कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कर्णालीमा पर्यटक भित्र्याउन सडक बाधक  

कालीकोट — सरकारले घोषणा गरेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन जीर्ण सडक बाधक बनेको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षअघि रारालाई मुल गन्तव्य बनाउँदै आन्तरिक र बाह्य गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेपनि कर्णाली राजमार्गको स्तरोन्नतिमा ढिलाई हुँदा लक्ष्य पूरा हुने अवस्था छैन ।

कर्णालीमा पर्यटक भित्र्याउन सडक बाधक  

'लक्ष्य मात्र सार्वजनिक भयो,' प्रदेश सभा सदस्य दक्षिणा शाहीले कान्तिपुरसँग भनिन्, 'सडकको स्तरोन्नतिमा ध्यान पुगेन ।' कोभिडमा थला परेको कर्णालीको पर्यटन क्षेत्र अझै लयमा फर्किन नसकेको मान्म कालीकोटका व्यवसायी जनकबहादुर शाहीले बताए ।

'कोभिड महामारी, जीर्ण सडकसहितका कमजोर भौतिक पूर्वाधारले पर्यटकलाई आर्कषित गर्न सकेको छैन,' उनले भने, 'आर्थिक मन्दीले पनि पर्यटन क्षेत्रमा संकट ल्याएको छ ।' उनले रारा जाने पर्यटकलाई लक्षित गरेर सुर्खेत, कालीकोट र जुम्लामा केही नयाँ होटल संचालनमा आए पनि ब्यापार हुन नसकेको बताए ।

०७९ मा कर्णाली राजमार्गको सयौँ ठाउँँमा गएको पहिरो, आर्थिक मन्दीलगायतका कारण रारा आउने पर्यटकको संख्यामा कमी आएको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए । 'पहिले त सिजनमा दैनिक तीन/चार सय आन्तरिक पर्यटक कालीकोटको बाटो हुँदै रारा जान आउँथे,' उनले भने, 'अचेल सिजन सुरु भइसक्दा पनि फाट्टफुट्ट मात्रै आन्तरिक पर्यटक देखिन्छन् ।' उनकाअनुसार घुमौँ देश अभियान सफल पार्न व्यवसायीले पनि आउने पर्यटकलाई सुविधा दिनुपर्ने बताए ।

साँघुरो र अप्ठेरो कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्डमा विश्व बैंकको सहयोगमा ७ वर्षअघि ओटासिल प्रविधिको पिच गरिए पनि सबैजसो ठाउँँमा पिच उप्किएर घाम लाग्दा धूलो र पानी पर्दा हिलो हुने गरेको छ । कर्णाली जाने बाटो नै गतिलो नभएकाले घुम्न आउने प्राय सबैजसो पर्यटकको गुनासो हुने गरेको छ । रारा जाने बाह्य पर्यटक हवाइ यात्राबाट ताल्चा विमानस्थल हुँदै आउजाउ गर्ने भएपनि आन्तरिक पर्यटक भने स्थलमार्ग हुँदै आउने गर्छन् ।

कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटन प्रर्वद्धन दुई वर्षअघि बैशाखदेखि चैत्रसम्म एक वर्ष भित्र १० लाख पर्यटक रारा पुर्‍याउने महत्वाकांक्षी लक्ष्य राखे पनि हालसम्म दुई लाखको वरिपरि मात्रैमा यो संख्या सीमित छ । 'अहिलेकै गतिमा रारा घुम्नेको संख्या रहने हो भने ५ वर्षमा पनि पहिलो वर्ष राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने देखिदैन,' मुगुका व्यवसायी राजु कार्कीले निराशा पोखे, 'सरकारले लक्ष्यसँग लगानी पनि गर्नुपर्ने अवस्था छ ।'

कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडकको सुर्खेत, दैलेख, कालीकोट र जुम्ला खण्ड सबैतिर पिच उप्किएको छ । अधिकांश ठाउँमा त पिच गरेको अनुमान नै नहुने गरी सडक धुलाम्मे र हिलाम्मे भएको रारा कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष हस्तबहादुर बमले बताए । 'कर्णाली राजमार्गको हालत जीर्ण छ,' उनले भने, 'दैलेख र कालीकोट खण्डका पक्की पुल बने पनि सडक अप्ठेरो छ ।' उनले कर्णाली राजमार्गको डिलमा दुर्घटना रोक्न लगाइएका सेफ्टी वार पनि धेरैजसो ठाउँमा भाँचिएको सुनाए ।

