कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

धमाधम निर्णय गर्दै पालिका

‘निर्वाचनका बेला मत माग्न गरिएका प्रतिबद्धताहरु पनि क्रमिक रुपमा पूरा गर्दै जानेछौं’
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाको पहिलो कार्यपालिका बैठकले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र वडा वडामा घुम्ती अल्ट्रासाउन्ड सेवा पनि सुचारु गर्ने निर्णय भएको छ । जनप्रतिनिधिहरू निर्वाचित भएपछि जेठ १३ मा पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

धमाधम निर्णय गर्दै पालिका

नगर प्रमुख किशोरकुमार लिम्बूले मंगलबार पत्रकारसंॅग भेटघाट कार्यक्रम गरी पहिलो बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउने, वडा कार्यालय भवन निर्माणका लागि प्रदेश र संघमा बजेट माग गर्नेलगायतका निर्णयसमेत गरिएको छ । ‘जनप्रतिनिधि आएको महसुस हुने गरी हामीले केही निर्णय गरेका छौं,’ लिम्बूले भने, ‘निर्वाचनका बेला मत माग्न गरिएका प्रतिबद्धताहरू पनि क्रमिक रूपमा पूरा गर्दै जानेछौं ।’

स्थानीय तहको दोस्रो निर्वाचनपछि आएको जनप्रतिनिधिहरूले लोकप्रियताको नाममा धमाधम निर्णयहरू गर्न थालेका छन् । पालिकाको स्रोतसाधनको समेत ख्याल नगरी गरिने यस्ता निर्णयले भविष्यमा अनावश्यक भारसमेत बढ्न सक्ने देखिन्छ । क्ञ्चनपुरकै बेलडाडी गाउँपालिकाले थारू समुदायमा रहेको भलमन्सा प्रथालाई संरक्षण गर्न भलमन्साहरूलाई वार्षिक ५ हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । यसैगरी, छोरी जन्मिनेबित्तिकै पोषण भत्ता स्वरूप ३ हजार भत्ता दिने निर्णय गरेको छ ।

‘थारू समुदायमा रहेको भलमन्सा प्रथालाई संरक्षणसँगै उनीहरूको प्रोत्साहनका लागि वार्षिक भत्ता दिने निर्णय गरिएको हो,’ बेलडाडी गाउँपालिकाका अध्यक्ष हरिकृष्ण रानाले भने, ‘ग्रामीण भेगमा अहिले पनि छोरी जन्मे लापरबाही गर्ने र रेखदेख नहुने गरेको छ, जसले कुपोषित बालिकाको संख्या बढ्दो छ ।’

जनप्रतिनिधिहरूले निर्वाचनका बेला मत माग्दा गरेको प्रतिबद्धताहरू पूरा गर्नेतर्फभन्दा पनि तत्काल लोकप्रिय हुने खालका निर्णयहरू गरिरहेका हुन् । उनीहरूले कार्यपालिकाले पूर्णता नपाउँदै पदभार ग्रहण गरेलगत्तै धमाधम निर्णय गरेका छन् ।

गाउँ तथा नगरपालिकाको साधन स्रोतको समेत वास्ता नगरेर जनप्रतिनिधिहरूले गर्ने निर्णयले पालिकालाई अनावश्यक भार पर्ने सरोकारवाला बताउँछन् । ‘पालिकाको स्रोतको आकलनबिना नै हुने निर्णयले अनावश्यक भार थपिन सक्छ,’ शुक्लाफाँटा नगरपालिकाका एक कर्मचारीले भने, ‘स्रोतको सुनिश्चितता पनि गरिने निर्णय दिगो हुन्छ, यसले अनावश्यक भार पनि पर्दैन ।’

‘पालिकाको अवस्था र यसको स्रोतसाधनबारे पूर्ण जानकारी नलिई सस्तो लोकप्रियताका लागि कुनै पनि निर्णय गरिने छैन,’ वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले भने, ‘स्रोत र पालिकाको अवस्था हेरेर मात्रै आवश्यक निर्णय हुनेछ ।’ उनले कार्यपालिकाको पहिलो बैठकबाट कार्यकाल पूरा गरेका जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्ने र स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुने मतदातादेखि सुरक्षाकर्मी र कर्मचारी सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएका बताए ।

कृष्णपुर नगरपालिकाले पनि पहिलो बैठकबाट भलमन्सा प्रथालाई व्यवस्थित पार्ने, दलित अपांगता भएका र असहाय बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क र उच्च शिक्षाका लागि पनि छात्रवृत्ति दिने निर्णय भएको छ । कृष्णपुर स्वास्थ्य चौकीलाई चौबिसै घण्टा सञ्चालनमा ल्याउने निर्णय भएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘हामीले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएका छौं,’ ओझाले भने, ‘नगरपालिकाका स्रोतसाधन र अवस्था सबै बुझेर निर्णय गरेका हौं, यसको पूर्ण रूपमा कार्यान्वयन गरिनेछ ।’

प्रकाशित : जेष्ठ २०, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×