२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

टेलिकम टावरमा तोडफोड

बझाङ — नेपाल टेलिकमको रिपिटर टावरमा तोडफोड हुँदा लाखौं मूल्य बराबरको उपकरणहरूमा क्षति भएको छ । तोडफोड भएपछि जिल्लाका तीनवटा पालिका दस दिनदेखि सम्पर्कविहीन भएका छन् ।

टेलिकम टावरमा तोडफोड

बझाङको मष्टा गाउँपालिका—६ मा पर्ने दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा माघ १७ गते तोडफोड भएको थियो । तोडफोडबाट चार्जिङमा राखिएका पाँच किलोवाट क्षमताका ५६ वटा सोलार प्यानल, २४ ब्याट्री, जक्सन बक्स, सोलार चार्जर, कन्ट्रोल बक्स, पावर केवल र अन्य उपकरणमा क्षति भएको छ ।

मष्टा गाउँपालिका– ५ का ओखेडा थरका एक व्यक्तिले टेलिकमको टावरमा तोडफोड गरेको स्थानीयले बताए पनि हालसम्म कसैलाई प्रहरीले नियन्त्रणमा लिएको छैन । तोडफोड गर्ने ओखेडा मानसिक बिरामी भएको स्थानीयबाट बुझिन आएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर कमल चौधरीले बताए ।

ओखेडाले यसअघि पनि गाउँमा रहेका मठमन्दिर भत्काउने, सार्वजनिक स्थलमा नराम्रो व्यवहार गर्ने र मानिसलाई देख्नासाथ ढुंगा हान्ने गरेको भन्ने बुझिन आएको बताउँदै इन्स्पेक्टर चौधरीले भने, ‘तोडफोड गर्दा देख्ने प्रत्यक्षदर्शीलाई पनि हामीले सोधपुछ गरिरहेका छौं ।’ अनुसन्धान भएर दोषीलाई कारबाही नहुन्जेल टावरको मर्मत नहुने नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले बताए । मानसिक समस्या भएको व्यक्तिले टावर तोडफोड गरेको भनिए पनि क्षतिको अवस्था हेर्दा एकभन्दा बढी व्यक्ति संलग्न भएको हुन सक्ने उनले बताए । ‘त्यति धेरै सोलार प्यानल र ब्याट्रीहरू फुटाइएका छन् । भित्रभित्रका पावर केबलसमेत तानेर काटिएको छ । मानसिक सन्तुलन नभएको एउटै मान्छेले यत्रो क्षति गरेको होला भन्ने हामीलाई लाग्दैन,’ उनले भने, ‘प्रत्यक्षदर्शीले भनेको भनेर अनुसन्धान नै भएको छैन । प्रत्यक्षदर्शी थियो भने तेत्रो तोडफोड हुन्जेल किन रोक्न कोसिस गरेन । यो सबै विषय अनुसन्धान नहुन्जेल टावर मर्मत हुँदैन ।’ उनले लाखौंको उपकरणहरू क्षति हुँदा पनि अनुसन्धानमा उपेक्षा गरिएको बताए ।

तीन पालिका सम्पर्कविहीन

रिपिटर टावरमा तोडफोड भई सञ्चालन गर्न नमिल्ने भएपछि बझाङका मष्टा, तलकोट र साइपाल गाउँपालिका सम्पर्कबाट विच्छेद भएका छन् । दौलेमेलाको रिपिटिर टावरले तल्कोट, साइपाल र मष्टा गाउँपालिकामा रहेका टेलिकमकै अन्य टावरहरूसम्म संकेत प्रेषण गर्थ्यो ।

टेलिफोन नहुँदा सबैभन्दा बढी समस्या साइपाल गाउँपालिकाका स्थानीयलाई भएको छ । टेलिफोन सम्पर्क विच्छेद भएपछि यहाँ रहेका सीमा प्रहरी चौकी धुली र लासी प्रहरी पनि १० दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टेलिफोन नहुँदा पूरै गाउँपालिका नै सम्पर्कविहीन भएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।

यता, नेपाल टेलिकमको सुदूरपश्चिम प्रदेशभरि मर्मतसम्भारको काम गर्ने डडेलधुरास्थित कार्यालयका प्रमुख माधवप्रसाद जोशीले पनि टावर तोडफोड गर्नेलाई कारबाही नभएसम्म मर्मत नहुने बताए । ‘तोडफोड गर्नेलाई कारबाही नभए फेरि पनि त्यस्तै नहोला भन्न सकिन्न । यो केसको टुंगो नलागेसम्म मर्मत गर्ने कुरै हुँदैन,’ उनले भने ।

प्रकाशित : माघ २८, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?