कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किताबबिनै पढाइ

मनोज बडू

दार्चुला — जिल्लाका सबैजसो विद्यालयमा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । जेठ ३ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि दार्चुलाका सामुदायिक विद्यालयहरूले पाठ्यपुस्तक विद्यार्थीलाई पुर्‍याउन सकेका छैनन् ।

किताबबिनै पढाइ

अधिकांश विद्यालयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको छ । विद्यार्थीहरू कापीको भरमा स्कुल जाने गरेका छन् । नयाँ किताब नहुँदा शिक्षकहरूले पनि नपढाउने र पढाइमा अभिरुचि नभएपछि अध्ययन नगरी छिटै घर फर्कने गरेको दुर्गास्थान माविका विद्यार्थी जमनसिंह धामीले बताए ।

विद्यालयमा समयमै किताब नपुग्दा पठनपाठन गर्न नसकिएको विद्यालय शिक्षकहरूले गुनासो गरेका छन् । सामुदायिक विद्यालयले पुराना पुस्तक विद्यार्थीबाट फिर्ता मागेर केही विद्यार्थीलाई दिए पनि कक्षा ४, ७ र ९ मा यो वर्ष पूरै पाठ्यक्रम परिवर्तन भएकोले ती कक्षामा के पढाउने भन्ने अन्योल भएको शिक्षकहरूले बताएका छन् । शिक्षकहरूले पाठ्यक्रम डाउनलोड गरेर पढाउने प्रयास गरे पनि विद्यार्थीमा किताब नहुँदा पढ्ने अभिरुचि जगाउन नसकिएको बताएका छन् ।

शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान समाप्त भए पनि किताब नहुँदा पठनपाठन गर्न समस्या भएको दुर्गास्थान माविका शिक्षक मानसिंह विष्टले बताए । प्राथमिक तहमा परिवर्तन नभएको पाठ्यपुस्तक केही बाहेक अधिकांश पुगेका छन् । माथिल्लो कक्षामा त धेरै पाठ्यपुस्तक विद्यालयमा पुग्न सकेका छैनन् । परिवर्तन नभएका पाठ्यपुस्तक नयाँ आएपछि दिने र अहिले विद्यार्थीले विद्यालयमा बुझाएको पाठ्यपुस्तक वितरण गरेर केही विषयको पढाइ भइरहेको छ । तर अधिकांश नयाँ पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरूमा पढाइप्रति रुचि नहुने गरेको विद्यार्थी धामीको भनाइ छ ।

पाठ्यपुस्तक वितरकहरूका अनुसार माग तथा आवश्यकताअनुसार पाठ्यपुस्तक प्राप्त भएका छैनन् । केही पाठ्यपुस्तक प्राप्त भएको खबर छ । जिल्ला आइपुग्न अझै केही दिन लाग्न सक्ने ज्ञानज्योति पुस्तक पसलका सञ्चालक राजु अवस्थीले बताइन् । अझै केही कक्षाका सबै विषयका पूरा पाठ्यपुस्तक प्राप्त भएको छैन । पाठ्यपुस्तकको वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले कागज अभाव र निर्वाचनका कारण देखाउँदै पुस्तक छपाइमा समस्या भएकाले आवश्यक मात्रामा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।

पाठ्यपुस्तक नहुँदा विद्यार्थीलाई पढाइ गर्न निकै समस्या भएको शिक्षक हरकसिंह खातीले बताए । दुई वर्षसम्म कोरोना महामारीका कारण अधिकांश विद्यार्थी पढाइमा निकै कमजोर छन् । ‘विद्यार्थीको पढाइ सुरु भएको एक महिनाभन्दा धेरै भइसक्यो, पाठ्यपुस्तक उपलब्ध हुन सकेको छैन । अधिकांश बालबालिकाहरूले पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन्,’ उनले भने । अहिले केही विद्यार्थी पुस्तकबिना नै विद्यालयमा आइरहेका छन् । शिक्षक–विद्यार्थी नियमित विद्यालयमा उपस्थित छन् । तर पुस्तक नहुँदा पठनपाठन प्रभावित भएको उनको भनाइ छ ।

विद्यार्थीहरू पाठ्यपुस्तकको पर्खाइमा छन् । सुगम क्षेत्रका विद्यालयमा यो वर्ष भर्ना भएका विद्यार्थीलाई इन्टरनेटको सहायताले बोर्डमा लेखेर पढाइ गर्न बाध्य छन् । तर, दुर्गम जहाँ फोनको पनि नेटवर्क नभएको क्षेत्रका विद्यालयमा पाठ्यपुस्तकबिना पढाइ सम्भावना नभएको स्थानीय जयदेव जोशीले बताए । सरकारले देशभरका सबै विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउने आश्वासन दिए पनि दार्चुलामा अहिलेसम्म कुनै पनि वर्ष भनेको समयमा किताब पुग्न नसकेको उनले बताए । जहिले पनि दुर्गमका विद्यालयमा ३ महिनापछि मात्र किताब पुग्ने गरेको उनको गुनासो छ ।

प्रकाशित : असार ४, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?