२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

मतदानस्थल अनुगमनमा सुरक्षा निकाय

तृप्ति शाही

बैतडी — वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा निर्वाचन केन्द्रित अनुगमन भइरहेको छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत अहिले सुरक्षा निकायको अनुगमन कार्य चलिरहेको हो ।

मतदानस्थल अनुगमनमा सुरक्षा निकाय

अहिले जिल्लाका निर्वाचन स्थल, मतदानस्थलको अनुगमन भइरहेको छ । अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा चारवटै सुरक्षा निकाएका प्रमुखको टोली सबै पालिकामा पुगिरहेको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार बैतडीमा ३१ अति संवेदनशील, ३४ संवेदनशील र ६४ सामान्य गरी १२९ वटा निर्वाचन स्थल छन् । २ सय ५ वटा मतदान केन्द्र छन् ।

मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माण गरेर भयरहित, निष्पक्ष र स्वतन्त्र तरिकाले निर्वाचन गराउने सुरक्षा निकायको योजनाअनुसार अहिले मतदान केन्द्र र स्थलको अनुगमन गरिहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । सुरक्षा व्यवस्थालाई सुदृढ गर्न जिल्ला सुरक्षा योजनाले पहिचान गरेका अति संवेदनशील र संवेदनशील मतदान स्थल र केन्द्रहरूलाई अनुगमनको क्रममा प्राथमिकता दिएको उनले बताए । उनले भने, ‘मतगणनास्थललाई सुरक्षा दिनेदेखि मतगणना स्थलसम्म मतपेटिका सुरक्षित कुन माध्यमबाट पुगाउन सकिन्छ भनेर पनि हेरिरहेका छौं ।’ विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुॅच र सुरक्षाका विषयलाई आधार बनाएर सुरक्षा संवेदनशीलता तयार पारेको प्रजिअ पाण्डेले बताए । सोहीअनुसार सुरक्षा निकायहरू परिचालन गर्ने उनको भनाइ छ ।

प्रजिअ पाण्डेका अनुसार गाडी पुग्ने मतदानकेन्द्रका मतपेटिकालाई गणना स्थलसम्म पुगाउन गाडीको व्यवस्थापन गरिएको छ । १ घण्टा हिँडेर मतगणनास्थलसम्म पुगाउन सकिनेका लागि बोकेरै ल्याइनेछ । गाडी नजाने र हिँडेर पनि ६ घण्टासम्म लाग्ने मतदान केन्द्रको लागि हेलिकोप्टरको माग गरिएको छ ।

सिगास गाउॅपालिकाको वडा नम्बर ६ र ७, पुरर्चौंडी नगरपालिका— ३ नम्बरको मतपेटिका गणनास्थलसम्म पुर्‍याउन हेलिकोप्टरको माग गरिएको उनले बताए । अन्त पालिकाभर बोकेरै र गाडीबाटै मतपेटिकालाई गणना स्थलसम्म सहजै पर्‍याउन सकिने उनले बताए । अनुगमनका क्रमा हरेक स्थानीय तहका निर्वाचन अधिकृतहरूसँग समन्वयात्मक बैठक पनि गर्ने गरिएको छ ।

प्रकाशित : वैशाख २०, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?