कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सडक अलपत्र पार्ने ठेकेदारको धरौटी जफत

तृप्ति शाही

वीरेन्द्रनगर — निर्माणको जिम्मा लिएको सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत गरिएको छ । सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार पुग्ने मंगलगढी - काँक्रेविहार सडक वर्षौंदेखि अलपत्र पारेको भन्दै पूर्वाधार विकास निर्देशनालयले अमर-सिस्ने नेपाल-मेघा कम्पनीको धरौटी रकम जफत गरेको हो । 

सडक अलपत्र पार्ने ठेकेदारको धरौटी जफत

निर्देशनालयका सूचना अधिकारी हरिशर्मा धितालले समयमै काम नगरेका कारण सो निर्माण कम्पनीको धरौटी रकम जफत गरिएको बताए । कम्पनीको ८७ लाख रकम जफत भएको छ । धेरै पटक ताकेदा गर्दा पनि काम नगरेपछि कम्पनीले जम्मा गरेको धरौटी रकम जफत गरिएको हो ।

सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मंगलगढी चोकदेखि लाटीकोइलीको शिवमन्दिसम्मको सडक अलपत्र पर्दा नागरिकले सास्ती बेहोर्नुपरेको छ । सडक विस्तारको काममा ढिलाइ भएको भन्दै स्थानीयले पटक-पटक संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

यो सडकको काम यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर अघि बढाएका थिए । तर अहिले निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको हो । पछिल्लो पटक २०७८ मा पुनः सम्झौता गरिएको थियो ।

कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ मंसिर मा अमर–सिस्ने नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको थियो ।

२०८० साल असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको थियो । तर यसपटक थपिएको म्याद समेत गुज्रिन थालिसकेको छ । सो कम्पनीले १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

२ हजार ४ सय मिटर सडकको काम अहिलेसम्म ४३ प्रतिशत मात्र सकिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार कम्पनीले हालसम्म २ करोड ७७ लाख रूपैयाँ भुक्तानी लिएको छ ।

प्रकाशित : माघ २८, २०८० १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×