कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

गुडको माग बढ्यो, उखु खेती बढेन

मौसममा आएको परिवर्तनले चाहिने समयमा पानी नपर्ने र सिँचाइ व्यवस्था नहुँदा उखु उत्पादन घट्दै
मनोज बडू

दार्चुला — जिल्लाका विभिन्न ठाउँमा उखु खेती गरिँदै आए पनि व्यावसायिक उत्पादन हुन सकेको छैन । यहाँका किसानले उखु पेलेर परम्परागत रूपमा गुड (सख्खर) उत्पादन गर्दै आएका छन् । व्यावसायिक रूपमा उखु खेती नहुँदा भारतबाट बर्सेनि ठूलो परिमाणमा गुड आयात हुँदै आएको छ । थोरै बारीमा उखु उत्पादन गर्दै आए पनि व्यावसायिक बन्न नसकिएको लेकम गाउँपालिका–६ का गोकर्णदेव मिश्रले बताए । उखु खेती यहाँ धेरै पहिलेदेखि गरिँदै आएको छ । स्थानीयस्तरमै गुड बनाएर बिक्री गरिन्छ । तर, मिहिनेतअनुसारको आम्दानी नहुँदा व्यावसायिक उखु खेती गर्न अप्ठ्यारो भएको किसान बताउँछन् ।

गुडको माग बढ्यो, उखु खेती बढेन

‘केही ठाउँमा उखु उत्पादन राम्रो हुन्छ, व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनौं,’ लेकमका किसान मिश्रले भने, ‘यसको माग धेरै छ । उत्पादन बढाउन सकिएन ।’ पाखो र घमाइलो भू–भागमा उखुको उत्पादन राम्रो हुने भए पनि पानीको समस्याका कारण उत्पादन सोचेअनुसार नहुने उनको भनाइ छ । सिँचाइ सुविधा नभएकाले यहाँका किसान सुरुदेखि उखु उत्पादन गर्दै आएको भए पनि थोरै जग्गामा मात्रै उखु लगाउँदै आएका छन् ।

जिल्लाका रिठाचौपाता, बोहरीगाउँ, भगवती, हुनैनाथ, मालिकार्जुन, कुणी, उचाकोट, देथला, रानिशिखर, लटिनाथ, शेरी, धुलिगडा, डाडाकोट, खरकडालगायत क्षेत्रमा उखु उत्पादन राम्रो हुने गर्छ । त्यसबाहेक जिल्लाका अन्य ठाउँमा पनि उखु खेती हुँदै आएको छ । मालिकार्जुन—३ का रामसिंह धामीले भने, ‘अहिले मौसममा आएको परिवर्तनले चाहिने समयमा पानी नपर्ने र सिँचाइको व्यवस्था नहुँदा उखु उपादन कम घट्दै जान थालेको छ । त्यसले कमै मात्रामा खेतमा उखु लगाउने गर्छन् ।’ सिँचाइको व्यवस्था भए मालिकार्जुनमा उखु राम्रो फल्ने धामीले बताए । व्यावसायिक उत्पादनमा लैजान सके उखु पेलेर गुड उत्पादन गरी स्थानीयको आम्दानीको स्रोत बन्ने उनको भनाइ छ ।

नगदे बालीमा पर्ने उखु खेती तराईमा व्यावसायिक तवरले खेती गरिन्छ । पहाडमा अहिले पनि परम्परागत रूपमा खेती गरिन्छ । यहाँ उखु पेलेर गुड बनाउने तरिका प्राचीन मौलिकताको छ । यहाँ विद्युतीय मसिनहरूको प्रयोग नगरी उखु पेल्न कसैले गोरुको प्रयोग गर्दछन्, भने कसैले हातैले कोलु (उखु पेल्ने कोलु) मा घुमाउँछन् । कोलुमा उखु पेलेर निकालेको रसलाई ४/५ घण्टा आगोमा पकाएर गुड बनाइने शैल्यशिखर नगरपालिका—२ देथलाका विक्रमबहादुर पालले बताए । अहिले गाउँका २/३ परिवारले मात्र अढाई सय किलोग्रामसम्म गुड वर्षमा बेच्ने गर्छन् । अन्य परिवारले घरका लागि मात्र गुड बनाउने र बिक्री नगर्ने उनको भनाइ छ ।

लेकम, मालिकार्जुन, तथा शैल्यशिखर नगरपालिकातिर उखु काटेर पेल्ने काम भइरहेको छ । जिल्लाको अन्य ठाउँमा पनि उखु खेती हुन्छ । लेकम, शैल्यशिखर र मालिकार्जुनमा बढी हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । पहाडमा अहिले पनि परम्परागत विधिको रूपमा उखु खेती गरिँदै आएको छ । जिल्लाको मालिकार्जुन र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा चालू आर्थिक वर्षबाट उखु प्रवर्द्धन गर्न लागिएको कृषि ज्ञान केन्द्र प्रमुख प्रकाशकुमार पन्तले बताए । यसका लागि केन्द्रले चालु आर्थिक वर्षका लागि झन्डै ८ लाख बजेट विनियोजन गरिएको जनाएको छ । पन्तले भने, ‘दार्चुलेली गुडलाई सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पुर्‍याउने उद्देश्यले चालु आर्थिक वर्षबाट उखु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिन लागेको हो । जिल्लामा उखुबाट उत्पादन हुने गुड प्रतिकिलो २ सयदेखि २५० सम्म सजिलै बिक्री हुने हुँदा किसानहरूले व्यावसायिक रूपमा उत्पादन गरे आम्दानीको राम्रो स्रोत हुन सक्ने ज्ञान केन्द्र प्रमुख पन्तले बताए ।

प्रकाशित : फाल्गुन २९, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×