मतदानस्थलमा खटिए कर्मचारी- सुदूरपश्चिम - कान्तिपुर समाचार

मतदानस्थलमा खटिए कर्मचारी

कान्तिपुर संवाददाता

कञ्चनपुर — प्रायः सुनसान रहने जिल्ला समन्वय समितिको प्रांगणमा मंगलबार निकै चहल पहल देखियो । मतपेटिका मिलाउनेदेखि ढुवानीको तयारी भइरहेको थियो । कतिपय निर्वाचन सामग्री बुझिरहेका छन् । कोही निर्वाचन सामग्री लिएर मतदानस्थलतर्फ जाँदै थिए ।

स्थानीय तहको निर्वाचनका लागि मतदान अधिकृत तथा अन्य कर्मचारीहरू निर्वाचन सामग्रीसहित मतदानस्थलमा जाने तयारी गरिरहेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । मतदान स्थलमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्री बुझाएर मतदान केन्द्रसम्म पठाउन थालिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ३४१ वटै मतदानस्थलका लागि मतपेटिका, मतपत्रलगायतका निर्वाचन सामग्री सम्बन्धिन मतदान अधिकृतलाई बुझाइसकिएको छ । ‘मंगलबारदेखि निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउन सुरु भएको भएको छ,’ मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले भने, ‘बुधबार साँझसम्म मतदान स्थलमा निर्वाचन सामग्री र कर्मचारीहरू पुग्छन् ।’

७ नगरपालिका र २ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा १३२ मतदान स्थल र ३४१ मततदान केन्द्र छन् । यसका लागि हरेक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ५ कर्मचारी खटाइएको छ । जिल्लाभरिमा १७ सय ५ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत धामीले बताए ।

निर्वाचन सुरक्षाकै लागि मंगलबार रातिदेखि नेपाल–भारत सीमा नाका पनि बन्द हुने भएको छ । मतदान सकिँदासम्म अत्यावश्यकबाहेकको कामका लागि आउजाउ पूर्ण रूपमा बन्द हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए । उनका अनुसार मंगलबार राति १२ बजेदेखि सीमा नाका सिल गरिनेछ ।

जिल्लामा निर्वाचन सुरक्षाका लागि विभिन्न घेरामा सुरक्षाकर्मी परिचालय गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिनेछ । दोस्रोमा म्यादी प्रहरीले मतदातालाई सहजीकरणसँगै अपांगता भएका, ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूलाई सहज रूपमा मतदान गर्न सहयोग पुर्‍याउनेछन् । तेस्रो घेरामा नेपाल प्रहरीका मोबाइल टोली, चौथोमा सशस्त्र प्रहरीको मोबाइल टोली, पाँचौंमा सादा पोसाकका प्रहरीसँगै राष्ट्रिय अनुसन्धानका कर्मचारी र छैटौंमा सेनाले सुरक्षा दिनेछ । उनले मतदान सकिएलगत्तै मतपेटिका ढुवानीका रणनीतिहरू बनिसकेको बताए ।

प्रकाशित : वैशाख २८, २०७९ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्

युवा गाउँमै रोक्नेलाई भोट

दीपक परियार

स्याङ्जा — भूतपूर्व भारतीय सैनिक पुतलीबजार नगरपालिका–९ पोखरीछापका ८० वर्षीय डम्मरबहादुर गुरुङ बाख्रा चराउँदै मनमनै गम्छन्, ‘गाउँमा बाटो आयो, बिजुली आयो, खानेपानी आयो । सहर पसेका छोराछोरी किन आएनन् ?’

जनप्रतिनिधि आएपछि गाउँमा सुविधा पुग्यो तर सुविधाभोग गर्ने युवा भएनन् । झण्डै ७० घरधुरी भएको कोल्मा पोखरीछाप सेरोफेरामा युवा भेटिँदैनन् । अधिकांश ६० वर्षमाथिका छन् । रोजगारीको खोजीमा विदेश गएका युवा सहर झरेका छन् । बेलायत र भारतीय सैनिकमा भर्ति भएकाले सहरमा बसाइँ सारेका छन् । कोही सहरमा पढ्न बसेर उतै जागीर गर्छन् । कहिलेकसो चाडपर्वमा गाउँ फर्किन्छन् । डम्मरबहादुरको परिवारमा पनि उनी र ७८ वर्षीया श्रीमती मात्रै गाउँमा छन् । जेठो छोरा श्रीमती छोराछोरीसहित बर्दिया झरेका छन् । भारतीय सैनिकमा रहेका माइला छोराले पोखरामा घर बनाएर परिवार उतै लगेका छन् । विदेशमा रहेका कान्छा छोराको परिवार पनि पोखरामै छ । ३ छोरी बिहेपछि आआफ्नो घरमा छन् ।

