१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

एमाले छाडेर कञ्चनपुरको बेदकोटका मेयर चन्द नेकपा एसमा प्रवेश

कञ्चनपुर — नेकपा (एमाले)बाट निर्वाचित भएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतका जनप्रनिधिहरु पार्टी प्रवेश गराएका हुन् । 

एमाले छाडेर कञ्चनपुरको बेदकोटका मेयर चन्द नेकपा एसमा प्रवेश

मेयर चन्दले एमालेमा आफूलगायतलाई अपमानित गरिएको बताएका थिए । पार्टी प्रवेशपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जिम्मेवारी नदिइएको र अपमानित गरिएको बताए । उनले भने, 'जिम्मेवारीको ठूलो कुरा होइन । स्वाभिमानका साथ बसिरहेका हामीलाई अपमानित गरियो । अपमानित र अपहेलित भएका कारणले विद्रोह गरेका हौं ।'

पार्टी परित्याग गर्ने सार्वजनिक भएपछि एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरूले फोन गरेर उक्त कदम फिर्ता लिन आग्रह गरिएको चन्दको भनाइ थियो । उनले एमाले नसुध्रिएसम्म एकता र सहकार्यका लागि वार्तासम्म नगर्न अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।

गत वर्ष संसद् विघटन हुँदा चन्द तत्कालीन नेकपाको माधव नेपाल समूहमा लागेका थिए । पार्टी विभाजनपछि भने उनी १० बुँदे कार्यान्वयन हुने अपेक्षामा एमालेमै रहेका थिए । एमालेको पुस अन्तिममा सम्पन्न जिल्ला कमिटीको अधिवेशनमा चन्द सचिवमा झिनो मतले पराजित भएका थिए । पराजय स्वीकार गर्दा पनि आफ्नो प्यानलका निर्वाचित नेताहरूलाई कुनै पनि जिम्मेवारी नदिएको भन्दै उनी रुष्ट बनेका थिए ।

२०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमाले राजनीतिमा लागेका उनी युवा संघका केन्द्रीय सचिवसमेत भइसकेका छन् । एमाले र माओवादी एकीकरणपछि चन्द प्रदेश कमिटी सदस्य भएका थिए ।

प्रकाशित : चैत्र २०, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?