होलीमा आगोको सगुन- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होलीमा आगोको सगुन

नयाँ ल्याएको आगो तापे जीउ दुख्नेलगायतका विभिन्न रोग निको हुने थारु समुदायमा विश्वास
गणेश चौधरी

टीकापुर — पश्चिम तराईका थारू समुदाय (रानाथारू बाहेक) ले होलीमा नयाँ आगो बाल्ने चलन छ । गाउँको देउथानमा बालिएको आगो सबैका घरमा ल्याएर बाल्ने परम्परा रहेको छ । होलीको अघिल्लो साँझ सबैले आफ्ना घरका चुलाको पुरानो आगो निभाउने र नयाँ आगो बाल्ने चलन रहेको टीकापुर–१ का दिलबहादुर चौधरीले बताए । ‘नयाँ आगो सगुनका रूपमा लिने गरिन्छ । आगो शक्तिका रूपमा लिइन्छ,’ उनले भने, ‘यसले वर्षभरि घर परिवारमा राम्रो हुन्छ भन्ने थारू समुदायमा विश्वास छ ।’

देउथानबाट ल्याएको नयाँ आगो बालेर सबै घरपरिवार बसेर ताप्ने पनि थारु समुदायमा चलन छ । यो नयाँ ल्याएको आगो तापे जीउ दुख्ने लगायतका विभिन्न रोग निको हुने विश्वास रहेको थारु अगुवाहरू बताउँछन् । थारुका अनुसार नयाँ आगोका लागि यो दिन गन्यारी नामक काठबाट आगो निकाल्ने र गाउँको देउथान नजिकै सिमलको हाँगाको बुटा बनाएर गाडिन्छ र त्यसैमा आगो लगाइन्छ । त्यही आगोबाट गाउँका सबैले गोबरको गुइठा सल्काएर घर घरमा आगो लाने गर्दछन् । घर लगेको आगो चुल्हा सल्काउने र आँगनमा बालेर ताप्ने गर्दछन् ।

देउथानमा पूजा गर्नुभन्दा पहिले तेलमा चामलको पिठोको रोटी गाउँको बडघर (बस्तीको प्रमुख व्यक्ति) को घरमा पकाएर पुजा गर्ने र त्यो रोटी आगो लिन जम्मा भएका सबैलाई खान दिने गरिएको जानकी गाउँपालिका–६ का भोजबहादुर चौधरीले बताए । उनले भने, ‘यो दिन प्रत्येक घरमा आफ्ना कुल देउताका अगाडि पनि दीप प्रज्वलन गर्ने पनि चलन छ ।’ यति गरिसकेपछि भोलिपल्ट बिहानबाट थारू समुदायमा होली सुरु हुन्छ । अघिल्लो दिन बालिएको आगो होलीको दिन गाउँको सबै घरबाट एक–एक जना महिला लोटामा पानी बोकेर आगो निभाउन जान्छन् ।

आगो निभाउन आएका महिलालाई पुरुषहरूले रंग हिलो माटोले होली खेल्ने चलन रहेको छ । होली निभाउन आएका महिला पनि सबै साथीसंगी मिलेर एक अर्काको घरघरमा गई होली मनाउने चलन रहेको थारूहरू बताउँछन् ।

अछामी होरी

टीकापुरका अछामी समुदाय होलीमा होरी देउडा खेलेर रमाउन थालिसकेका छन् । होली पर्वलाई साथीभाइसँग भेट गर्ने अवसरका रूपमा पनि लिने गरिन्छ । होरी देउडा कार्यक्रमले लामो समयसम्म भेटघाट नभएका साथीभाइसित भेटेर भलाकुसारी हुने स्थानी नेत्र साउदले बताए । ‘आफनो संस्कृति चालचलन सबैलाई प्यारो लाग्छ । अछामी समुदायको होली सबैसित भेटघाट हुने अवसर पनि हो ।’ होलीका बखत देउडा खेल्न २ वटा पुरुष समूहको आमनेसामने हुन्छ । एक समूहले देउडा भन्छ त्यसपछि अर्कोको पालो आउँछ । एकआपसमा जोडिएका उनीहरूको मुख्य रहर नै पैंताला मिलाउने हो । एक आपसमा पैंताला मिलाउँछन् र एउटै स्वरमा देउडा गाउँछन् ।

