कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

मुगुको छायानाथरारामा अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

मुगु — छायानाथरारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनबापत १ लाख पुरस्कार दिने निर्णय गरेको छ । नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकले जातीय विभेद कम गर्न यो निर्णय गरेको हो ।

मुगुको छायानाथरारामा अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

कार्यपालिका बैठकले दलित हकअधिकारका लागि नीति–२०७९ पारित गर्दै उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरे प्रोत्साहनस्वरूप पुरस्कार दिने घोषणा गरेको हो । जातीय विभेद अन्त्य गरी पिछडिएका दलित वर्गको हकअधिकार सुनिश्चित गर्न नीति पारित गरिएको नगरप्रमुख विष्णुकुमार भामले बताए ।

‘यसले उमेर पुगेर मात्र विवाह गर्न र अन्तरजातीय विवाह गर्न प्रोत्साहित गरेको छ,’ उनले भने, ‘हामीले जातीय समानता ल्याउन पनि यो निर्णय गरेका हौं ।’ नगरप्रमुख भामले नगरपालिकामा बसोबास गर्ने करिब १३ सय दलित घरधुरीलाई आयआर्जन तथा सीपमूलक तालिम सञ्चालनका लागि नगरले विभिन्न एक दर्जन योजना पनि अघि सारेको बताए । ‘अन्तरजातीय विवाह गरेकै आधारमा युवायुवती घरपरिवारबाट विस्थापित हुनुपरेको छ,’ उनले भने, ‘उनीहरू सामाजिक रूपमा अझै अपमान सहन बाध्य छन्, यो अवस्थाको अन्त्य गर्न पनि प्रोत्साहनको कार्यक्रम अघि सारिएको हो ।’

नगरले पारित गरेको निर्णय स्वागतयोग्य भएको दलित अधिकारकर्मीको भनाइ छ । यो निर्णय कागजमा मात्र नभएर व्यवहारमा लागू गर्न जरुरी रहेको अधिकारकर्मी जर्मन नेपालीले बताए । उनका अनुसार जिल्लामा झन्डै ५ प्रतिशत अन्तरजातीय विवाह हुने गरेको छ । ‘यो निर्णयले जातीय सद्भाव कायम गर्नेछ भने अन्तरजातीय विवाह गर्नेलाई जीविकोपार्जनमा सानै भए पनि सहयोग गर्नेछ,’ उनले भने, ‘आपसी सहअस्तित्व र सम्मान पनि बढाएको छ ।’

१२ औं विधेयक नगरसभाबाट ११ वटा ऐन तथा कार्यविधि पनि पारित गरिएको नगरपालिकाले जनाएको छ । पालिकाले आपत्कालीन विपत् व्यवस्थापन, स्थानीय विपत् न्यूनीकरण, जलवायु उत्थानशील, खानेपानी तथा सरसफाइ, व्यवसाय दर्ता, नगर बस सञ्चालन ऐन र कार्यविधि पारित गरेको हो ।

प्रकाशित : माघ ८, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?