कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

बढ्दै कुपोषित बालबालिका

हरिहरसिंह राठौर

जाजरकोट — जन्मिँदै कुपोषण भएका भेरी नगरपालिका–३ का तीन वर्षीय एक बालक राम्रोसँग बोल्न पनि सक्दैनन् । तौल पनि उमेरअनुसार छैन । जिल्ला अस्पतालका चिकित्सकहरूका अनुसार उनको उमेर सामान्यतया १४ किलोसम्म हुनुपर्ने हो । तर उनको तौल मुस्किलले ७ किलो मात्रै छ । 

बढ्दै कुपोषित बालबालिका

छेडागाड नगरपालिका–१२ पोखरागाउँकी १८ वर्षीया एक किशोरीले साउन ५ मा पहिलो बच्चालाई जन्म दिइन् । जन्मेकै दिन नवजात शिशुको मृत्यु भयो । शिशुको तौल १ हजार ३ सय ग्राम मात्रै थियो । कम तौल भएका कारण नवजात शिशु बाँच्न नसकेको कार्कीगाउँ स्वास्थ्यचौकीले जनाएको छ । ‘आमा पनि कुपोषित भएका कारण बच्चा जन्मजात कुपोषित नै थियो,’ स्वास्थ्यचौकीकी सिनियर अनमी जुना शाहीले भनिन्, ‘यस्तो समस्या गाउँभरि नै छ, सबैले सामान्यभन्दा कम तौलको बच्चा जन्माउँछन्, जसलाई बचाउनै मुस्किल छ ।’

विभिन्न तथ्यांकले जाजरकोटमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको देखाएको छ । गरिबीका कारण खानपिन र चेतनाको अभावमा पोसिलो खानेकुरा नपाउँदा गभावस्थामै कुपोषण हुने र त्यसका कारण कम तौल, पुड्कोपनालगायत समस्या देखिने गरेको सिनियर अनमी शाहीले बताइन् । स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा एक वर्षमुनिका ४ हजार ७ सय ७४, २ वर्ष उमेर समूहका ९ हजार ५ सय २५ र ५ वर्षमुनिका २३ हजार ७ सय २४ बालबालिका छन् । दुई वर्षभित्रमा बालबालिकाको २४ पटकसम्म तौल लिनुपर्ने स्वास्थ्य मापदण्ड छ ।

स्थानीय बालबालिकाको बढीमा ३ पटक मात्र तौल लिने गरिएको उनले बताइन् । उनका अनुसार स्वास्थ्य संस्था टाढा र यातायात अभावका कारण तोकिएको समय र संख्यामा तौल लिन आमाहरू कठिनाइ मान्छन् । ‘पर्याप्त तौल मापनको काम तथा जाँचको अभावमा परिवारका सदस्यले आफ्ना बालबालिका कुपोषित भएको थाहै पाउँदैनन्,’ उनले भनिन्, ‘उपचार गराउन पनि अवस्था गम्भीर भएपछि ल्याउने गरेका छन् ।’

जाजरकोटमा गत आर्थिक वर्षमा ६ सय ५९ कुपोषित बालबालिकाले शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रममा भर्ना भएर उपचार लिएका थिए । चालु आर्थिक वर्षमा साउनदेखि पुससम्म मध्यम खालको कुपोषणका १ सय ५२ र कडा कुपोषणका ८४ गरी २ सय ३६ बालबालिकाले उपचार गराइरहेका छन् ।

जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नयाँ तौल लिएका २ वर्षसम्मका ९ हजार १ सय २५ बालबालिकामध्ये ९ सय २१ जना पोषणको दृष्टिकोणले जोखिम तथा अति जोखिम अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । जिल्ला अस्पतालका अधिकृत गंगा रेग्मीले स्वास्थ्य संस्थामा आएकाको मात्र यो तथ्यांक भएको बताइन् । ‘बाहिर उपचार गराउन गएका र स्वास्थ्यचौकीमा नआएको त तथ्यांक नै हुँदैन,’ उनले भनिन्, ‘यो संख्या ग्रामीण क्षेत्रमा गए अझै बढ्ने देखिन्छ ।’

जिल्ला अस्पतालका डा. औसरसिंह राठौरले कुपोषित बालबालिकाहरूको शारीरिक र मानसिक विकासमा बाधा पुगेको बताए । अस्पतालका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २७, २०७७/७८ मा ३२ र २०७८/७९ मा १८ गरी ७७ नवजात शिशुको कुपोषणकै समस्याले मृत्यु भएको तथ्यांक छ । सोही अवधिमा सुत्केरी हुन नसकेर ८ गर्भवतीको ज्यान गएको थियो । चालु आवमा ५ शिशुले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : चैत्र २५, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?