दुई समूहले पालैपालो होली देउडा भन्छन् र हातखुट्टाको ताल मिलाउँछन् । रमाइलो हेर्न महिलाको समूह बीचमा बसेको हुन्छ । कसले राम्रोसित हातखुट्टाको ताल मिलाउँछ भनेर महिलाले नियाल्ने गर्दछन् । आ–आफनो पेसा व्यवसायमा रहेकाहरू समय मिलाएर होली देउडामा सहभागी हुने गरेका छन् ।

टीकापुरमा होली पर्व अष्टमीको दिनदेखि फागुन पूर्णिमासम्म मनाइने गरिएको छ । विगतका वर्षमा रातभरि नै होली चले पनि यो वर्ष भने राति होरी खेल्न प्रतिबन्ध लगाइएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका अतिरिक्त बसाइँसराइसँगै तराईका जिल्लाहरूमा समेत देउडाका माध्यमबाट होरी खेल्न थालिएको हो ।

प्रकाशित : फाल्गुन ३०, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

तटबन्ध मर्मत गर्न पहल

गणेश चौधरी

टीकापुर — कात्तिक पहिलो साताको बेमौसमी वर्षाका बेला कर्णाली नदीमा आएको बाढीले भत्काएका तटबन्ध मर्मतका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले प्रक्रिया अघि बढाएको छ । बाढीपीडित क्षेत्रका बासिन्दाले संघर्ष समिति बनाएर मर्मतका लागि दबाब दिएपछि आयोजना कार्यालयले मर्मतको प्रक्रिया अघि बढाएको हो ।

कर्णाली नदीको शाहीपुर क्षेत्रमा भत्किएको तटबन्ध निर्माणका लागि आयोजनाले टेन्डर प्रक्रिया अघि बढाइएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सिनियर डिभिजन इन्जिनियर विराट ज्ञवालीले बताए । ठेकेदारले समयमा काम नगरिदिँदा भने समस्या भइरहेको उनले बताए । बाढीपीडित संघर्ष समितिका अध्यक्ष धनसिंह साउदले आफूहरूले तटबन्ध निर्माण तथा मर्मतका लागि निरन्तर दबाब दिइरहेको बताए । बाढीपीडित क्षेत्र संरक्षणका लागि काम अघि बढाउने आयोजनाले आश्वासन दिएको उनले सुनाए । ‘दबाब दिन काठमाडौं डेलिगेसन जाने र सुनुवाइ भएन भने सिँचाइ आयोजनामा तालाबन्दी लगायतका कार्यक्रम लिएर संघर्षमा उत्रिनेछौं,’ उनले भने ।

वर्षौंदेखि कर्णाली नदीको बाढीको पीडा खेप्न बाध्य यहाँका स्थानीय तटबन्ध बनेपछि कर्णालीको बाढीबाट मुक्ति पाइएला भन्ने आशामा थिए तर यसपालिको बेमौसमी बाढीले ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तीमा पस्यो । आउँदो वर्षाअगावै भत्किएको तटबन्ध मर्मत नभए फेरि वर्षामा तटबन्ध आसपासका पीडित परिवार उठीबास हुने त्रासमा छन् ।

