कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान स्थलमा जुटे कर्मचारी

भवानी भट्ट

कञ्चनपुर — एकातर्फ बाँस र डोरीले घेरबार लगाइँदै छ । अर्कोतर्फ मतदाता परिचयपत्र वितरण हुँदै छ । मतदाताका हिसाबले जिल्लाको ठूलो वडा भीमदत्त नगरपालिका १८ मा बुधबार बिहानैदेखि चहलपहल बढेको छ । सुरक्षाकर्मी घेरबार लगाउन व्यस्त छन् । मतदान केन्द्रमा खटिएका कर्मचारी मतदाता परिचयपत्र वितरणमा लागेका छन् ।

मतदान स्थलमा जुटे कर्मचारी

मंगलबारदेखि कर्मचारीहरू मतदानस्थलमा खटिन थालेका हुन् । उनीहरू निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुगेर आवश्यक तयारीमा जुटेका हुन् । ‘सबै कर्मचारीहरू निर्वाचन सामग्रीसहित मतदानस्थलमा पुगिसकेका छन्,’ मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले भने, ‘मतदान स्थलमा पुगेर मतदान केन्द्र व्यवस्थापनमा जुटिसकेका छन् ।’

७ नगरपालिका र २ गाउँपालिका गरी ९ स्थानीय तह रहेको कञ्चनपुरमा ३४१ मतदान केन्द्र छन् । जिल्लाभरिमा १३२ मतदान स्थल र ३४१ मतदान केन्द्र रहेका छन् । यसका लागि हरेक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ५ जना कर्मचारी खटाइएको छ । जिल्लाभरिमा १७ सय ५ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत धामीले बताए ।

जिल्लाभरिका सबै मतदान स्थल र केन्द्रमा मतदानको तयारी चलिरहेको छ । मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मीहरू यसमा जुटेका छन् । उनीहरू बुधबार बिहानैदेखि मतदान केन्द्र व्यवस्थापनमा जुटेका हुन् । सदरमुकाम नजिकका कर्मचारीहरू बुधबार बिहान मतदान स्थलमा पुगे भने सदरमुकाम बाहिरका मंगलबार नै मतदान स्थलमा पुगेर सर्वदलीय बैठकदेखि आवश्यक तयारीमा जुटेका हुन् ।

‘बुथ निर्माणदेखि मतदाता परिचयपत्र वितरणको काम चलिरहेको छ,’ बेदकोट नगरपालिका ८ गैलनदीस्थित वैजनाथ माध्यमिक विद्यालयको मतदान केन्द्रका मतदान अधिकृत दीपक धामीले भने, ‘मतदानकै तयारीका लागि सर्वदलीय बैठक पनि बसिसकेको छ ।’ उनले अन्य तयारीहरू पनि चलिरहेको बताए ।

‘मतदानका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ,’ दोधारा चाँदनी नगरपालिका १० को ओमकार आधारभूत विद्यालयस्थित मतदान केन्द्रका मतदान अधिकृत दिनेश यादवले भने, ‘मतदान केन्द्र व्यवस्थापनदेखि मतदाता परिचयपत्र वितरणको काम चलिरहेको छ ।’ उनले सर्वदलीय बैठक बसेर मतदानको तयारीको विषयमा आवश्यक छलफल पनि भइसकेको छ ।

वैशाख अन्तिमको चर्को गर्मी, त्यसैमाथि करिब ३८/४० डिग्री सेल्सियसको तापक्रम छ । मध्य दिनमा मतदान गर्न त्यति सहज छैन । यस्तो अवस्थामा मतदान स्थलको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने मतदाताहरू बताउँछन् । ‘यस्तो गर्मीमा लाइन लागेर मतदान गर्न गाह्रो हुन्छ,’ भीमदत्त नगरपालिका १० मतदाता रामदत्त जोशीले भने, ‘छायाका लागि टेन्ट तथा अन्य व्यवस्था गर्नुपर्छ ।’ गर्मीका कारण पनि मतदान कम हुन सक्ने अनुमान गरिएको छ ।

तर मतदान गर्न लाइन लाग्ने मतदाताहरूका घाम छेक्ने खालको कुनै व्यवस्था नभएको मुख्य निर्वाचन अधिकृत धामीले बताए । उनले बिहान समयमै आउने र घाम कम भएपछि साँझका बेला आउँदा सबै मतदाताले मतदान गर्न सक्ने बताए ।

प्रकाशित : वैशाख २९, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?