कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदुवाले बजार पायो

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका ४ का झुपलाल ओलीले चालु सिजनमा साढे ६ क्विन्टल अदुवा विक्री गरे । उनकै छिमेकी रेशम ओलीले साढे ४ क्विन्टल बिक्री गरिसकेका छन् । 

दुवैले झुल्नेटा बजारमा प्रतिक्विन्टल ४५ सय रुपैयाँका दरले अदुवा बिक्री गरेका हुन् । उनीहरू मात्र होइन, त्रिवेणी गाउँपालिकाका १० वटै वडाका स्थानीयले यो वर्ष अदुवाबाट राम्रो आम्दानी गरेका छन् । चालु सिजनमा झुल्नेटा बजारबाट मात्रै भैरहवा, नेपालगन्ज र सुर्खेतमा गरी ३ सय २३ टन अदुवा बाहिरिएको छ । किसानले नसुकाएकै अदुवा प्रतिक्विन्टल ४५ सय रुपैयाँमा बिक्री गरे । अझै ५१ टन बढी अदुवा बिक्रीको तयारीमा छ ।


त्रिवेणीकै सिम्रुतु बजारबाट पनि केही अदुवा बाहिर गइरहेको छ । त्रिवेणीका ३, ४, ६, ७ नम्बर वडामा धेरै अदुवा उत्पादन हुन्छ । दुई बाली एकै पटक लगाउन सकिने भएकाले किसानले यसको खेती सजिलै गरिरहेका छन् । मकै र अदुवा एउटै बारीमा सँगसँगै उत्पादन भइरहेको किसानको भनाइ छ । चालु सिजनमा अदुवा बिक्री गरेरै त्रिवेणी किसानले १ करोड ४५ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । यो सिजनमा त्रिवेणीबाट मात्रै करिब डेढ करोड रुपैयाँको अदुवा बिक्री भएको व्यापारी डिल्लीबहादुर ओलीले बताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष अदुवाले भाउ पाएको उनी बताउँन् । अघिल्लो वर्ष ४ हजार रुपैयाँ प्रतिक्विन्टल अदुवा बिक्री भएको थियो । गत वर्षको तुलनामा प्रतिक्विन्टल ५ सय रुपैयाँ भाउ बढेको उनले जानकारी दिए । विगत वर्षमा अदुवाले भाउ नपाएपछि किसानले सुठो बनाएर बिक्री गर्दै आइरहेका थिए । २ वर्ष अघिसम्म किसानले प्रतिक्विन्टल १५ सयदेखि २ हजार रुपैयाँमा सुठो बिक्री गर्ने गरेका थिए ।


भारतले अदुवा किन्न छाडेपछि केही समय अदुवा बिक्री हुन रोकिएको थियो । नेपालगन्ज र भैरहवा नाका हुँदै भारत जाने अदुवाबाट किसानले राम्रो मूल्य पाउने गरेका थिए । पछिल्लो पटक सुर्खेतमा अदुवा प्रशोधन उद्योग स्थापना भएपछि उत्पादित अदुवा किसानले थन्क्याउनुपरेको छैन । उत्पादित अदुवा धमाधम बिक्री भइरहेको छ । ‘भारत जानेजति मुल्य नपाए पनि अघिल्ला वर्षको तुलनामा यो वर्ष काचो अदुवाले राम्रो मूल्य पायो,’ किसान झुपलालले ओलीले भने, ‘यो वर्षको मूल्यले हामीलाई अदुवा खेतीका लागि थप हौंस्याएको छ ।’ यसअघिका केही वर्ष अदुवाले मूल्य पाउनुको सट्टा बिक्री नै नहुने भएपछि अदुवा खेती नै छाड्ने मनस्थिति उनले बनाएका थिए ।


त्रिवेणी गाउँपालिका अदुवा पकेट क्षेत्र हो । कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आवबाट अदुवा प्रशोधनका लागि उद्योग स्थापना गर्न रकम विनियोजन गरिरहेको छ । बिक्री नभएको अदुवा गाउँपालिकामै प्रशोधन गर्नेगरी उद्योग स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले बताए । उनका अनुसार गाउँमै मसला उत्पादनका लागि उद्योग स्थापनाको काम भइरहेको हो । जिल्लामा त्रिवेणीसहित मुसीकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिकामा व्यावसायिक अदुवाखेती भइरहेको छ ।


प्रकाशित : मंसिर २८, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?