विमानको पर्खाइमा टीकापुर- सुदूरपश्चिम - कान्तिपुर समाचार

विमानको पर्खाइमा टीकापुर

गणेश चौधरी

टीकापुर — टीकापुरको विमानस्थल विमानको पर्खाइमा छ । हवाई सेवा सञ्चालन गर्ने भनेर विमानस्थलमा अतिक्रमण गरी बसेका मुक्त कमैयालाई हटाइए पनि विमानस्थलमा विमान भने आउन सकेको छैन । २०४२ सालदेखि सञ्चालन भएको टीकापुर विमानस्थल विगतको द्वन्द्वका कारण २०५४ सालदेखि बन्द छ । बन्द रहेको अवस्थामा २०६१ सालमा मुक्त कमैयाद्वारा विमानस्थल अतिक्रमण भएको थियो ।

केही वर्षअघि टीकापुरको विमानस्थल सञ्चालनका लागि स्थानीयको पहल भएको थियो । स्थानीयको पहलमा विमानस्थल कब्जा गरी बसेका मुक्त कमैयालाई उठाएर अन्यत्र स्थानान्तरण गरिएको छ । बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीयबाट पहल हुन थालेपछि मुक्त कमैयाले विमानस्थलको जग्गा छोडेका हुन् ।

विमानस्थलको जग्गा कब्जा गरी ४ सय ३ मुक्त कमैया परिवार बस्दै आएका थिए । विमानस्थल पुनर्निर्माणका लागि गठित समितिको अनुरोधमा मालपोत कार्यालय टीकापुरले घरजग्गा खरिदबिक्री गर्दा विमानस्थलका लागि अतिरिक्त कर लगाएर करिब ३५ लाख रुपैयाँ रकम संकलन गरेको हो ।

टीकापुरमा विमानस्थल निर्माण तथा सञ्चालनका लागि गठित विमानस्थल निर्माण तथा सञ्चालन समितिको अनुरोधमा मालपोत कार्यालयले कर संकलन गरेको थियो । मालपोत कार्यालयले सेवाग्राहीबाट नगरपालिका क्षेत्रको राजीनामा गरेबापत जग्गाको जम्मा मूल्यको १ प्रतिशत र गाविस क्षेत्रको राजीनामाबापत ०.५ प्रतिशत रकम संकलन गरेको थियो । त्यसैगरी, बकसपत्रमा नगरपालिका क्षेत्रमा ०.५ प्रतिशत, गाविसमा ०.२५ प्रतिशत अतिरिक्त कर लिने गरेको थियो ।

विमानस्थल पुनर्निर्माणका लागि स्थानीयको सक्रियता भएपछि सरकारीतर्फबाट पनि पुनर्निर्माणको काम भएको हो । विमानस्थललाई तारबार गरी विमान रनवेका लागि ग्राभेलिङको काम भएको छ । टीकापुरमा विमान सेवा सञ्चालनका लागि गत जेठमा नै टेस्ट फलाइट भएको हो । तारा एयरको ट्वीनअटर विमानबाट टेस्ट फलाइट भएपछि टीकापुर विमानस्थल पुनर्निर्माण तथा सञ्चालन समितिले यति एयरलाइन्ससित टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फलाइट भर्ने सम्झौता पनि गरेको थियो । तर जहाज आएन ।

पुनर्निर्मित विमानस्थलमा जहाज नआएपछि विमानस्थल गाईबाख्रा चर्ने मैदान बनेको छ । हवाई यातायातका लागि १ सय किलोमिटरभन्दा बढी दूरीमा रहेको नेपालगन्ज या धनगढी जानुपर्ने बाध्यता छ । विगतमा टीकापुर विमानस्थल सञ्चालन हुँदा अछाम र जुम्लामा उडान हुने गरेको स्थानीय बताउँछन् । विमानस्थल बन्द भएपछि कोही पनि कर्मचारी यहाँ छैनन् । विमानस्थल सञ्चालनमा नआउँदा टीकापुर विकासमा पछि पर्दै गएको स्थानीय बताउँछन् । विमानस्थल पुनर्निर्माणका लागि गठित समितिका संयोजक टीकाराम जोशीले भने, ‘टीकापुर प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भए पनि हवाई यातायात नहुँदा हवाई यात्राबाट पर्यटक आउन सकेका छैनन् । ठूला व्यापारी/व्यवसायी पनि लगानी गर्न चाहँदैनन् ।’

