कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोजगारी गुमेर फर्केपछि बाख्रापालन

भवानी भट्ट

कञ्चनपुर — ४५ वर्षीय गगन महरा भारतको दिल्लीमा चौकीदारी गर्थे । सानैदेखि काम खोज्दै भारत पसेका उनी कोरोना संक्रमण सुरु भएपछि घर फर्किए । परिवारको गुजारा गर्ने चौकीदारी पेसा पनि कोरोनाले खोस्यो । त्यसयता उनी दुई पटक दिल्ली पुगिसके । तर काम नपाएपछि पुनः घर फर्किएपछि उनले गाउँमै बाख्रापालन सुरु गरेका छन् ।

रोजगारी गुमेर फर्केपछि बाख्रापालन

कञ्चनपुरको कृष्णपुर नगरपालिका —१ दोमिल्लामा बसोबास गर्ने उनले कोरोना संक्रमण सुरु भएर पहिलो पटक घर आउँदा नै बाख्रापालन सुरु गरेका हुन् । त्यही बाख्रा पालनबाट उनले घर खर्च चलाउन सजिलो हुने अपेक्षा गरेका छन् । ‘वर्षमा तीन/चार वटा खसी बेच्न सके घर खर्च चलाउन चौकीदारी खोज्दै भारत पस्नु पर्दैन,’ महराले भने, ‘अहिले पाँच/सात बाख्राबाट सुरुवात गरेको छु, बढाउँदै लैजाने सोच छ ।’ चुरे फेदीको बस्ती भएकाले घाँस र स्याउला सहजै पाइने गरेको र १०/१५ बाख्रा सहजै पाल्न सकिने उनले बताए । अब काम खोज्दै भारत नजाने सोच बनाएको उनले बताए ।

भारत उत्तराखण्डको पिथौरागढमा ज्याला मजदुरी गर्ने प्रतापसिंह रोकाया कोरोना संक्रमणकै कारण लकडाउन भएपछि घर फर्केका हुन् । उनी पनि दुई वर्षदेखि काममा फर्केका छैनन् । रोकायाले पनि घर परिवारसंँगै मिलेर बाख्रापालन गरेका छन् । ‘कोरोना कम भएपछि काम खोज्दै दुई पटक पिथौरागढ गएँ,’ उनले भने, ‘तर पहिले जस्तो काम पाइएन, काम पाए पनि ज्याला कम पाइने भएर घर फर्केर आएँ ।’

रोकायाले अहिले १० बाख्रा पालेका छन् । बाख्रा पालनबाट वर्षमा चार/पाँच खसी बिक्री गर्न सके घरखर्च सहजै जुटाउन सकिने उनको बुझाइ छ । उनी कहिलेकाहीं गाउँमै ज्याला मजदुरीको काम गर्छन् । लकडाउनका बेला घर फर्केका रोकायालाई आम्दानीको अन्य माध्यम नहुँदा केही समय निकै समस्या भयो । नुनतेलको खर्च जुटाउनसमेत निकै गाह्रो भयो । त्यही समस्या भोगेर उनले सानोतिनो भए पनि घर खर्च जुटाउने माध्यमका रूपमा बाख्रा पालनलाई रोजेका हुन् । ‘हतपतमा काम छाडेर आउँदा ज्याला पनि पूरा पाइएन, घर आउँदा रित्तो हात पुग्यौं,’ उनले भने, ‘त्यो बेलाको समस्याले बाख्रापालनतर्फ तान्यो ।’

उक्त क्षेत्रमा रोजगारीका लागि भारत तथा तेस्रो मुलुक भएका घरपरिवारका आफन्तले बाख्रापालन समूह नै बनाएका छन् । उनीहरूले सामूहिक रूपमा बाख्रापालन थालेका कारण बजारको समेत समस्या नहुने देखिन्छ । उसो त चुरे फेदीमा घर घरै बाख्रापालन भइरहेको छ । तर अधिकांशले एक/दुई बाख्रा मात्रै पालेका छन् । लकडाउनपछि आफन्त दुःख पाएर घर फर्किएको केही परिवार भने अहिले व्यावसायिक रूपमै बाख्रापालनमा जुटेका हुन् । उनीहरूलाई सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निड्स नेपालले बाख्रापालनसम्बन्धी तालिम र उन्नतजातका बाख्रासमेत दिएको छ ।

प्रकाशित : माघ ७, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?