कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा बेथिति : सडक सफाइमै करोडौं स्वाहा

ज्योति कटुवाल

(दैलेख) — २०६५ सालमा ट्र्याक खोलिएको लोहोरे–लामतडा हुँदै टाटामाखु–विन्दावासिनी सडकमा सडक डिभिजन कार्यालयले यस वर्ष २ करोड रुपैयाँ छुट्याएको छ । सोही सडकमै नारायण नगरपालिकाले बर्सेनि मर्मतका नाममा रकम खर्चिदै आइरहेको थियो । ट्र्याक खुलेयता करिब ५ करोड रुपैयाँ सकिए पनि सडकको अवस्था भने उस्तै छ ।

स्थानीय तहमा बेथिति : सडक सफाइमै करोडौं स्वाहा

जिल्लाका स्थानीय तहमा सडकमा जथाभावी रकम छुट्याउने क्रम जारी छ । अधिकांश स्थानीय तहले नयाँ सडक निर्माण र मर्मतलाई प्राथमिकता दिँदै आएका छन् । गत वर्ष जिल्लाका ९० वडामा ९८ वटा डोजरमार्फत सडक निर्माण र मर्मतको काम गरिएको थियो । सडक निर्माणको काम डोजरमार्फत हुन्छ । अधिकांश डोजर जनप्रतिनिधि र उनीहरूका आफन्तका नाममा छन् । जिल्ला समन्वय समितिका अनुसार यस वर्ष जिल्लामा तीनै तहका सरकारमार्फत सडक स्तरोन्नतिका नाममा करिब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । नारायण नगरपालिकामा यस वर्ष सडक मर्मतका लागि नगरले २ करोड, प्रदेश सरकारले २ करोड र स्थानीय पूर्वाधार विकास कार्यक्रमले ६ करोड रुपैयाँ विनियोजन गरेका छन् ।


नगरपालिकाले मर्मतको नाममा बर्सेनि असार मसान्तको बेला १ करोड बजेट एकै दिनमा सकिने गरेको वडा १० का स्थानीय वीरबहादुर चन्दले आरोप लगाए । ‘डोजर आतंकले जग्गा–जमिन र वनजंगल सखाप बनाइसक्यो,’ उनले भने, ‘जनप्रतिनिधि आएपछि स्थानीय बासिन्दा बेरोजगार बन्यौं, डोजरले १ महिनामा लगानी उठाउन थाल्यो ।’ उनले एक सिजनमा मात्र चल्ने सडकमा मर्मतका नाममा सधैं लाखौं रकम दुरुपयोग भइरहेको गुनासो गरे ।


केही सडकमा प्रदेशका मन्त्रालय, सडक डिभिजन र स्थानीय सरकारले मर्मतकै नाममा बजेट विनियोजन गर्दा डुब्लिकेसन बढिरहेको उनी बताउँछन् । चालु आवमा नारायण नगरपालिकामा सडकमा मात्र १० करोड रकम छ । नगरपालिकाले चालु आवमा ५५ सडकका योजना छनोट गरेको इन्जिनियर हिक्मत रोकाय बताउँछन् । उनका अनुसार गत वर्ष साढे ३ करोड रुपैयाँ खर्चिएर सडक मर्मत गरिएको थियो । अधिकांश बजेट सडक स्तरोन्नतिका नाममा खर्च हुने उनले जानकारी दिए ।


मर्मतमै करोडौं रकम खर्च भए पनि सदरमुकामकै अधिकांश सडकमा मुस्किलले ९ महिना गाडी सञ्चालन हुने स्थानीयको गुनासो छ । भगवतीमाई गाउँपालिकाले चालु आवमा सडकमै ४ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । गाउँपालिकाका अनुसार २३ योजनामा नयाँ ट्र्याक र मर्मत तथा स्तरोन्नतिका काम हुनेछन् । नौमुले गाउँपालिकाले पनि एउटै सडकमा वर्षेनि करिव दुई करोड रुपैयाँ मर्मत र स्तरोन्नतिका नाममा खर्चिरहेको छ ।


स्थानीय तहले गुरुयोजनाबिनै सडक निर्माण र मर्मतका काम गरिरहेका हुन् । ११ स्थानीय तहका ९० वडामा करिव ५ सय सडक निर्माण भइसकेका छन् । अझै पनि जनप्रतिनिधिमा सडकमोह नहराएको स्थानीयको भनाइ छ । ‘अल्पमत र बहुमतको रडाकोले सडकमै धेरै बजेट छुट्याउने प्रतिस्पर्धा जनप्रतिनिधिमा छ,’ स्थानीय कमल केसीले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी, लक्षित वर्गको उत्थानलगायत काममा जनप्रतिनिधिको ध्यानै छैन ।’ उनले कुल पूजाका मन्दिर र डकुमेन्ट्री निर्माणलगायतमा पनि रकम दुरुपयोग बढ्दै गएको जनाए ।


२ वर्षयता सडकमा फजुल लगानी बढिरहेको गुराँस गाउँपालिकाका मायाप्रसाद ओलीले बताए । ‘मुख्य सडकै दुरावस्थाका कारण बर्षेनि दजनौं स्थानीयले ज्यान गुमाइरहेका छन्,’ उनले भने, ‘स्तरोन्नति र कालोपत्रेमा ध्यान दिइँदैन्, मर्मतका नाममा करोडौं रकम सक्ने मात्र काम भइरहेको छ ।’ ३ वर्षयता तीनै तहका सरकारले पर्याप्त अनुगमन र योजना नबनाइ सडकमा रकम खर्चिरहेको उनले आरोप लगाए । सडककै कारण वन विनाश बढिरहेको उनको भनाइ छ । स्थानीय सरकारले फराकिलो सडक र नाली नबनाई एउटै सडकमा सधैं रकम खर्चिरहेको उनले सुनाए । जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले स्थानीय सरकारले स्थानीयको रोजगारी खोसेर डोजरमालिकलाई धनी बनाइरहेको बताए ।


प्रकाशित : मंसिर ३०, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?