कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बजार क्षेत्रको सडक स्तरोन्नति गरिँदै

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा धमाधम सडक स्तरोन्नति भइरहेको छ । ग्रामीण सहरी विकास कार्यक्रम (आरयूडीपी) अन्तर्गत पहिलो चरणमा बजार क्षेत्रमा सडक स्तरोन्नति गरिन लागिएको हो ।

बजार क्षेत्रको सडक स्तरोन्नति गरिँदै

करिब तीन अर्बभन्दा बढी बजेट रहेको परियोजनाअन्तर्गत पहिलो चरणमा बजार क्षेत्रको १६ किलोमिटर सडक स्तरोन्नतिका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । यसअघि बजार आसपासका क्षेत्रमा काम भइरहेकामा शुक्रबारदेखि मुख्य बजार क्षेत्रका गल्लीको स्तरोन्नति भइरहेको हो । उक्त कार्यक्रमअन्तर्गत फराकिलो सडकसंँगै दुवैतर्फ नाली, साइकल लेन र पैदल लेन निर्माण हुनेछ । यसका साथै सडकको दुवैतर्फ वृक्षरोपण पनि गरिनेछ । ‘बजार क्षेत्र र एयरपोर्ट क्षेत्रमा अहिले धमाधम काम भइरहेको छ,’ भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले भने, ‘अब बजार क्षेत्रमा पनि काम सुरु भएको छ ।’

भीमदत्त नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजनाअनुसार एसियाली विकास बैंकको आरयूडीपी कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति र फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि करिब ३ अर्ब बजेट छुट्याएको छ । अहिले पहिलो चरणमा १४ किलोमिटर सडक स्तरोन्नतिका लागि १ अर्बको ठेक्का सम्झौता भएको हो । जसअन्तर्गत बजार क्षेत्रका गल्ली १० मिटर र मुख्य सडक ३० देखि ४० मिटरसम्म चौडा हुनेछन् । बजार क्षेत्रमा बसपार्कदेखि मदन चोकसम्म खानेपानी लाइनमा रहेको केही सटर भत्काउनुपर्नेबाहेक अन्यत्र समस्या नरहेको इन्जिनियर सिंहले बताए ।

‘अन्यत्र खासै समस्या छैन, खानेपानी लाइनका सटर भत्काउन केही समस्या छ, नगरपालिकाले सूचना जारी गरिसकेको छ,’ उनले भने, ‘ती सडकमै परेका सटर हुन् ।’ उनका अनुसार २३ वटा सटर भत्काउनुपर्ने छ । कार्यक्रमअन्तर्गत कुल ३६ किलोमिटर सडक स्तरोन्नति गरिनेछ । दोस्रो चरणमा महेन्द्रनगरदेखि विष्णुधाम र भासी क्षेत्रको सडकलाई स्तरोन्नति गर्ने योजना रहेको छ । तर यसका लागि पहिलो सर्तका रूपमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुनुपर्नेछ । आयोजनाले करिब ७० करोड रकम फोहोरमैला व्यवस्थापन केन्द्रकै लागि छुट्याएको छ ।

‘फोहोरमैला व्यवस्थापन केन्द्रको टुंगो लाग्न नसके दोस्रो चरणको काम अघि बढ्दैन,’ इन्जिनियर सिंहले भने, ‘यसका लागि जग्गा खोजी भइरहेको छ ।’ उनका अनुसार भीमदत्त–१९ बागफाँटामा केही स्थानीय जमिन बिक्रीका लागि तयार छन् । तर उक्त जमिन खरिद गर्न नगरपालिकासँग बजेट छैन । आरयूडीपीले जमिन खरिदका लागि बजेट दिएको छैन । नगरपालिकाले जमिन खरिदका लागि संघीय सरकारसँग बजेट माग गरिएको सिंहले बताए । लामो समयदेखि फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जमिन खोजी भइरहे पनि हालसम्म प्राप्त हुन सकेन । नगरपालिकाले यसअघि वडा नं. ८ र ९ को सामुदायिक वनमा तयारी गरे पनि स्थानीयको अवरोधका कारण उक्त क्षेत्रमा काम सुचारु हुन सकेन । त्यसपछि अन्यत्र पनि जमिनको खोजी भएको हो । नगरपालिकाले जमिन बिक्री गर्न इच्छुकलाई दररेटसहित निवेदन दिन पनि आह्वान गरेको थियो । सोहीअनुसार बागफाँटाका स्थानीयले निवेदन दिएका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×