कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानलाई गहुँ भित्र्याउने चटारो

भवानी भट्ट

कञ्चनपुर — पश्चिम तराईमा गहुँ पाकेर खेतहरू पहेंलपुर भएका छन् । तिनै खेतहरूमा कतै गहुँ कटाइ र कतै थ्रेसिङ भइरहेको छ । चैत अन्तिमतिरको चर्को गर्मीसँगै कृषकहरूलाई गहुँ भित्र्याउने चटारो छ । उनीहरू सबै काम थाती राखेर यसमा जुटेका छन् ।

कार्तिक पहिलो साताको बेमौसमी बर्षाले धानवाली भित्र्याउन नपाएका कृषकहरू यतिबेला गहुँ भित्र्याउन धुमधामले लागेका छन् । एकातिर कृषि यन्त्रको प्रयोग नबढ्नु र अर्कोतर्फ कृषि मजदुरको अभावका कारण कृषकहरू समस्यामा परेका छन् । जसका कारण खेतीपाती लगाउन होस् वा भित्र्याउन धेरै समय लाग्ने गरेको छ ।

‘गहुँ पाकेर पुरै पहेंलपुर भएको छ, रात दिन नभनी काट्नुपरेको छ,’ कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का जनक जोशीले भने, ‘सिजनमा कामदार पाउन पनि गाह्रो हुन्छ ।’ उनको परिवारमा गहुँ काट्ने तीनजना मात्रै छन् । अन्य कामदार नपाए तीन जनाले मात्रै गहुँ काटनेदेखि थ्रेसिङ गर्न एक/डेढ हप्ता लाग्ने उनले बताए ।

ग्रामीण भेगमा गहुँसॅंगै मसुरो, केराउलगायतका दलहन बाली भित्र्याउने काममा कृषकहरू व्यस्त देखिन्छन् । कतिपयले चैत पहिलो साता नै गहुँ काटेर चैते धानको रोपाइँ पनि गरिसकेका छन् । ‘चैत लागेदेखि नै मसुरोदेखि गहुँ भित्र्याउने चटारो लाग्छ,’ शुक्लाफाँटा नगरपालिका–३ का रामु डगौंराले भने, ‘यसपालि हिउँदमा पानी परेकाले मसुरो त कुहियो तर गहुँ राम्रो छ ।’ उनका अनुसार विगतका वर्षमा एक/डेढ क्विन्टल मसुरो फल्ने खेतमा अहिले ४०/५० किलो पनि फलेन । कञ्चनपुरमा करिब ३५ हजार हेक्टरमा गहुँ खेती गरिन्छ । यहाँ गहुँको उत्पादकत्व ३ मेट्रिक टन प्रतिहेक्टर हाराहारी छ ।

प्रकाशित : चैत्र २५, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?