कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

बढ्दै बँदेल र बाँदर आतंक

तृप्ति शाही

बैतडी — बँदेलको आक्रमणबाट गत सोमबार स्थानीय दोगडाकेदार गाउँपालिकामा १ घोरडीका ७५ वर्षीय मनोरथ जोशीको मृत्यु भयो । अन्य ३ घाइते भएका थिए । जिल्लामा ग्रामीण क्षेत्रमा बँदेल र बाँदरले आतंक नै मच्चाएको स्थानीय गुनासो गर्छन् ।

बढ्दै बँदेल र बाँदर आतंक

खेतबारी सबै बँदेलले नष्ट गरेको स्थानीय बताउँछन् । अहिले मान्छेलाई पनि आक्रमण गर्न थालेपछि समस्यामा परेको दोगडाकेदार गाउँपालिका–१ का स्थानीय देवदत्त जोशी बताउँछन् । ‘गाउँमा साह्रै डर भयो । कसरी बच्ने भन्ने चिन्ता सबैलाई छ,’ उनले भने, ‘लगाएको बालीहरू त बँदेलले केही राख्दैन । मान्छेलाई पनि आक्रमण गर्ने भएपछि कसरी बाँच्ने भन्ने त्रास बढ्न थालेको छ ।’ बँदेल खेतबारीमा देखा परेमा दिनदहाडै घरभित्र पस्नुपर्ने अवस्था आएको उनले दुखेसो पोखे ।

यस्तै गाउँमा बाँदरले पनि सताएको छ । जिल्लाका विभिन्न स्थानमा बाँदरले बालीनाली सखाप पार्न थालेपछि किसान हैरान भएका छन् । बारीमा लगाएको सबै बालीनाली बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझै छोड्नुपर्ने अवस्था आएको पाटन नगरपालिका २ सिमोडाका किसान नन्दसिंह ऐरीले बताए । बिहानैबाट बाँदर धपाउन खेतमा बस्नुपरेको उनले बताए ।

जिल्लाको दशरथचन्द नगरपालिकाको वडा नं ५ र ८ मा बादरकै कारण धेरै जसोले खेत बाँझै छोडेका स्थानीय डम्मर टमटाले बताए । यस्तै, बँदेलको आक्रमणबाट त्रसित भएका बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि बाँदर धपाउने उपाय निकाल्न स्थानीयहरूले सरकारलाई दबाब दिन संघर्ष समितिसमेत गठन गरेका छन् ।

खेतबारीमा लगाएको बालीनाली बाँदरले सबै सखाप पारेको, भित्र राखेका सामग्रीसमेत नष्ट गर्न थालेपछि बाँदर धपाउने उपाय निकाल्न स्थानीय सरकारको ध्यानाकर्षण गराउन संघर्ष समिति गठन गरेको समितिका संयोजक इन्द्रदेव शरण भट्टले बताए । उनले भने, ‘हामीले प्रत्येक वडावासीको हस्ताक्षर संकलन गरेका छौं । वडा कार्यालय, पालिका, स्थानीय प्रशासन र डिभिजन वन कार्यालयलाई बुझाउने तयारी गरेका छौं ।’ आफूहरूलाई बाँदरले निकै सास्ती दिएको र यो विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएको स्थानीय उमेश भट्टले बताए ।

प्रकाशित : माघ १८, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×