कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमदत्तमा प्रतिष्ठाको लडाइँ

यसपटकको निर्वाचनमा कुनै पनि उम्मेदवारले मतदातालाई आकर्षित गर्न सकेनन्
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरकै पुरानो र ठूलो नगरपालिका हो, भीमदत्त । तीसको दशकमा स्थापना भएको उतिबेलाको महेन्द्रनगर नगरपञ्चायत हालको भीमदत्त नगरपालिका भारतसँग पनि सीमा जोडिएको छ । पश्चिम नेपालको प्रमुख नाका गड्डाचौकी पनि भीमदत्तमै पर्छ ।

भीमदत्तमा प्रतिष्ठाको लडाइँ

ऐतिहासिक र रणनीतिक हिसाबले देशकै महत्त्वपूर्ण मानिने भीमदत्तमा पनि यतिबेला चुनावी रौनकता छ । मुख्य दलसँगै साना दलदेखि स्वतन्त्र उम्मेदवार सबै चुनावी प्रतिश्पर्धामा छन् । विगतको निर्वाचनमा एक पटक कांग्रेस र दुई पटक एमालेले जितेको यस नगरपालिकालाई यी दुवै पार्टीले प्रतिष्ठाको लडाइँ बनाएका छन् । एमालेलाई विगतको साख जोगाउनुपर्ने छ भने कांग्रेसलाई गुमेको साख फिर्ता ल्याउनुपर्ने छ ।

भीमदत्त नगरपालिकामा कांग्रेसले पदम बोगटीलाई प्रमुखको उम्मेदवार बनाएको छ । एमालेले महेश पन्तलाई उठाएको छ । एकीकृत समाजवादीले राजेन्द्र पाण्डेयलाई र राप्रपाले गजेन्द्र चन्दलाई प्रमुखमा उम्मेदवार बनाएको छ । भीमदत्त नगरपालिकामा समाजवादी र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । पछिल्लो स्थानीय तहको निर्वाचनमा थोरै मतले पराजित भएका कांग्रेसका पदम बोगटी यसपालि आफू जित्ने दाबी गरिरहेका छन् । उनले नेतादेखि कार्यकर्ताको लगाव र पार्टीको एजेन्डाले आफूलाई जिताउने बताए । ‘विगतमा कांग्रेस जितेको ठाउँमा विकास भएको छ, कांग्रेस हारेमा विकास पनि हारेको छ,’ उनले भने, ‘कांग्रेसले नै विकास गर्छ भन्ने जनतामा विश्वास बढेको छ ।’ बोगटी २०७४ को स्थानीय निर्वाचनमा भीमदत्त नगरपालिकामा एमालेका सुरेन्द्र विष्टसँग १६६ मतले पराजित भएका थिए ।

विगतमा झिनो मतले पराजित हुनु नै आफ्नो जितको प्रमुख आधार भएको बोगटी बताउँछन् । उनले भीमदत्तलाई सुन्दर र नमुना नगर बनाउने, ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण गराउने, विद्यालय पहुँच बाहिरका बालबालिकालाई स्कुल भर्ना गराउने, विपन्नका लागि उच्च शिक्षा कोष निर्माण गर्ने र लागूऔषध दुर्व्यसनीमा फसेका युवालाई त्यसबाट मुक्त गराउने एजेन्डा अघि सारेका छन् । कांग्रेस कञ्चनपुरका सभापतिसमेत रहेका बोगटीले आफ्नो मुख्य प्रतिस्पर्धा एमालेसंँगै हुने दाबी गरेका छन् ।

एमालेबाट प्रमुखका उम्मेदवार बनेको महेश पन्तले विगतमा विद्यार्थी राजनीतिमा रहँदा गरेका काम र गरिब सुकुम्बासी मजदुरको हकहितका लागि निर्वाह गरेको भूमिकाले नै आफूलाई जनताले मत दिने बताउँछन् । ‘अहिले पनि खुट्टामा गोलीका छर्रा बोकेर हिँडेको छु,’ उनले भने, ‘लोकतन्त्रका लागि मैले गोली खाएको छु, यसको मूल्यांकन जनताले गर्नेछन् ।’ राजाको ‘कु’ विरुद्ध महेन्द्रनगरको जनज्योति क्याम्पसमा विद्यार्थीको भेला गरिरहेका बेला सेनाले गोली चलाउँदा पन्त घाइते भएका थिए । उनी तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति पनि भइसकेका छन् ।

पन्तले युवाहरूलाई गाउँमै रोजगारी दिने, बिनाव्याज र बिनाधितो ऋण उपलब्ध गराउने भीमदत्तको अहिलेको कार्यक्रमलाई थप बढाउँदै निरन्तरता दिने , भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिने, गरिब, विपन्न र ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्नेलगायतका एजेन्डा अघि सारेका छन् । उनले आफ्नो प्रतिस्पर्धा कांग्रेससँगै भएको बताए ।

