कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

हराए कोल, लोप हुँदै स्थानीय तेल

राजबहादुर शाही

मुगु — तराई र सहरी क्षेत्रबाट खाने तेल आउन थालेपपछि जिल्लामा स्थानीय जातको तेल लोप हुँदै गएको छ । सडक सुविधा पुगेसँगै सुर्खेत, नेपालगन्ज, बर्दियालगायत ठाउँबाट खाने तेल जिल्लामा आइरहेको हो । एक दशकअघिसम्म स्थानीयले आरु, चुली, तोरी, कपास, डटेलो, ओखरलगायतको तेल उत्पादन गरी उपभोग गर्दै आइरहेका थिए । बजारिया तेल आउन थालेपछि तेल पेल्ने कोल र काठको दुना पनि गाउँमा देख्न मुस्किल भएको छ ।

अहिले दुर्गम गाउँमा समेत बाहिरबाट आएको भटमास, तोरी, सूर्यमुखीलगायतको तयारी तेल प्रयोग हुन थालेको छ । सोरु गाउँपालिका–४ की मागी शाहीका अनुसार दशक अघिसम्म ग्रामीण क्षेत्रमा कोलबाट तेल, जुस तथा अन्य सामग्री उत्पादन गरिन्थ्यो । आधुनिक प्रविधि र यातायातको विकाससँगै कोल लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘चिउरी तथा तोरीबाट तेल निकाल्न अहिले ग्रामीण क्षेत्रमा समेत आधुनिक मिल जडान गरिएका छन्,’ उनले भनिन्, ‘आधुनिक मिलका कारण गाउँमा दर्जनौं काठका कोल बेवारिसे अवस्थामा छन् ।’ काठे कोलमा तेल पेल्न धेरै जनशक्ति चाहिने र कम तेल उत्पादन हुने गरेकाले लोप हुँदै गएको उनले बताइन् । दशक अघिसम्म आफै तेल उत्पादन गरी उपभोग गर्ने गरेकोमा अहिले बाहिरको तेलमा निर्भर हुनुपरेको स्थानीय पदम शाहीले बताए ।

‘असोज–कात्तिकमा ओखर, चुली, आरु संकलन गर्ने र खेतीपातीको काम सकेर पुस माघमा महिलाले बियाँ निकालेर काठको कोल (दुनेडी) मा तेल पेल्ने गर्थे,’ उनले भने, ‘त्यसबेला माटोका घैँटोमा राखेर वर्षभरि तेल उपभोग गरिन्थ्यो, अहिले त पोकाकै तेलको भर छ ।’ उनका अनुसार आरु र चुलीभन्दा ओखरबाट तेल निकाल्न गाह्रो हुन्थ्यो । ‘ओखरलाई भाँडोमा एक घण्टा पकाउनुपर्थ्यो,’ उनले भने, ‘पानीमा पाकेको ओखरलाई फुटाएर गुदी निकालेर बल्ल कोलमा तेल पेलिन्थ्यो ।’

पहिले तेलकै लागि स्थानीयले खेतबारीमा ओखर, चुली, आरुलगायत फलफूल प्रशस्त लगाइन्थ्यो । तेल उत्पादन गर्न छाडेपछि ती फलफूलका बोट देख्न पनि गाह्रो हुन थालेको स्थानीय वीरबहादुर भामले बताए । उनका अनुसार चैतमा पाखोबारीमा घरेलु कपास रोप्ने र असोज कात्तिकमा कपासको फूल टिपेर स्थानीय प्रविधिमार्फत उन र बियाँको तेल निकाल्ने गरिन्थ्यो ।

प्रकाशित : फाल्गुन ५, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×