कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक नबन्दै स्वागत गेट !

प्रदेश सरकार स्थापना भएको चार वर्षमा पनि कैलाश मानसरोवर पर्यटकीय करिडोरको इन्जिनियरिङ सर्भेसमेत भएको छैन
मोहन बुढाऐर

धनगढी — कैलालीको पूर्वी कुनामा पर्ने खक्रौला नाकामा सुदूरपश्चिम प्रदेश सरकारले २ करोड बढीको लागतमा कैलाश मानसरोवर प्रवेशद्वार बनाउन लागेको छ । गत आर्थिक वर्षमा ५० लाख विनियोजन गरेर प्रवेशद्वार निर्माणको काम सुरु भएको प्रदेश वन उद्योग वातावरण र पर्यटन मन्त्रालयका पर्यटन एकाइ प्रमुख भोजराज पाठकले बताए । उनले भने, ‘ठेकेदार कम्पनी एमएमडी कन्स्ट्रक्सनले कोभिडका कारण काम गर्न सकेन ।’ उनले ठेकेदारले १३/१४ लाख बराबरको कामको भुक्तानी लिएको बताए । 

उनले चालु आवको बजेटमा १० लाख मात्र छुट्याइएकोले प्रवेशद्वार निर्माणको काम अघि बढाउन नसकिएको बताए । ‘थोरै बजेट विनियोजनका कारण चालु वर्षमा निर्माणको काम अलपत्र परेजस्तै भएको छ,’ उनले भने, ‘यो वर्ष पनि ५० लाख जति नै बजेट माग गरेका थियौं ।’ उनका अनुसार यो प्रवेश द्वारको डीपीआर लागत दुई करोड जतिको छ । उनले प्रदेश सरकारले परिकल्पना गरेको कैलालीको चिसापानीबाट दिपायल–बझाङ हुँदै उरै भन्ज्याङ ताक्लाकोट भएर कैलाश मानसरोवरको पर्यटकीय करिडोर भएर भित्रिने यात्रुको पहिलो स्वागत द्वारको रूपमा निर्माण गर्न लागेको बताए । तर पर्यटन व्यवसायी प्रमोद पाठकले खोला एकातिर पुल अर्कोतिर भने जसरी कैलाश मानसरोवरका याक्रुका लागि स्वागत गेट खत्रौलामा बन्न लागेको कुरो हास्यास्पद भएको बताए । उनले अहिलेसम्म त्यो नाका सरकारको प्रमुख नाकामा समेत नपरेको बताए । ‘त्यो नाकाबाट कहाँबाट मानसरोवरका यात्री आउलान त ?’ उनले भने, ‘चिसापानीबाट कैलाशको बाटो सूचारु हुने बेलासम्म गेट जीर्ण भइसक्नेछ ।’

प्रदेश सरकार स्थापना भएको चार वर्षमा पनि कैलाश मानसरोवर पर्यटकीय करिडोरको इन्जिनियरिङ सर्भेसमेत भएको छैन । सहरी विकासका पूर्वइन्जिनियर शिवराज ढुंगानाले टीकापुर खक्रौलाबाट चिसापानीदेखि दिपायल बझाङ हुँदै कैलाश मानसरोवरसम्मको पर्यटकीय करिडोर प्रदेश सरकारको १०/१५ वर्षसम्म त परिकल्पना मात्रै हुने बताए । ‘१० वर्षसम्ममा ट्र्याक खोल्न सकिएला,’ उनले भने, ‘तर कैलाश मानसरोवार जान यात्रा गर्ने सुरक्षित सडक निर्माण गर्न प्रदेश सरकारको बजेटमा २० वर्षमा पनि सक्दैन ।’ उनले एउटा स्वागत गेट बनाउनसमेत प्रदेश सरकारलाई दुई/तीन वर्ष लाग्ने देखिएको बताए ।

‘करिडोर सडक योजना २० वर्षमा पनि पूरा होला कि नहोला तर यात्रीका लागि आजै गेट बनाउने कुरा हास्यापद मात्रै हो,’ उनले भने, ‘यो वाहियातमा खर्च गर्नु मात्रै हो ।’

सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका नाममा गरेको एक उदाहरण योजना मात्रै हो । विगतका चार वर्षमा प्रदेश सरकारले करोडौं रुपैयाँ भ्यु टावरका नाममा पनि खर्च गरेको छ । जहा कुनै पर्यटक कुनै दृश्यालवोकनका लागि पनि पुगेका छैनन् । न भ्यु टावरसम्म मोटर बाटो पुगेको छ ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृष्णबहादुर महराले सुदूरपश्चिम प्रदेश सरकारको पर्यटनका क्षेत्रमा भएको लगानी उपलब्धिविहीन भएको बताए । ‘प्रदेश सरकारले एक गुरुयोजना तयार पारेर काम गर्न सकेन,’ उनले भने, ‘जसले गर्दा पहुँचका भरमा जसले जता गेट, मन्दिर, पिकनिक स्पटलगायतका प्रस्ताव गरे, उतै पर्यटनका नाममा बजेट रकम हालियो ।’ उनले त्यही कारण कुनै एक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न नसकेको बताए । उनका अनुसार पर्यटनका नाममा बजेट कार्यकर्ताका हातमा रकम जाने योजना मात्रै बने ।

प्रकाशित : वैशाख ६, २०७९ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?