कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकामा आवागमन कडाइ

भवानी भट्ट

कञ्चनपुर — जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नेपाल –भारत सीमा क्षेत्रमा आकस्मिक बाहेकको आवागमनमा कडाइ गर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको वैठकले सामान्य किनमेलका लागि हुने आवागमनलाइ कडाइ गर्ने निर्णय गरेको हो । 

नाकामा आवागमन कडाइ

सीमा क्षेत्रमा स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी र भन्सारकर्मीहरूसमेत संक्रमित भएपछि ठुलो संख्यामा मालसामान क्यारिंङका लागि हुने आवागमनको चेकजाँचमा समस्या हुने भएकाले कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयले बताए । ‘एउटै व्यक्ति दिनमा तीन/चार पटक आउजाउ भइरहेको छ, कतिपटक चेकजाँच गर्नु र कतिपटक परीक्षण गर्ने,’ उनले भने, ‘स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी धेरैजना संक्रमित भइरहेका छन् ।’

रोजगारी र उपचार तथा अन्य आकस्मिक कामले हुने आवागमनमा भने कुनै अवरोध नहुने प्रजिअ पाण्डेयले बताए । गड्डाचौकी नाकामा सीमावर्ती बजारबाट साइकलमा मालासमान ढुवानी हुने गरेको छ । दैनिक तीन/चार सयको संख्यामा स्थानीयहरू सीमावर्ती बजार बनबासाबाट महेन्द्रनगरसम्म मालसामान ढुवानी गर्दै आएका छन् । यसरी दिनहॅु किनमेलका लागि सीमावर्ती बजारसम्म जानेहरूमा पनि संक्रमण देखिन थालेको छ । उनीहरूबाटै समुदायमासमेत संक्रमण फैलिने जोखिम बढेको देखिन्छ ।

‘हरेक व्यक्तिको सामान चेकजाँच गर्दा संक्रमणको पनि जोखिम बढेको छ,’ प्रजिअ पाण्डेयले भने, ‘अहिले संक्रमण बढेकाले असहज पनि भएको छ ।’ उनका अनुसार भन्सार कार्यालयका केही कर्मचारीमा संक्रमण देखिएको छ । भारतीय नागरिकको हकमा भने खोप कार्ड देखाएर आउन सक्नेछन् ।

यसैबीच, जनप्रतिनिधि र कर्मचारीमासमेत संक्रमण देखिएपछि कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । शुक्लाफाँटाले सोमबारदेखि ५ दिन र कृष्णपुरले सोमबारदेखि अर्को निर्णय नहुॅदासम्म सेवा बन्द गरेका हुन् ।

दोधारालाई अक्सिजन सिलिन्डर

नेपाल इन्भेष्टिगेटिम मल्टिमिडिया जर्नाल्जिम नेटवर्कले दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संस्थाले शनिबार १२ वटा सिलिण्डरसॅंगै रेगुलेटर र अक्सिजन मास्कलगायतका सामग्री स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । महाकाली पारिको दोधारा चाँदनी नगरपालिकामा पनि संक्रमितको संख्या दिनहॅु बढ्दो छ । दोस्रो लहरको संक्रमणका बेला अक्सिजनको निकै अभाव भएको थिए । अहिले भने थोरै भएपनि अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएकाले विगतका जस्तो अप्ठेरो नहुने अपेक्षा गरिएको स्वास्थ्य केन्द्रका डा. सुशिल जोशीले बताए ।

प्रकाशित : माघ १०, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?