पश्चिमसेती निर्माणका लागि मोदीसँग सम्झौता हुन सक्छ : प्रधानमन्त्री देउवा- सुदूरपश्चिम - कान्तिपुर समाचार

पश्चिमसेती निर्माणका लागि मोदीसँग सम्झौता हुन सक्छ : प्रधानमन्त्री देउवा

डीआर पन्त

डडेलधुरा — प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिमसेती परियोजनाको विषयमा सम्झौता हुन सक्ने बताएका छन् ।

डडेलधुरामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले नेपालले आफ्नै लगानीमा पश्चिमसेती बनाउन सक्ने अवस्था नरहेकाले भारतीय प्रधानमन्त्री मोदीसँग पश्चिमसेती निर्माणका लागि आवश्यक कुरा गर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले भने‚ ‘चीन वा अन्य देशको प्रोजेक्टको बिजुली भारतले किन्न मान्दैन; त्यसैले भारतले बिजुली किन्नेगरी पश्चिमसेती निर्माण गर्ने विषयमा मोदीसँग कुरा हुन्छ ।’

प्रधानमन्त्री देउवाले भने‚ ‘विद्युत् परियोजना बनाउने भारतको भरपर्दो कम्पनीसँग सम्झौता गरी जलाशययुक्त पश्चिमसेती परियोजना निर्माण गर्नुपर्ने हुन्छ ।’

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलाशययुक्त पश्चिमसेती परियोजना निर्माणका लागि बुद्ध पूर्णिमाका दिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्रीसँग सार्थक वार्ता हुने बताए ।

देउवाले भने‚ ‘जलाशययुक्त परियोजना नबन्दासम्म लोडसेडिङको समस्या समाधान नहुने भएकाले सुख्खा समयमा विद्युत् उत्पादनका लागि यो नै उपयुक्त विकल्प हो । ’ देउवाले पश्चिमसेती मात्रै होइन‚ पञ्चेश्वरका विषयमा पनि भारतीय प्रधानमन्त्रीसँग सार्थक वार्ताको तयारी भइरहेको बताए ।

‘पूर्वाधार नभएकाले धनगढीमा राजधानी राखिएको हो । राजधानी बनाउनेगरी पूर्वाधार विकास सुरु गरिनेछ‚’ उनले भने । देउवाले स्थानीय स्तरका विकासका मुद्दा पनि कांग्रेसले मात्र समाधान गर्न सक्ने बताएका थिए ।

प्रकाशित : वैशाख २७, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्

पर्सामा ७७ वटा मात्र हतियार बुझाइयो

जिल्ला भरी ५ सय बढी इजाजत प्राप्त बन्दुक रहेकोमा थोरै संख्यामा मात्रै हतियार बुझाइयो
शंकर आचार्य

‍‍पर्सा — स्थानीय प्रशासनको आह्वानपछि पनि जिल्लामा इजाजत लिएर हातहतियार राख्नेहरुमध्ये थोरैले मात्र आफ्नो हातहतियार प्रहरीलाई बुझाएका छन् ।

स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र विश्वसनीय बनाउनका लागि भनी इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले चैत १३ गते सूचना प्रकाशित गरी चैत मसान्तसम्मको समय हातहतियार धनीहरुलाई दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सोमबार सम्ममा ७७ वटा यस्ता हतियार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरुमा हतियार धनीहरुले बुझाएका छन् । ‘निर्वाचनको समयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन तथा हातहतियारको दुरुपयोग नहोस् भनेर यसरी निर्वाचनको समयमा सर्वसाधारणसँग इजाजत प्राप्त हतियार माग्ने गरिन्छ,’ उनले भने, ‘निर्वाचन सक्किएपछि पुन: हतियार धनीहरुलाई नै यस्ता हतियार फिर्ता दिने गरिन्छ ।’

उनले जिल्ला भरी ५ सय बढी इजाजत प्राप्त बन्दुक रहेकोमा थोरै संख्यामा मात्रै हतियार बुझाइएको बताए । यसरी इजाजत लिएर राखिने हतियारहरु स्वचालित तथा आधुनिक पेस्तोल नभई हर्नेट, सटगन जस्ता ठूला आकारका बन्दुक हुने गरेको उनले बताए । यस्ता बन्दुकको वर्षेनी जिल्ला प्रशासन कार्यालयबाट नविकरण गर्नु पर्ने प्रावधान रहेपनि हतियार धनीहरुले रुची नदेखाउँदा यसरी जिल्ला प्रशासन कार्यालयबाट इजाजत दिइएको हतियारको अद्यावधिक तथ्यांक हुने गरेको छैन ।

सर्वसाधारणले व्यक्तिगत सुरक्षाका लागि घरमा यस्ता बन्दुक राख्ने चलन छ । विशेष गरी ग्रामिण भेगमा चोरी, डकैती, लुटपाट आदि हुने सम्भावना हुने भएकाले प्रतिकार तथा आत्मरक्षाका लागि यसरी इजाजत प्राप्त बन्दुक राख्ने चलन छ । द्वन्द्वकालमा विद्रोहीहरुले सर्वसाधारणले यसरी इजाजत लिएर आफ्नो घरमा राख्ने गरेको बन्दुक कब्जामा लिने प्रवृत्ति बढेपछि सर्वसाधारणमा यस्ता बन्दुक प्रतिको रुची घट्दै गएको थियो ।

हतियार नबुझाउने हतियारधनीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरा जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख रहेपनि हालसम्म एक जना पनि हतियार धनीलाई कारबाही भने गरिएको छैन ।

प्रकाशित : वैशाख २७, २०७९ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×