२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

६ वर्षमा पनि बनेन पुल

मनोज बडू

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित धुलिगाड खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदारको लापरबाहीले अलपत्र बनेको छ । थोदुङ जसलिङ जेभी काठमाडौंसँग ६ वर्ष अगाडि पुल निर्माणका लागि दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि अझै अलपत्र छ ।

धुलिगाड खोलामा ४५ मिटर लम्बाइको आरसीसी प्लेट गर्डर बिम किसिमको पुलमा ठेकेदारले पिलर राखेर लामो समयदेखि अलपत्र अवस्थामा राखेको स्थानीयले गुनासो गरेका छन् । साढे तीन करोड लागत रहेको उक्त पुलको ठेकेदारले ६० प्रतिशत बजेट भुक्तानी लिइसकेर पुल निर्माण अलपत्र रहेको भौतिक पूर्वाधार विकास कार्यालय बैतडीका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । ठेकेदारसित उक्त पुल निर्माणका लागि २०७३ असार २२ गते सम्झौता भएको थियो । अहिलेसम्म ४ पटक म्याद थप भई चैत मसान्तसम्म निर्माणका लागि समय उपलब्ध गराइएको छ ।

करकले–देथला–खलंगा सडकमा पर्ने उक्त पुल नबन्दा वर्षातको समयमा यातायात सञ्चालन र स्थानीयलाई हिँडडुलमा समस्या छ । समयमै पुल निर्माण नहुँदा वर्षातमा गोकुलेश्वरबाट हिँडेका सवारीसाधन धुलिगडाबाट फर्काउनुपर्ने अवस्था रहेको स्थानीय गोविन्दसिंह ठगुन्नाले बताए । अहिलेको सुक्खा समयमा नदीमा पानी कम भएकाले खोलामै सवारी गुडाएर आवतजावत भइरहेको छ । यही खोलामा पुल नबन्दा बर्खा सुरु हुँदा धुलिगडादेखि माथिल्लो क्षेत्रमा सवारीको आवतजावत पूर्ण रूपमा बन्द हुन्छ । यहाँका स्थानीयले लामो समयदेखि अलपत्र पुलको निर्माण कार्य चाँडो बनाउन माग गर्दै सम्बन्धित कार्यालय र ठेकेदारलाई धेरै पटक ध्यानाकर्षण गरेको भए पनि काम हुन नसकेको ठगुन्नाले बताए ।

तत्कालीन जिल्ला विकास समितिबाट नियमन हुँदै आएको उक्त पुललाई अहिले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय बैतडीले निर्माण अनुगमन गरेको छ । लामो समयदेखि पुल निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हुनाले ठेकेदारलाई लिखित रूपमा पत्राचार गर्दा पनि अझै निर्माण कार्य अगाडि नबढेको कार्यालयले जनाएको छ ।

ठेकेदारले अबको १०/१२ दिनमा काम सुरु नगरे चैतमा पुल निर्माण कार्य सम्पन्न हुन सक्ने अवस्था कमै रहेको हुनाले कार्यालयले ताकेता गरिरहेको दार्चुलाका पुल निर्माण साइडका प्राविधिक राजीव शाहले बताए । उनका अनुसार ठेकेदारले पुलमा प्रयोग हुने स्टिल पार्ट्सहरू खोज्ने क्रममा रहेकाले पुल निर्माणमा ढिलाइ भएको मौखिक रूपमा आएको छ ।

त्यस्तै, उक्त सडक खण्डको रैचु खोलामा २०७२ असार २९ गते युनिता बिल्डर्स जेभीसित ठेक्का सम्झौता भएको पुल पनि अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन् । २०७४ असार मसान्तमा निर्माण सक्नुपर्ने पुलको चार पटक म्याद थपिएको भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । १ करोड ८१ लाख १० हजारभन्दा बढी लागतमा निर्माण हुने पुल अहिले अलपत्र छ । ठेकेदारलाई चाँडो काम सम्पन्न गर्न मौखिक र लिखित रूपमा ताकेता गरेर असोज र कात्तिकमा केही काम भएको साइड इन्चार्ज शाहले बताए । उनका अनुसार सडकको टेवा पर्खाल निर्माण गरेर ग्रेड मिलाई गाडी चल्ने बनाउन पुलको पारिपट्टि खन्नुपर्ने हुन्छ । पुलको दायाँतिर स्थानीयको घर परेको हुनाले काममा अवरोध भएको छ ।

विवाद मिलाएर छिट्टै काम सुरु गर्न कार्यालयको प्राविधिक र ठेकेदारलाई निर्देशन दिइसकेको उनको भनाइ छ । ‘पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सडकलाई पुलको सतहसम्म पुर्‍याउन नसक्दा बाह्य रूपमा भएको काम देखिएको छैन ।’ ठेकेदारले चैतसम्म पुल निर्माणको काम सक्ने जनाएको छ ।

उक्त सडकको रैचु खोला र धुलिगडा खोलामा पुल निर्माण भए वर्षातको समयमा सदरमुकाम खलंगासम्म गाडी गुड्छ । धुलिगडाका स्थानीय अर्जुन धामीका अनुसार ४ वर्ष अगाडि निर्माण सुरु गरिएको पुल नौगाड गाउँपालिका–६ धुलिगडा खोलाको पुल पनि अलपत्र छ ।

प्रकाशित : माघ २७, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?