भीमदत्त सदरमुकामको पालिका भएकाले पनि यसलाई सबै दलहरूले प्रतिष्ठाको लडाइँ बनाएका छन् । सबै पार्टीका जिल्ला नेतृत्वदेखि केन्द्रीयस्तरका नेताहरूसमेत भीमदत्तमै खटिएका छन् । कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकदेखि अर्को केन्द्रीय सदस्य यज्ञराज जोशी यही खटिएका छन् । एमाले केन्द्रीय सदस्य तथा संसद्को महिला तथा बालबालिका समितिका सभापति निरु पाल, अर्का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज राजेन्द्र रावल, संघीय सांसद दीपकप्रकाश भट्ट र एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट पनि यही खटिएका छन् । भीमदत्त नगरपालिका प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. ३ मा पर्छ । अहिलेको नतिजाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसमेत प्रभावित पार्ने भएकाले सबै नेताहरू यहाँ केन्द्रित भएको स्थानीय बताउँछन् । ‘भीमदत्तलाई सबै दलले प्रतिष्ठाको भिडन्तका रूपमा लिएका छन्,’ सुदूरपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका प्राधाध्यापक मुकुन्द कलौनीले भने, ‘तत्कालीन महाकाली अञ्चलकै ठूलो र अहिले पनि भारतसंॅग सीमा जोडिएको तथा पुरानो नगरपालिका भएकाले सबैले यसमा आफ्नो सक्दो बल लगाएका छन् ।’

भीमदत्त नगरपालिकामा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेय र राप्रपाका गजेन्द्रबहादुर चन्द पनि बलिया देखिएका छन् । माओवादी र सामाजवादीको वाम गठबन्धनबाट उम्मेदवार भएका पाण्डेय यसअघि नगरपालिकाकै ठूलो वडा १८ का वडाध्यक्षसमेत हुन् । उनले आफ्नो जितको मुख्य आधार वाम गठबन्धनसँगै समृद्ध र सुशासनयुक्त नगरपालिका भएको बताए ।

समाजवादीले भीमदत्तलाई स्मार्ट सिटी बनाउने, नगर बस सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क उपचार शिक्षा स्वास्थ्य र कृषिलगायतका विभिन्न कार्यक्रमहरू अघि सारेका छन् । राप्रपाका उम्मेदवार चन्दले ०७४ को निर्वाचनमा पनि राम्रो मत प्राप्त गरेका थिए । उनले अघिल्लो निर्वाचनमा नगर प्रमुखकै पदमा ४ हजार ३२८ मत प्राप्त गरेका थिए । यस पटक राप्रपाको केन्द्रीय नेतृत्व युवा र भ्रष्टाचारविरोधी भएका कारण आफू जित्ने उनको दावी छ । विगतमा ठूला पार्टीहरूले भ्रष्टाचार, लुटपाट र नातागोतालाई मात्रै हेरेका कारण जनता विकल्प खोजिरहेको उनले बताए । भीमदत्तमा निष्पक्ष, निष्कलंक र कहीं कतै पनि लाभको पद नलिएका कारण जनताले रुचाउने उनी बताउँछन् । उनले छाडा चौपायाको ६ महिनाभित्र व्यवस्थापन, महिलालाई ३ महिना सुत्केरी भत्ता, १२ कक्षासम्म निःशुल्क शिक्षा, नगर बस सञ्चालन र समृद्ध र भ्रष्टाचारमुक्त नगरपालिका निर्माण गर्ने एजेन्डा बोकेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले भीमदत्त नगरपालिकामा मतदाताको संख्या ६६ हजार ६ सय ५० छ । भीमदत्त नगरपालिकामा हालसम्म तीनवटा नगर प्रमुख भएका छन् । जसमा २ पटक एमाले र १ पटक कांग्रेस विजयी भएको छ । २०४९ को निर्वाचनमा कांग्रेसका यज्ञराज जोशी तत्कालीन महेन्द्रनगर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ को निर्वाचनमा एमालेका सूर्यबहादुर कुँवर निर्वाचित भएका थिए । ०७४ मा एमालेका सुरेन्द्र विष्ट निर्वाचित भएका थिए ।

प्राध्यापक कलौनीका अनुसार यस पटक कुनै पनि उम्मेदवारले मतदातालाई आकर्षण गर्न सकेका छैनन् । त्यस्ता एजेन्डा पनि उठान गर्न सकेका छैनन् । मतदाताले दलभन्दा पनि व्यक्ति रोज्न सक्ने सम्भावना पनि त्यतिकै रहेको उनले बताए । भीमदत्त नगरपालिकामा प्रमुखका लागि ५ स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी परेको छ । जनता समाजवादी पार्टीबाट मोहनबहादुर शाही, विवेकशील साझाबाट खगेन्द्र जोशी, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राष्ट्रिय जनमोर्चाबाट लालबहादुर कुँवर र मौलिक जरोकिलो पार्टीबाट हरिदत्त जोशीले प्रमुखमा उठेका छन् । स्वतन्त्रबाट कल्याण ओझा, कोमलबहादुर सिंह, गुलाब आउजी, धनी चन्द ठकुरी र रमेश दमाईंले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : वैशाख २३, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?