कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले तीन गाउँ जोखिममा

कान्तिपुर संवाददाता

बझाङ — १८ वर्ष अघिदेखि निरन्तर पहिरो झर्न थालेपछि बझाङको केदारस्युँ गाउँपालिकाका तीन वटा गाउँका ५३ परिवार विस्थापित भएका छन् । १ सयभन्दा बढी घर विस्थापित हुने क्रममा छन् ।

पहिरोले तीन गाउँ जोखिममा

हाल केदारस्युँ गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने साविक रायल गाविसका काट्खेत, तल्बाडा र मैतोली गाउँ पहिरोका कारण जोखिममा परेका हुन । तीनै गाउँकोमुनी रहेको नारुगाड खोलाबाट सुरु भएको पहिरो फैलिदै गाउँतर्फ आउन थालेपछि यहााका बासिन्दाहरू प्रत्येक वर्ष विस्थापित हुन थालेको स्थानीयले बताएका छन् । पहिरो झर्न थालेपछि यी गाँउमा ठूलठूला चिरा परेका छन । घरहरू चर्किएर बस्न कठिन छ ।

सुक्खा मौसममा पनि पहिरो खसिरहने हुनाले कुन बेला ठूलो दुर्घटना हुने हो भनेर गाउँलेहरू त्रसित हुन थालेको स्थानीय ललित रावलले बताए । ‘रातदिन पहिरो खसेको खस्यै छ, कुन बेला के हुने हो थाहा छैन,’ उनले भने, ‘अन्त कतै जाउँ भने जाने ठाउँ छैन । डराइडराई त्यही धरापमा बसिरहेका छौं ।’ यहाँबाट विस्थापित भएका परिवाहरू पालिकाकै पटौटालगायत विभिन्न ठाउँमा र डडेलधुराको जोगबुढाका जंगलहरूमा छाप्रा निर्माण गरेर बसिरहेका छन् । हालसम्म विस्थापितलाई राहत तथा पुनर्स्थापना र पहिरो नियन्त्रणका लागि कुनै पनि काम नभएको उनले बताए ।

‘यो पहिरो आउन सुरु भएको १८ वर्ष जति भयो । पहिरो खस्न थालेदेखि प्रत्येक वर्ष दुई/चार परिवारले गाउँ छाड्नु परिरहेको छ,’ स्थानीय ददिभान रावलले भने, ‘पहिले त पहिरो पनि सानो थियो । अहिले फैलिएर हेरिनसक्नु भएको छ । कुन बेला तीनवटै गाउँ सखाप बनाउने हो । हामी चिन्ताले राम्रोसँग सुत्न खान पनि पाएका छैनौं ।’ उनले स्थानीयहरूले गाउँ छाड्ने क्रम जारी रहेको र पहिरो फैलिँदै गएकोले प्रत्येक वर्ष ५ देखि १० परिवारका दरले विस्थापित हुने गरेको बताए । यही पहिरोका कारण स्थानीयले खेतीपाती लगाउने ५ सय रोपनीभन्दा बढी जग्गा पनि बगाइसकेको छ । ‘खाने खेत सबै पहिरोले बगाइसक्यो । सालको साल घरहरू पनि बगाउँदै छ । हामीसँग न जग्गा रह्यो न त बस्ने सुरक्षित ठाउँ नै बाँकी छ । के गर्ने कहाँ जाने केही सोच्न सकेका छैनौँ,’ रावलले भने ।

कमेरो माटो भएका कारण सामान्य वर्षा हुनासाथ पहिरो बग्न सुरु हुने भएकाले घर बगाउने डरले गाउँलेहरूमा समेत त्रासमा बस्नुपर्ने अवस्था आएको मैतोलीका रनबहादुर विष्टले बताए । ‘ठूलो पानी पर्दा गाउँ नै बगाउन सक्ने सम्भावना छ,’ उनले भने, ‘अन्यत्र जाउँ जाने ठाउँ छैन । त्रासै त्रासमा बसिरहेका छौ ।’

प्रकाशित : फाल्गुन १६, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?