धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी — धनगढी उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । स्वतन्त्र निर्वाचित गोपाल हमालले नगरसभाको आठौं अघिवेशनमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रमका प्राथमिकता क्षेत्रमा अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित बस्ती विकास, जनस्वास्थ्य, सरसफाई तथा मानव सामर्थ्य विस्तार, कृषि तथा पशुपन्छी उत्पादन, उत्पादकत्व अभिवृद्धि, बजारीकरण तथा व्यवसायीकरणजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । गुणस्तरीय शिक्षा, युवा, खेलकुद तथा रोजगारी सिर्जनालाई पनि महत्वका साथ अघि सारिएको छ । त्यस्तै, प्रतिफलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम, स्वरोजगारी र सहकारीताको विकास, प्रशासनिक पुनर्संरचना तथा संस्थागत सुशासनलगायत विषयहरुलाई प्राथमिकतामा राखिएको छ ।

सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउने नीति धनगढी उपमहानगरपालिकाले लिएको छ । यस्ता सार्वजनिक जग्गाहरुमा शौचालय, हरियाली सहितको क्याफेटेरिया, पार्किङस्थल, बालमैत्री उद्यान, योगपार्क, ध्यानकेन्द्र तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रणनैतिक महत्वका परियोजना बनाउन ‘क्यापिटल इन्भेस्टमेन्ट प्लान’ बनाएर प्रोजेक्ट बैंकमार्फत काम अघि बढाइने जनाइएको छ । योजना छनौटका लागि विज्ञ समूह गठनको अवधारणा पनि महानगरपालिकाले अघि बढाएको छ । ‘सन्तुलित, दिगो र समतामूलक विकासका लागि नविन उपायहरु खोज, अन्वेषण गर्ने अभिप्रायले शोध तथा अनुसन्धानमूलक कार्यलाई प्रोत्साहन दिनुका साथै योजनाविद, वैज्ञानिक, अर्थशास्त्री, समाजशास्त्री, मानवशास्त्री तथा भाषिक प्राज्ञ सहितको ‘नगर विज्ञ समूह’ गठन गरीनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई सरसफाई वर्षका रुपमा मनाउनेसमेत घोषणा गरेको छ । आर्थिक विकासमा कृषि क्षेत्रको योगदान बढाउन ‘एकीकृत कृषि रणनीति’ तयार गरी लागू गर्ने तथा शून्य लागत प्रांगारिक खेतीलाई प्रवर्द्धन गर्ने नीति पनि महानगरपालिकाले लिएको छ । आगामी २ वर्षभित्र धनगढीलाई फूलमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । उपमहानगरपालिकाले रात्री पर्यटनका लागि जोड दिएको छ । त्यस्तै रोजगारी सिर्जना पनि प्राथमिकतामा राखिएको छ । शिक्षा क्षेत्रतर्फ आधारभूत तह कक्षा १–८ सम्मको आफ्नै मौलिक स्थानीय पाठ्यक्रम निर्माण गर्ने घोषणा उपमहानगरपालिकाले गरेको छ । विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाइएको छ ।

स्वास्थ्यतर्फ सबै वडामा मासिकरुपमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ संचालन गरी ‘डक्टर्स एट होम’ कार्यक्रम लागू गरी घरदैलौमै स्वास्थ्य सुविधा पुर्‍याइने उल्लेख छ । एक वडा एक एम्बुलेन्स कार्यक्रम पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्ने र आगामी आर्थिक वर्ष सयजना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लैजाने पनि नीति तथा कार्यक्रममा जनाइएको छ । सहरी विकास, भूउपयोग तथा पूर्वाधार विकासका लागि ‘हाम्रो धनगढी, हामी बनाउँछौं’ कार्यक्रम घोषणा गरिएको छ ।

प्रकाशित : असार ७, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?