कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मझगाउँ विमानस्थल स्तरोन्नति सुरु

तीन वर्षभित्र काम सक्ने गरी ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार विमानस्थल स्तरोन्नतिको शिलान्यास गरे ।

मझगाउँ विमानस्थल स्तरोन्नति सुरु

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साँझेदारीमा विमानस्थलको स्तरोन्नति गरिन लागेको छ । रन वेसहित पार्किङ एरिया र ट्याक्सी वे निर्माणका लागि कान्छाराम/केएस/उमा एन्ड कम्पनी जेभीका नाममा ४५ करोड ६६ लाखमा तीन वर्षभित्र काम सक्ने गरिन ठेक्का सम्झौता भएको छ ।

जसमध्ये दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत र संघीय सरकारले ५० प्रतिशत बजेट उपलब्ध गराउनुपर्ने त्रिपक्षीय साँझेदारी भएको हो । सोहीअनुसार भीमदत्त र दोधारा चाँदनी नगरपालिका तथा सुदूरपश्चिम प्रदेश सरकारले १२ करोड रकम नागरिक उड्डयन प्राधिकरणलाई बुझाइसकेका छन् ।

६६ बिघा जमिन रहेको विमानस्थलको लम्बाइ १६ सय ६५ मिटर छ । अहिले १५ सय २५ मिटरमा रन वेको निर्माण गरिन लागेको हो । थप ८ बिघा जमिन अधिग्रहण गरेर २४१ मिटर लम्बाइ बढाउन सकिने विभानस्थल सञ्चालनका लागि गठित सहयोग समितिका संयोजक रमेश चन्दले बताए । विमानस्थल सञ्चालनका लागि उक्त समितिले तीन वर्षदेखि नियमित रूपमा दबाबमूलक कार्यक्रमहरू गर्दै आएको थियो ।

‘विमानस्थल स्तरोन्नतिका लागि थप कामहरू पनि तत्काल सुरु गरिनेछ,’ शिलान्यास कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले भने, ‘यसको रन वे २२ सय मिटर पुर्‍याउने गरी काम अगाडि बढ्नेछ ।’ उनले विमानस्थलसम्मको चार लेनको पहुँच मार्ग निर्माणका लागि पनि प्राधिकरणलाई आवश्यक निर्देशन दिएको बताए ।

मन्त्री आलेले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउनसमेत विमानस्थल अत्यावश्यक रहेको औंल्याए । निकुञ्जको प्रमुख आकर्षण बाह्रसिंगा, पाटे बाघ, हात्ती र गैंडा लगायत वनयजन्तु हेर्न ठुलो संख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताए । ‘महाकाली करिडोर निर्माणाधीन अवस्थामा छ, यसका लागि समेत विमानस्थलको महत्त्व अझ बढेको छ,’ उनले भने, ‘महाकाली करिडोरबाटै पर्यटकहरूलाई कैलाश मानसरोवरसम्म पुर्‍याउन सकिन्छ ।’

२०३० देखि हवाई सेवा सुरु भएको यो विमानस्थल सशस्त्र द्वन्द्वका बेला २०५६ मा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । बन्द भएको २२ वर्षपछि स्तरोन्नतिको काम सुरु हुँदा स्थानीय निकै हर्षित भएका छन् । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका बेला विमानस्थल सञ्चालनको मुद्दा प्रमुख चुनावी एजेन्डा बनेको थियो । सोहीअनुसार जनप्रतिनिधिहरूले समेत यसका लागि विभिन्न माध्यमबाट पहल गर्दै आएका थिए ।

पहिलो चरणमा रनवे सुधारसँगै पार्किङ र ट्याक्सी वेको काम गरिनेछ । दोस्रो चरणमा टर्मिनल भवन, कन्ट्रोल टावर र सुरक्षा भवन लगायतका अन्य पूर्वाधार निर्माणको काम सुरु गरिने नागरिक उड्डयन प्राधिकरणका निर्देशकसमेत रहेका इन्जिनियरिङ विभाग प्रमुख मुरारी भण्डारीले बताए । ‘यसका लागि पनि प्राधिकरणले छिट्टै प्रक्रिया अगाडि बढाउनेछ,’ उनले भने, ‘अहिले डिजाइन निर्माणदेखि लागत इस्टमेट आदीको काम भइरहेको छ ।’ उक्त काम पनि त्रिपक्षीय साझेदारीमा निर्माण हुनेछ । विभानस्थल निर्माणका लागि १ अर्ब बढी बजेट लाग्ने अनुमान गरिएको भण्डारीले बताए ।

१५ सय २५ मिटर रनवे निर्माणका लागि थप जमिन अधिग्रहण गर्नुपर्ने आवश्यक नरहेको भण्डारीले बताए । तर रनवे बढाउन भने थप ५ बिघा जमिन अधिग्रहण गर्नुपर्ने देखिएको उनले बताए । विमानस्थल वरपर रहेका ठूला रूखहरू हटाउने र ठूला भवनहरू निर्माण हुन नदिनेतर्फ पनि स्थानीय तहले पहल गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेयले बताए । ‘भौतिक संरचना निर्माणले मात्रै हवाईजहाज चलाउन सकिँदैन, यसका लागि आकाश पनि सफा रहनुपर्छ,’ उनले भने, ‘विमास्थल वरपर रहेका अग्ला रूखहरू हटाउनेदेखि नयाँ अग्ला भवन निर्माणमा समेत रोक लगाइनुपर्छ ।’

निर्माण कम्पनी कान्छाराम/केएस/उमा एण्ड कम्पनी जेभीका प्रतिनिधि पदम बहादुर गुरुङले सुरुमा विमास्थलको सरसफाइदेखि एरिया छुट्याउनेलगायतको काम गर्ने बताए । माघ पहिलो सातादेखि अन्य निर्माण कार्य सुरु हुने उनको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?