कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोइ किताब ?

मोहन बुडाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका विद्यालयमा पढाइ सुरु भइसकेको छ । तर विद्यार्थीहरूको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । अभिभावकहरू भने दिनदिनै नजिकका पाठ्यपुस्तक पाइने पसलमा धाइरहेका भए पनि पुस्तक नपाएर रित्तै फर्कने गर्छन् ।

खोइ किताब ?

कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीका लागि पाठ्यपुस्तकको आपूर्ति गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको विक्रेताहरूको भनाइ छ ।

केन्द्रको सुदूरपश्चिम कार्यालयका क्षेत्रीय प्रमुख ध्रुवराज पन्तले कक्षा ६ र ८ का पाठ्यपुस्तकको अहिले बढी अभाव भएको स्विकारेका छन् । उनका अनुसार कक्षा ६ को नेपाली, गणित र विज्ञान, कक्षा ८ को नेपाली, अंग्रेजी, स्वास्थ्य शारीरिक विषयका पुस्तकको अभाव छ ।

‘कोर्स बदलिएको कक्षाका पुस्तक विद्यार्थीको हातमा पहिले पुगाउन खोज्दा पुरानै कोर्स रहेका कक्षाका पुस्तक छपाइ ढिलो भएको छ,’ उनले भने, ‘यही बीचमा कागजको अभाव पनि भएकाले छपाइ समयमा पूरा गर्न सकिएको छैन ।’ उनले अझै सबै विद्यार्थीहरूको हातमा पूरा विषयका पुस्तक पुगाउन समय लाग्ने बताए ।

‘जति छापिँदै आएको छ, हामी वितरण गर्दै गएका छौं,’ उनले भने, ‘अहिले पनि नयाॅ कोर्सका किताब आउँदा पठाउने गरेका छौं । कक्षा ६ र ८ का किताबहरू अझै छापिएर आइपुगेको छैन ।’ जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम प्रमुख पन्तले सुदूरपश्चिमलाई चाहिने २४ लाख थान किताबमध्ये अहिले ५ लाख किताब मात्रै अपुग भएको बताए । कक्षा ४ देखि १२ सम्मका विभिन्न विषयमा छुट किताब गरी ५ लाख पुस्तक अपुग भएको बताए ।

उनले पहिला पहाडी जिल्लाबाट पुस्तक वितरण गरेको बताए । ‘ढुवानी समस्याले पहाडी जिल्लामा पछि पुस्तक पठाउन गाह्रो भएकाले अहिले बझाङ, बाजुरामा पुस्तक पठाइरहेका छौं,’ पन्तले भने, ‘१० देखि १५ दिनभित्रमा सुदूरका सबै जिल्लामा पठाइसक्ने भनेका छौं । तर समयमा छपाइ भएर चाँडो आउनुपर्‍यो ।’

प्रकाशित : असार ७, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?