कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफन्तले बुझेनन् शव

बैतडी — बीभत्स तरिकाले हत्या गरेर पुरेको अवस्थामा बुधबार राति शव फेला परेको सूर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीका आफन्तले अझै शव बुझेका छैनन् ।

हत्यामा संलग्न अन्यको पनि खोजी गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनले राखेका छन् । डम्मरको शव पोस्टमार्टमपछि जिल्ला अस्पातलमै छ ।

हत्याका संलग्न आरोपमा मृतकका छिमेकी हरिश अवस्थीलाई पक्राउ गरेको छ । मृतकका आफन्तहरूले घटनामा अन्य पनि संलग्न रहेको आशंका गर्दै सबै पक्राउ नपरेसम्म शव नउठाउने चेतावनी दिएका छन् । डम्मर नेत्रविक्रम चन्द समूहका सदस्यसमेत हुन् । मंसिर १४ गते साँझ घरबाटै हराएका सूर्नया गाउँपालिका–६ खर्काधारका डम्मरको शव घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा बुधबार भेटिएको थियो । हत्या घटनापछि स्थानीय त्रसित छन् । बीभत्स तरिकाले भाइको हत्या भएपछि आफूहरूले असुरक्षित महसुस गरिरहेको मृतकका दाजु तीर्थराज अवस्थीले बताए । ‘भाइलाई त गुमाए । परिवारसँगै आफ्नो ज्यान खतरामा रहेको महसुस गरिरहेको छु,’ उनले भने ।

भाइको हत्यामा अरू पनि मिलेको हुन सक्ने भन्दै सबैको खोजी गरी सजाय दिनुपर्ने उनले बताए । नाताले भतिजा पर्ने हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षकसमेत रहेका हरिशले डम्मरको हत्या गरेको खुलेको छ । उनीहरूको घर १५ मिनेटको फरकमा छ । हरिशले पुस २२ गते आफूलाई विप्लव समूहका कार्यकर्ताले अपहरण गरेर बाँके जिल्लाको एक गाउमा पुर्‍याएको भन्दै फेसबुकमा स्टाटस राखेका थिए । लगत्तै प्रहरीले खोज्दा उनी भिजेको अवस्थामा फेला परेका थिए । उनले फेसबुकमा मृतक डम्मरका दाजु तीर्थराज र अर्का एक स्थानीय कार्यकर्ताले आफूलाई अपहरण गर्न लगाएको आरोप लगाएका थिए ।

प्रहरीमा सोधपुछका क्रममा ‘अपहरण’ झूटो भएको र आफूले डम्मरको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । मंसिर १४ गते राति नै डम्मरको हत्या गरी शव गाडेको ठाउँ खुलाएपछि प्रहरी गएर उत्खनन गरेको हो । मृतकका आफन्तले पुस १ गते डम्मरको हुलियासहित खोजीका लागि निवेदन दिएका थिए । ‘२/४ दिन कल डिटेल माग गर्न समय लाग्यो । हरिशसँगै मृतकको अन्तिम कल भेटिएपछि अनुसन्धान उसैतिर सोझियो,’ प्रहरी निरीक्षक ओझाले भने, ‘निगरानीमै रहेको बेला अपहरणको नाटक पनि गर्‍यो । फेरि बोलाएर सोधपुछ गर्दा शव गाडेको कुरा खुल्यो ।’

प्रकाशित : माघ २, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?