कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदिराले बढायो अपराध

मुगु — छायानाथ–रारा नगरपालिकामा केही समय निषेध गरिएको मदिरा खुला हुँदा अपराधका घटना बढ्न थालेका छन् । गरपालिकालाई २०७५ मंसिर १ गते मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । गत भदौमा उच्च अदालत सुर्खेत, जुम्ला इजलासले मदिरा निषेध गर्न नपाइने परमादेश जारी गरेपछि पुनः खुला भएको हो ।

जिल्ला प्रहरीका अनुसार मदिरा बिक्री तथा उत्पादन बन्द हुँदा अपराधका घटनामा कमी आएको थियो । मदिरा खुला भएपछि अपराध र झगडाका घटना बढिरहेको प्रहरीको तथ्यांक छ । मदिरा निषेधविरुद्ध स्थानीय लोकेन्द्र थापा, जंगबहादुर शाही, नेता चौलागाईलगायत व्यवसायीले चेम्बर अफ कमर्समार्फत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए ।


अदालतको परमादेशपछि मदिरा खुला हुँदा आपराधिक घटना पनि बढेको प्रहरीको भनाइ छ । चालु आवको ५ महिनामा विभिन्न प्रकृतिका २२ मुद्दा दर्ता भएको जिल्ला प्रहरीले जनाएको छ । कार्यालयको मुद्दा शाखाका अनुसार मदिरा खुला गरिएपछि अभद्र व्यवहारमा २२ मुद्दा दर्ता भएका छन् । त्यस्तै लागूऔषधमा ६, बहुविवाहमा १ र जबजस्ती करणीमा १ मुद्दा दर्ता भएका हुन् ।


ती घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी लालबहादुर ऐरले बताए । हिउँसै मदिरा

सेवन गरी होहल्ला र झै–झगडा गर्ने क्रम बढेपछि नियमित गस्ती बढाइएको उनले बताए । मदिरा निषेध गर्दा सदरमुकामका एक दर्जन बढी व्यापारीले आफूले पाएको अनुमतिपत्र (लाइसेन्स) नगरपालिकामा बुझाएका थिए । लाइसेन्स फिर्ता लिएसँगै बन्द भएका मदिरा पसल धमाधम खुल्न थालेका छन् ।


शान्ति सुरक्षा कायम राख्न मदिरा निषेध गरिए पनि अदालतको परमादेशपछि खुला गरिएको नगर प्रमुख हरिजंग शाहीले बताए । ‘मदिरामा खर्च हुने अनावश्यक रकमको बचत र शान्ति सुरक्षा तथा अमन–चयन कायम होस् भनेर मदिरा बन्द गरिएको हो,’ उनले भने, ‘मुद्दामामिला र झगडा न्यून भएका थिए, तर अदालतको आदेशलाई पालन गर्न मदिरा खुला गर्न बाध्य भयौं ।’ यसअघि मदिरा सेवनकै कारण धेरैले ज्यान गुमाएको र कैयौंको घरबार बिग्रिएको उनको भनाइ छ ।


प्रकाशित : मंसिर २३, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?