कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

खुम्च्याइँदै सडकको चौडाइ

अर्जुन शाह

धनगढी — धनगढी–दिपायल द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन धनगढी–स्याउले सडकको चौडाइ अझै अनिश्चित छ । ३० मिटर चौडाइ रहेको सडकको कुल क्षेत्रमध्ये साढे ५ मिटर मात्रै कालोपत्र गर्ने योजनाअनुसार काम सुरु भएपछि स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ ।

खुम्च्याइँदै सडकको चौडाइ

चौडाइ कम भएको भन्दै स्थानीयले सुरुदेखि नै विरोध गर्दै आएका हुन् । तर सुनुवाइ भने अहिलेसम्म भएको छैन । यस सडक खण्डमा पहिला कायम रहेको नालीभन्दा पनि सडकतिर च्यापेर पर्खाल र पक्की नाली निर्माण भइरहेको छ । निर्माण कम्पनीले पर्खाल र नाली निर्माण कार्य पूरा गरेपछि मात्रै सडकको बेस बनाउने जनाएको छ । सडकको चौडाइ क्षेत्रभित्रै च्यापेर संरचना बनाउँदा पहिलाको कच्चीभन्दा पनि साँघुरो सडक हुने भएको स्थानीय बासिन्दाको भनाइ छ ।

यस खण्डमा पर्ने जोनापुरका स्थानीय माधव चौधरीले जनप्रतिनिधिले चुनावमा प्रतिबद्धता जनाएअनुसार सडकको चौडाइ बढाउनुको साटो झन् खुम्च्याइएको बताए । द्रुतमार्ग एक प्रकारले हाइवे भएकाले दीर्घकालीन ढंगले सोच्नुपर्ने उनको भनाइ छ । ‘धनगढी–अत्तरिया ६ लेन सडक जत्तिकै महत्त्वपूर्ण धनगढी–स्याउले सडक पनि हो,’ चौधरीले भने, ‘यतिबेला जतिसुकै चौडा गर्ने भए पनि स्थानीय बासिन्दाहरू जग्गा दिन पनि तयार थिए । तर सरकारले त झन् भएकै सडकमा पनि चौडाइ साँघुरो बनाउँदै छ ।’ अहिलेकै डिजाइनअनुसार सडक कालोपत्रे भएमा दुइटा गाडी आमने–सामने आए ओहोरदोहोर हुन मुस्किल हुने उनको भनाइ छ ।

धनगढी–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी स्याउले सडकले पुर्वपश्चिम राजमार्गको स्याउले जोड्छ । स्थानीय बासिन्दाले यस सडकलाई दुई लेनको बनाउनुपर्ने माग गर्दै आएका थिए । उल्टै पहिलाको भन्दा पनि झन् धेरै साँघुरो बनाइएकोमा स्थानीय बासिन्दा रुष्ट छन् । ९ मिटरमा संरचना बनाउने र साढे ५ मिटर पिच गर्ने गरी सडक डिजाइन स्वीकृत भएर ठेक्का लगाइएको छ । तर स्थानीयले कम्तीमा ७ मिटर चौडाइ पिच गर्ने र १/१ मिटर फुटपाथ बनाउने गरी स्वीकृतिका लागि फाइल सडक विभागमा पठाइएको जनाएको थियो । तर उक्त फाइल हालसम्म स्वीकृत नभएकोले चौडाइ बढ्ने यकिन हुन सकेको छैन ।

‘सुरुमा साढे ५ मिटर पिच गर्ने र १.७५/१.७५ मिटर फुटपाथ बनाउने स्टान्डर्ड डिजाइनअनुसार ठेक्का स्वीकृत भएको थियो,’ खड्का कृष्ण नारायणम् जेभी इन्जिनियर सचिन थापाले भने, ‘सोहीअनुसार हामीले ९ मिटरमा संरचना बनाइरहेका छौं ।’

पछि कार्यालयबाट ७ मिटर चौडाइ बनाउने चर्चा चलेको भएको यकिन कुरा नआएपछि सम्झौता अनुसार नै काम गरिरहेको उनको भनाइ छ ।

द्रुतमार्ग आयोजना कार्यालय धनगढीले असारमै फाइल सडक विभागमा पठाएको भए पनि स्वीकृत नभएको बताएको छ । ‘हामीले पहिलो पटक फाइल पठाएपछि रकम थप गर्न नसकिने भनेर फाइल फिर्ता आयो,’ आयोजना कार्यालयका इन्जिनियर दीपक रैखोलाले भने, ‘सडकको लम्बाइ घटाएर ठेक्का रकममै ७ मिटर कालोपत्रे गर्ने गरी फाइल तयार गर्न भनिएको थियो । हामीले त्यसैअनुसार पठाएका छौं । विभागबाट स्वीकृत भएपछि कति मिटर चौडाइ र कति लम्बाइ पिच हुन्छ भन्ने कुरा निश्चित हुन्छ ।’

आयोजना कार्यालयले धनगढीको हसनपुर पीपल चौतारादेखि पूर्वपश्चिम राजमार्गको स्याउलेभन्दा केही माथिसम्मको १३.४ किलोमिटर सडक ३० महिनामा कालोपत्रे गरिसक्ने गरी ठेक्का सम्झौता गरेको छ । उक्त ठेक्का खड्का कृष्ण नारायणम् जेभीसँग १६ करोड ४० लाखमा गरिएको हो । २०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ट्र्याक खोल्न थालिएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि गएर पूर्वपश्चिम राजमार्गदेखि धनगढी (पीपल चौतारा) सम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।

प्रकाशित : फाल्गुन १७, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×