उनका अनुसार गाउँका धेरै युवा विदेश छन् । पुरुष विदेश जाने र जहान केटाकेटी बजार झार्ने चलन रोकिएको छैन । जनप्रतिनिधि आएको ५ वर्षमा पनि युवालाई गाउँमै रोक्ने उपायको खोजी भएको छैन । ‘गाउँमा युवा छैनन्, एक/दुईजना बीउजस्तै छन्,’ उनी भन्छन्, ‘सरकारले नोकरी दिन सकेन । छेक्न सकेन युवालाई । जिउनको लागि, परिवार धान्न जानैपर्‍यो । विदेश नच्यापी उपाय नै चलेन ।’ आफ्नै सन्तानलाई समेत उनले बजार नझर भन्न सकेनन् ।

उनको विचारमा युवालाई गाउँमै रोक्ने उपाय भनेको कृषि हो । पोखरीछापमा सबैको प्रशस्त उब्जाउ जमिन छ । उनी आफैंले खेतीपाती गर्छन् । भैंसी, बाख्रा पालेका छन् । ‘युवालाई कृषि फार्म खोल्दिए हुन्थ्यो, त्यतातिर जनप्रतिनिधिले ध्यान दिएनन्,’ उनी भन्छन्, ‘यहीं आफ्नो पाखुरा बजारेर खान पुग्ने वातावरण बनाइदिए हुन्थ्यो । एक पेट खाने त हो, सम्पत्ति कसले लिएर जान्छ र !’

उनलाई लाग्छ, व्यावसायिक कृषिमा स्थानीय तहले सहयोग गरे आफूलाई चाहिने जति गाउँमै कमाउन सकिन्छ । भन्छन्, ‘यही बाख्रा पालेर पनि कमाइ हुन्छ ।’ यसपल्टको चुनावमा कृषिमा लगानी गरेर गाउँमै रोजगारी सिर्जना गर्ने योजना ल्याउने जनप्रतिनिधिलाई भोट हाल्ने उनले बताए । भने, ‘अब आउने जनप्रतिनिधिले दुःख चिनेर विदेश जानबाट रोक्दिए हुन्थ्यो । देशमै प्रगति भए बाकसमा आउनुपर्दैनथ्यो होला ।’

पुतलीबजारबाट झण्डै १२ किलोमिटर पूर्वतर्फ उक्लिएपछि ऐतिहासिक कोल्माकोट पुगिन्छ । कोल्माकोटकै काखमा छ, पोखरीछाप गाउँ । पोखरीछापका ६० वर्षीय किसान गुरुङ एक्लै घर कुरेर बसेका छन् । उनले आमा र श्रीमती गुमाइसके । बुबा पोखरामा छोरीको घरमा बस्छन् । दुई छोरीको बिहे भयो । २ छोराछोरी पोखरामा पढ्छन् । ५ वर्षमा गाउँमा पानी, बत्ती, बाटोको सुविस्ता भयो तर बाध्यताले छोराछोरीलाई सहर पठाउनुपर्‍यो । ‘गाउँ विकसित हुँदै छ, गाउँमै बस्ने वातावरण जनप्रतिनिधिले बनाइदिनुपर्‍यो,’ उनले भने ।

तनहुँको दुलेगौंडाबाट पोखरीछाप कोल्मा हुँदै वालिङ निस्कने मिलिनियम ट्रेक ०५४/४४ सालमा खुल्यो । मध्यपहाडको ५ दिनको यो पदयात्रा मार्गका गाउँमा होमस्टे खुले । पोखरीछापका स्थानीयले होमस्टे चलाए । गाउँमा युवा नभएकोले होमस्टेमा पाहुना धेरै आउँदा व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । मिलिनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रकाश गुरुङ स्वयंका छोराछोरी कोही विदेश र कोही पोखरा छन् । ‘केही मात्रामा युवा नभएका होइनन् तर त्यतिले अपुग भयो,’ उनले भने, ‘कृषिलाई नै जोड दिएर स्वरोजगार बनाउन सके युवा गाउँ फर्किन्थे कि !’ उनका अनुसार हाल उब्जनी भए पनि बजारीकरणको समस्या छ ।

प्रकाशित : वैशाख २८, २०७९ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×