, ‘एकातिर गाउँमा सर्पदंशको उपचार हुने सुविधा छैन । अर्कोतिर उपचारका लागि स्वास्थ्य संस्था लैजानुपर्छ भन्ने चेतना पनि धेरैमा छैन । सबैले झारफुक मात्र गर्छन् । यसले निको हुन्छ भन्दाभन्दै ज्यान गइसक्छ ।’ अस्पताल लिएपछि सन्चो हुन्छ भन्ने थाहा पनि स्थानीयलाई नभएको उनको भनाइ छ । यसरी बर्सेनि २ पालिका गरी ७/८ जनाले उपचारै नपाएर ज्यान गुमाउँदा पनि कतैबाट केही चासो नभएको उनले बताए । अव्यवस्थित घरले गर्दा घरमै सर्पले टोकेर त्यहाँका स्थानीय ज्यान गुमाइरहेका पञ्चेश्वरका स्थानीय नरेन्द्र कलौनी बताउँछन् । स्थानीयहरू पनि उपचारको लागि स्वास्थ्य संस्थामा लैजानुको साटो परम्परागत झारफुक गर्ने गरेका उनले बताए ।

सर्पले टोके पनि स्वास्थ्य संस्थामा भने खासै नआउने गरेको पञ्चेश्वर गाउँपालिका–१ को पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्की बताउँछन् । स्वास्थ्य संस्थाहरूमा प्राथमिक उपचार मात्र हुने गरेको उनले बताए । जिल्लामै सर्पदंशको उपचार हुँदैन । सर्पले टोकेपछि प्राथमिक उपचारबाहेक अन्य उपचार सेवा जिल्लामा नभएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उपचारका लागि डडेल्धुरा वा धनगढी जानुपर्ने अवस्था रहेको उनले बताए ।

प्रकाशित : असार १४, २०७९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?