कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित परिवारसँगै घुलमिल

निकायबाट पनि लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पहल भएन
मेनुका ढुंगाना

अछाम — कोरोनाको तेस्रो लहर बढेसंगै अधिकांसमा ओमिक्रोनको लक्षणका बिरामी थपिए पनि सार्वजनिक स्थानमा सतर्कता अपनाइएको छैन । अधिकांसमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, खोकी लाग्ने र मांसपेशी दुख्ने लक्षणका बिरामी बढेका छन् ।

संक्रमित परिवारसँगै घुलमिल

मंगलसेन नगरपालिका–५ का ३५ वर्षीय युवकलाई ४ दिनअघि कोरोनो पुष्टि भयो । त्यसअघि उनी परिवारसँग घुलमिल भएर बसेकमा थिए । उनलाई ज्वरो आउने, टाउको र हातखुट्टा दुख्ने, खोकी लाग्ने समस्या थियो । उनलाई यी लक्षण देखा परेको ३ दिनपछि आमा र भाइलाई पनि उस्तै लक्षण देखिए ।

तर उनीहरूले भने परीक्षण गरेका छैनन् । ‘मलाई यसअघि पनि दुइपटक संक्रमण भएको थियो । अहिले पनि गाह्रो भयो । शंका लागेर नै परीक्षण गराएको हुँ,’ उनले भने,‘रिर्पोट पोजेटिभ आएपछि छुट्टै बस्न सकिएको छैन । धारा चर्पी एकै प्रयोग गर्नुपर्ने अवस्था छ ।’

परिवारका अन्य सदस्यलाई पनि आफ्नो जस्तै लक्षण देखिएको उनले बताए । ‘कोरोना नै हुनसक्छ । परिक्षण गराउनुस् भन्दा आफैं सन्चो भइहाल्छ भन्छन् । अन्य कुनै निकायले पनि लक्षण देखिएकाहरूलाई परिक्षण गराउन पहल चालेको देखिदैन ।’

मंगलसेन–७ की ३३ वर्षीया महिलालाई पनि ३ दिनअघि कोरोना पुष्टि भयो । पहिलो चरणमा कोरोना संक्रमण परिवार र समुदायमा फैलिन नदिन स्वाब दिएपछि अलग्गै बस्ने, पोजेटिभ आएमा वडा तथा नगरले बनाएका आइसोलेसनमा पठाउने गरेको उनले थाहा पाएकी थिइन् । यो पटक भने उनी आफैं संक्रमण हुँदा पनि घरमा बसिरहेकी छन् ।

‘ठूलाठूला घर भएकालाई पो होम आइसोलेसनमा बस्न सजिलो छ । सानो घर छ । एकै धारा, एकै शौचालय प्रयोग गर्नै पर्छ । जति अलग्गै बस्छु भने पनि आफ्नो परिवार भित्र दुरी कायम गराउन सकिएको छैन,’ उनले भनिन्,‘गाउँमा बसेका कतिपय संक्रमित जंगलमा सौच गर्न जान्छन् । यसले समाजमा अर्को महामारी फैलिने डर छ ।’

होम आइसोलेसन भनेर सपरिवारसँग बसेका कोरोना संक्रमितबाट गाउँमा संक्रमण फैलिएको उनको भनाइ छ । ‘कोरोना केही होइन भनेर अनावश्यक हल्ला फैलाएको देदिन्छ । तर यसले दिने पिडा संक्रमितलाई मात्रै थाहा हुन्छ । परिक्षण गर्यो भने गाउँमा धेरै जसोलाई संक्रमण देखिन्छ ।’

कम्तीमा लक्षण देखिएका परिवारका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने उनको भनाइ छ । ‘घरघरमा संक्रमित छन् । तर उनीहरूलाई परिक्षण गर्ने बारे केहि थाहा छैन । संक्रमितको अवस्था के छ भनेर पनि कसैले सोध्दैनन् । परिक्षण झन् कसले गर्छ र !’

संघीय सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गरे पनि त्यो बाहेक स्थानीय तह र प्रशासनले कुनै निर्णय गर्न सकेका छैनन् । जिल्ला प्रशासन कार्यालका सिडिओसहित कर्मचारी र जिल्ला अस्पतालका सबै स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ ।

‘कोरोना लक्षण देखिने बित्तिकै कोरोना जाँच गरेको भए संक्रमण समुदायसम्म फैलिन सक्ने थिएन । अहिले सबैमा कोरोना केहि होइन भन्ने भ्रम छ,’ जिल्ला अस्पतालका डाक्टर अतुल भारद्धाजले भने ,‘ जिल्ला अस्पतालमा इमरजेन्सि र प्रसूति कक्ष मात्रै खुला छ । सबै संक्रमित भएका छौं । सर्वसाधारण भने कत्ति पनि डराएका देखिदैनन् ।’

अहिले जिल्लामा कोरोना संक्रमितको व्वस्थापनका लागि स्थानीय तहलाई नै जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी विश्वनाथ मरासैनीले बताए । ‘होम आइसोलेशन र क्वारेन्टाइनको जिम्मेवारी स्थानीय तहलाई छ । खोप लगाउनलाई नै जोड दिएका छौं । धेरैले जाँच गनै छोडेका छन् । मृत्युदर कम भएपछि डराउन छोडेको छन् ।’

उनले भने । स्वास्थ्य कार्यालय अछामका अनुसार सोमबारसम्म १ सय ८ जना सक्रिय संक्रमित छन् । ती मध्ये १ सय ६ जना होम आइसोलेसनमा छन् भने दुई जना अस्पतामा छन् ।

प्रकाशित : माघ १३, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?