कात्तिक पहिलो सातको बेमौसमी वर्षासँगै आएको बाढीबाट भत्किएका तटबन्ध निर्माण तथा मर्मत नभए आउँदो वर्षामा घरवारविहीन हुने टीकापुर नगरपालिका–८ मा बस्दै आएका जितराम चौधरीले सुनाए । ‘रानी जमरा कुलरिया सिँचाइ आयोजनाले बनाएका तटबन्ध ठाउँठाउँमा भत्किएको छ । मर्मत सुरु भएको छैन । वर्षा लाग्यो कि कर्णालीको बाढी हाम्रो बस्तीमा पस्ने पक्का छ,’ उनले भने ।

बाढीका कारण सिँचाइ आयोजनाको मात्र करिब १५ करोड क्षति भएको आयोजनाले जनाएको छ । आयोजनाको नहर, सर्भिस रोड र तटबन्धमा बाढीले क्षति पुर्‍याएको छ । तटबन्ध निर्माण तथा मर्मतका लागि पीडित क्षेत्रका स्थानीयले संघर्ष समिति नै गठन गरेर आफ्ना माग राखेका छन् । रानी जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठलाई भेटेर उनीहरूले टीकापुर–५ शाहीपुरमा तटबन्ध निर्माण गर्नुपर्ने, गत कात्तिकमा आएको बाढीले भत्काएका तटबन्धको मर्मत गरिनुपर्ने, निर्माणाधीन अवस्थामा रहेका तटबन्धको काम चाँडै सम्पन्न हुनुपर्ने माग राखेका छन् ।

सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष तथा बाढीपीडित संघर्ष समितिका संयोजक धनसिंह साउदले कर्णाली कटान रोक्न सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा ठेक्का लिएको सिद्धिसाई कन्स्ट्रक्सन कम्पनीले समयमा काम नगर्दा वनको करिब २० बिघा क्षेत्रफल कटान भएको सुनाए । उनले भने, ‘अबको करिब ३ महिनामा वर्षा सुरु हुन थाल्छ । तटबन्धको काम सुरु भएको छैन । हामी त मृत्युको मुखमा छौं । संघर्ष समिति बनाएर सम्बन्धित पक्षको ध्यानाकर्षण गरिरहेका छौं ।’

सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठले कतिपय ठेक्का लिएका निर्माण कम्पनीले काममा बेवास्ता गर्दा समस्या भइरहेको बताए । ‘कर्णाली नदीमा पूरै पानी कैलालीतर्फ एकत्रित भएकाले पनि नदी कटानको समस्या कैलालीतर्फ बढी छ,’ उनले भने, ‘नदीजन्य पदार्थ जथाभावी उत्खननले पनि नदी कटानको जोखिम बढ्दै गएको छ ।’ पहिले कर्णाली चिसापानीबाट कर्णाली नदीको पानी बर्दियातर्फ बग्ने गेरुवा र कैलालीतर्फको कर्णालीमा उस्तै अनुपातमा बगे पनि अहिले गेरुवामा कम पानी छ । कर्णालीमा बढी पानी आउँदा कर्णालीमा बनेका तटबन्धले भार थेग्न नसकिरहेको प्राविधिकले बताउने गरेका छन् । कर्णाली नदीका बीचमा बनेका टापु र कर्णालीमा जथाभावी उत्खननले जोखिम झन् बढाएको प्राविधिकहरू बताउँछन् ।

कर्णालीको किनारमा रहेको टीकापुर नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ बढी जोखिममा छ । २०२१ सालतिरबाट यो ठाउँमा बसोबास रहँदै सुरु भए पनि २०४० सालको बाढीले यहाँका बासिन्दा बर्सेनि विस्थापित हुँदै आएका छन् । कर्णाली नदीको किनारमा भएकाले मलिलो माटोका कारण धान पनि बढी फल्ने स्थानीय सुनाउँछन् । सत्ती बजार र राजापुर बजार यहाँबाट नजिकै रहेकाले सरसामान किनबेच गर्न सजिलो हुनाले पहाडबाट यहाँ बस्नेको ठूलो संख्या बसाइँसराइबाट आएको यहाँका बुढापाकाहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन २९, २०७८ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×