कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाम नलागेसम्म सञ्चारविहीन

मनोज बडू

दार्चुला — जिल्ला सदरमुकाम खलंगामा सञ्चार सेवा दिइरहेको नेपाल टेलिकमको मोबाइल फोन सेवा बुधबार रातिदेखि बिहीबार बिहान साढे ८ बजेसम्म बन्द हुन पुग्यो । मौसममा बदली भएपछि जिल्लाको सदरमुकाममा सञ्चारविहीन भइने अवस्थामा दुर्गम ठाउँमा त रातिको समयमा फोन सम्पर्क नै हुँदैन ।

घाम नलागेसम्म सञ्चारविहीन

हिउँदे सिजनमा लगातार दुई दिनभन्दा बढी मौसममा बदली भए विगत दुई/तीन वर्षदेखि पुरै जिल्ला सञ्चारविहीन हुने गर्छ । नेपाल टेलिकमको जिल्लाका मुख्य रिपिटर टावर रहेको बालशिखरमा मौसममा समस्या आएपछि रातिको समयमा नेटवर्क जाने दूरसञ्चार कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका अन्य टावरहरूमा विद्युत्को समस्याले नेटवर्कविहीन हुनु परे पनि बालशिखर टावरमा सोलार र बिजुलीको ऊर्जा जडान भएपछि कहिलेकाहीं समस्या आउने गरेको दूरसञ्चार कार्यालयका कर्मचारी बताउँछन् ।

जिल्लाका अधिकांश ठाउँहरूमा नेपाल टेलिकमका टावरहरू सोलार प्यानलबाट सञ्चालनमा छन् । सोलार प्रणालीबाट सञ्चार सेवा सञ्चालन गरिएको हुनाले मौसममा बदली आउने बित्तिकै जिल्लाको सञ्चार सेवा प्रभावित हुने गरेको दूरसञ्चार कार्यालयका दार्चुलाका जमनसिंह बडालले बताए । जिल्लाका अधिकांश टेलिफोन टावरमा सोलार प्रणालीबाट नै सञ्चालनमा ल्याइएका हुनाले रातिको समयमा जिल्लाका धेरै बस्तीहरूमा सम्पर्क हुँदैन । जिल्लाका अपिहिमाल, मार्मा, लेकम, दुहु, नौगाड र व्यास गाउँपालिकाका धेरैजसो बस्तीहरू घाम परेपछि मात्र सञ्चार सम्पर्क गर्न सकिन्छ । ‘दुर्गम बस्तीहरूको सञ्चार सेवा घामको भरमा चलेको छ,’ नौगाड गाउँपालिका–१ इयरकोटका नन्दनबहादुर बमले भने, ‘रातिको समय सञ्चारविहीन हुनुपर्ने अवस्था छ ।’

मार्मा गाउँपालिकाका अधिकांश बस्तीहरूमा बिहान १० बजेपछि मात्र फोनको टावर आउँछ । स्थानीय दिपेन्द्र बिष्टका अनुसार गाउँमा बिहान ८ बजे घाम लाग्ने भए पनि टावर भएको ठाउँमा ढिलो घाम लाग्दा १० बजेसम्म गाउँ नै सम्पर्कविहीन हुने गर्छ । मौसममा बदली भए त घाम नलागेसम्म कुरा गर्न सकिँदैन ।

त्यस्तै, अपिहिमाल गाउँपालिकामा रातिको समयमा मोबाइल नेटवर्क नहुँदा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन । सौर्य ऊर्जाको भरमा सञ्चालित खण्डेश्वरीस्थित नेपाल टेलिकमको टावरले घाम नलागेको दिन दिउँसोसमेत प्रभावकारी ढंगले काम गर्दैन । दिनभरि घाम लागे पनि राति १०–११ बजेसम्म मात्रै फोनमा सम्पर्क गर्न सकिने त्यसपछि सञ्चारविहीन भइने खण्डेश्वरीका स्थानीय राईकिशन रोकायाले बताए । मोबाइलमा राति गएको टावर बिहान घाम लागेपछि मात्रै आउँछ । हिउँदे सिजनमा मौसममा लामो बदली भए एक हप्ताभन्दा बढी समयसम्म गाउँहरू सम्पर्कविहीन हुने गरेका छन् ।

प्रकाशित : माघ ७, २०७८ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?