टीकापुरमा विमानस्थल सञ्चालनका लागि पछिल्लो समय नेपाल सरकारको टोलीले सर्भे गरिरहेको संयोजक जोशीले बताए । उनले भने, ‘अर्थमन्त्रीले क्रमागत रूपमा बजेट दिने आश्वासन दिएका छन् । यो आर्थिक वर्षमा करिब २० करोड बजेट दिने कुरा भएको छ । सर्भेपछि तत्काल कालोपत्रेका लागि टेन्डर हुन्छ । विमानस्थल कालोपत्रे भएपछि विमान आउँछ ।’

प्रकाशित : माघ २४, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

खाद्य कम्पनीले रोक्यो धान खरिद

गणेश चौधरी

टीकापुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीबाट धान खरिद कार्य रोकेको छ । गुणस्तरीय धान नआएको भन्दै कम्पनीले खरिद कार्य स्थगन गरेको हो । ‘पानीमा भिजेको न्यून गुणस्तरको धान नकिन्नु भन्ने निर्देशन छ । किसानले खरिद केन्द्रमा ल्याएको धान गुणस्तरीय नभएकाले खरिद बन्द गरेका हौं,’ कम्पनीकी सुदूरपश्चिम प्रदेश प्रमुख इन्जिला बस्नेतले भनिन् ।

कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण जिल्लाका अधिकांश किसानको धान भिजेको थियो । कम्पनीले सरकारले निर्धारण गरेको मूल्यमा धान खरिदका लागि पानीले नभिजेको, माटो, परालको टुक्रा र पोपटा नमिसिएको सफा धान हुनुपर्ने मापदण्ड बनाएको थियो ।

केन्द्रमा प्राविधिकले गुणस्तर जाँच गरेपछि मात्र उपयुक्त देखिए खरिद गर्न सक्ने कम्पनीले जनाएको थियो । तर टीकापुर सत्तीमा गुणस्तरीय नआएको भन्दै खरिद कार्य नै बन्द गरिएको हो । कम्पनीले यो वर्ष कैलालीबाट ३५ हजार क्विन्टल धान किन्ने लक्ष्य राखेको थियो तर सत्तीबाट १४ क्विन्टल र धनगढी मोहनपुरबाट ३२ क्विन्टल गरी ४६ क्विन्टल मात्रै किनिएको बस्नेतले जनाइन् । उनका अनुसार गत वर्ष ६५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएकोमा ५३ हजार क्विन्टल खरिद गरिएको थियो ।

कम्पनीले धान किन्न रोकेपछि आफूहरू मर्कामा परेको जानकी गाउँपालिका–३ का किसान करम चौधरीले बताए । ‘सरकारले धानको भाउ तोक्छ तर हामीले त्यो मूल्यमा बेच्न पाउँदैनौं । कात्तिकमै भित्र्याएको धान अहिलेसम्म बेचेको छैन । घरमा राखिएको धान मुसाले खाएर सखाप पारिसक्यो,’ उनले भने । गत भदौ २९ मा बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य २ हजार ७ सय ५२ र मध्यमको २ हजार ९ सय २ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको थियो । गत वर्ष यो आँकडा क्रमशः २ हजार ७ सय ३५ र २ हजार ८ सय ८५ रुपैयाँ थियो ।

‘हाम्रो धानको मूल्य साहू/महाजनले निर्धारण गरिरहेका छन्,’ जानकी–३ कै अर्का किसान कमल बुढाले भने । उनले गुणस्तरीय धान पनि प्रतिक्विन्टल २ हजार रुपैयाँमा बेच्न बाध्य भएको सुनाए । घर खर्च चलाउन कम मूल्यमै धान बेचेको उनले बताए ।

प्रकाशित : पुस २०, २०७८ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×