सडक जीर्ण हुँदा नेपालगञ्जबाट जुम्ला एकै दिनमा यात्रुबाहक बस पुग्न पनि कठिनाई भएको चालक डम्बर विसीले बताए । 'सडकको विजोग छ,' उनले भने, 'स्पीडमा हुइकाउ भने भीरमा जाला भन्ने पिर, नहुइकाउँदा नपुगिने खतरा ।' उनले बाटोको अवस्था खराब भएकाले मुगुको रारा जाने यात्रुहरु बस चढ्न डराउने गरेको पनि सुनाए ।

६ वर्षअघि कर्णालीको रारामा पुगेर बैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली समृद्धिका लागि पर्यटन प्रमुख आधार भएको घोषणा गर्दै रारा पर्यटन महोत्सवको शुभारम्भ गरे पनि सडक निर्माण र मर्मत सम्भारमा कुनै सुधार नआएको कांग्रेस मुगुका पार्टी सचिव मञ्जन कार्कीले बताए ।

कर्णाली आउने बाह्य पर्यटक ५ प्रतिशत मात्र रहेपनि मुख्य रारालाई लक्षित गरेर नेपाल भित्रैबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

साँघुरो र जीर्ण सडक, खोलाका अधुरा पुल र अत्याधिक मोड भएको कर्णाली राजमार्गबाट रारामा १० लाख पर्यटक पुर्‍याउन निकै कठिन छ । कर्णालीको पर्यटन, जलविद्युत र जडिबुटी मुख्य स्रोत भए पनि अन्य क्षेत्रमा बढी लगानी जुटाउन पर्ने अबस्थाका कारण सहज मानिएको पर्यटन क्षेत्रलाई पहिलो आधार मान्दै प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर काम थालेको छ । पर्यटन क्षेत्रमा पनि न्यूनतम पूर्वाधारको कमी छ ।

ट्रयाक खुलेर संचालनमा आए यता पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिड्कीज्यूला ०६६ मा ओटासिल कालोपत्रे सकिएको र खिड्कीज्यूलादेखि जुम्लासम्म ०७० मा कालोपत्रे सकिए पनि अचेल ९० प्रतिशत कालोपत्रे उप्किएर घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ ।

सुर्खेतदेखि जुम्लासम्म कालो पत्रे गर्न मात्र डेढ अर्ब खर्च भइसकेको भए पनि गुणस्तर कमजोर हुँदा अत्याधिक दुर्घटना पनि यहीकै सडकमा हुने गरेको स्थानीयको गुनासो छ । यही जीर्ण सडकबाट कर्णाली राजमार्ग हुँदै १० लाख आन्तरिक र बाह्रय पर्यटक रारा पुर्‍याउने प्रदेश सरकारको योजना पूरा हुनेमा नागरिक समाजका अगुवा दमनराज बम पनि विश्वस्त छैनन् ।

पर्यटकलाई आर्कषित गर्न खाने बस्ने होटल, सडक पहुँच भएका केही गाउँमा होम स्टेको ब्यवस्थापन, जुम्ला र मुगुको ताल्चा विमानस्थलबाट हुने उडानमा बृद्धि गर्ने, पर्यटकमैत्री ब्यवहार र वातावरण तथा सुरक्षा ब्यवस्थाको सुनिश्चितता लगायतका काम गर्न बाँकी रहेको कर्णाली पर्यटन वोर्डका पूर्व सदस्य चित्रसिंह गाउँलेले बताए ।

वैशाख १ गते आरम्भ भएको रारा-कर्णाली पर्यटन वर्षको सुरुको अवधिमा उत्साह भएपनि त्यस यता व्यवसायी, स्थानीयमा पनि उत्साह नभएको जुम्ला सिंजाका भरत आचार्यले बताए । कर्णालीको समृद्धिका लागि पर्यटक प्रमुख सम्भावना ठहर गर्दै प्रदेश सरकारले बैशाख १ गते मुगुको रारा, कालिकोटको पचालझरना, हुम्लाको हिल्सा र डोल्पाको शेफोक्सुण्डोमा एकै साथ पर्यटक वर्ष सुभारम्भ भएको घोषणा गरिएको थियो ।

६ वर्षअघि रारा कर्णाली पर्यटन महोत्सवको उद्घाटन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीलाई गरिब, अभावग्रस्त, रोगी बस्ने क्षेत्रको परिभाषा बदलेर समृद्ध क्षेत्रको अध्ययन गर्न आउने प्रदेश बनाउन सरकारले काम गर्ने बाचा गरेका थिए । तर त्यसका लागि आवश्यक पर्ने पहिलो सर्त सडक नै अहिलेसम्म भरपर्दो बन्न सकेको छैन । सडक निर्णाणमा सरकारी लगानी न्यून हुँदै आएको छ ।

प्रकाशित : वैशाख ३, २०८१ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?