कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा बढ्दै महोत्सव

सुदूरपश्चिम महोत्सव बिहीबारदेखि धनगढीमा सुरू

धनगढी — कोरोनाले दुई वर्षदेखि ठप्प रहेका मेला महोत्सवहरू पुनः सुरु हुन थालेका छन् । १४औं संस्करण पूरा गरिसकेको सुदूरपश्चिम महोत्सव बिहीबारदेखि धनगढीमा सुरु भएको छ । यसअघि महोत्सव अत्तरियामा सम्पन्न भइसकेको छ । पहाडी जिल्ला डडेलधुरामा पनि महोत्सव चलिरहेको छ ।

सुदूरपश्चिमको आर्थिक विकासलाई उठान गर्दै यहाँको व्यापार व्यवसाय प्रवर्द्धन र सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हरेक वर्ष कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १५औं संस्करण धनगढीमा बिहीबारदेखि सुरु भएको हो । विगतमा वर्षहरूमा महोत्सवको उद्घाटनमा आयोजकले सुदूरपश्चिमको विकासका सवालहरूमा केन्द्रीय सत्तासीन नेताहरूलाई बोलाएर विभिन्न मागहरू राख्ने गरेको भए पनि कुनै सुनुवाइ नै नहुने गरेको भन्दै यस वर्ष महोत्सवको उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत गराइएको आयोजकले बताएका छन् । उद्घाटनअघि विगतझैं यस वर्ष पनि धनगढी बजारमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी गरिएको थियो ।

विगतमा संघीय प्रहरी कार्यालयको मैदानमा हुँदै आएको महोत्सव यस वर्ष भने धनगढीकै पशुपति टोलमा सञ्चालन गरेका छन् । दस दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी झन्डै तीन सय स्टल राखिएको आयोजक संस्थाका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन् । महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने करिब ४ लाखले अवलोकन गर्ने अनुमान आयोजकको छ । हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म आयोजना हुने महोत्सव कोरोनाका कारण दुई वर्षदेखि हुन सकेको थिएन । महोत्सव सञ्चालनमा प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाले सहयोग गरेको आयोजकले बताए ।

गत महिना कैलालीकै अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव भएको थियो । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा भएको उक्त महोत्सवमा करिब ६५ हजार दर्शकले अवलोकन गरेका थिए । डेढ करोड बढीको कारोबार भएको संघका अध्यक्ष अशोक राज देवकोटाले बताए ।

यस्तै, डडेलधुराको अमरगढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि टुँडिखेलमा तीनदिने डडेलधुरा महोत्सव आयोजना भएको थियो । प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिएको नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । विभिन्न ठाउँमा सञ्चालन हुँदै आएका मेला महोत्सवले व्यवसाय बढाउने मात्रै नभएर यस क्षेत्रको कला, संस्कृति संरक्षण प्रवर्द्धन गर्ने उद्देश्य हुने भए पनि आयोजकले कला क्षेत्रका स्थानीय प्रतिभाहरूलाई ओझेलमा पारेर बाह्य कलाकारहरूलाई प्राथमिकता दिने गरेकोमा स्थानीय कलाकर्मीहरूले विरोध गरेका छन् ।

प्रकाशित : चैत्र १४, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?