कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारलाई कारबाही तयारी

७ वर्षदेखि पुल अलपत्र
कान्तिपुर संवाददाता

रुकुम पश्चिम — रुकुम पश्चिमको चौरजहारी र जाजरकोट सदरमुकाम खलंगा जोड्ने भेरी नदीको पुल निर्माणमा ७ वर्षदेखि लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीलाई कारबाहीको तयारी थालिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाअन्तर्गतको उक्त पुल निर्माणमा बेवास्ता भएको भन्दै वाईपी कन्स्ट्रक्सन, पुल्चोक ललितपुरलाई कारबाहीको तयारी गरिएको हो ।

कम्पनीले ७ वर्षअघि पुल निर्माणको जिम्मा लिएको थियो । आयोजनाका अनुसार कम्पनीले २०६९ असार २५ गते १४ करोड ८४ लाख २७ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको हो । काम सक्नुपर्ने समय सकिएर डेढ वर्ष नाघ्दा पनि निर्माणमा बेवास्ता गरिएको आयोजनाले जनाएको छ ।


कम्पनीलाई सचेत बनाउने र चेतावनी दिनेसम्मको काम गर्दा पनि निर्माण अलपत्र छाडेको भन्दै योजना कार्यालय दैलेखले चेतावनीस्वरुप अन्तिमपटक पत्रिकामार्फत सूचना निकालेको छ । मंसिर २० देखि १५ दिनभित्र कार्यालयमा सम्पर्कमा नआए आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ ।


लामो समयदेखि पुल निर्माण नथालिएको, पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणप्रति बेवास्ता गरेकाले अन्तिमपटकका लागि सूचना प्रकाशन गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाअन्तर्गत योजना कार्यालय दैलेखका प्रमुख नारायणप्रसाद निउरेको भनाइ छ । यसअघि योजना कार्यालयले ७ दिनको म्याद राखेर ठेकेदार कम्पनीलाई सम्पर्कमा आउने पत्राचार गरेको थियो ।


सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम ठेक्का सम्झौता तोड्ने र कालोसूचीमा सिफारिस गर्नेतर्फ कारबाही भइरहेकाले सम्बन्धित कम्पनीलाई सम्पर्कमा आउन भनिएको कार्यालयले जनाएको छ । मंसिर १३ गते लेखिएको पत्रलाई बेवास्ता भएकाले सूचना प्रकाशन गरिएको हो । पुलको निर्माणको काम २५ प्रतिशत मात्रै भएको छ ।


कार्यालयका अनुसार १५ दिनभित्र पनि सम्पर्कमा नआए जमानत जफत गरी ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा राखिनेछ ।

प्रकाशित : मंसिर २३, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

खाली हुँदै गुठीको जग्गा

तत्कालीन माओवादीद्वारा कब्जा गरिएको मुसीकोटस्थित डिग्रे साइकुमारी मन्दिरको जग्गा अदालतको फैसलाले फिर्ता 
कान्तिपुर संवाददाता

रुकुम पूर्व — तत्कालीन माओवादी जनसत्ताले कब्जा गरेको गुठीको ४२ दशमलव २ रोपनी जग्गा खाली हुने भएको छ । सिस्ने गाउँपालिका–८, धपेस्थित उक्त जग्गा लामो समयपछि खाली गर्न लागिएको हो । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ स्थित डिग्रे साइकुमारी मन्दिरको नाममा रहेको उक्त जग्गा सशस्त्र द्वन्द्वका बेलादेखि तत्कालीन माओवादीले कब्जा गरिरहेको थियो ।

त्यही बेला उक्त जग्गा बिक्रीसमेत गरिएको थियो । मन्दिर व्यवस्थापन समितिले मुद्दा जितेर उक्त जग्गा स्वामित्वमा ल्याउन लागेको हो । जग्गामा अर्काको हकभोग रहेको भन्दै जिल्ला अदालतमा समितिले मुद्दा दर्ता गरेको थियो । उक्त जग्गा मन्दिरकै नाममा कायम हुने अदालतले फैसला गरेको छ । फैसलापछि पनि जग्गा स्वामित्वमा आएको थिएन ।

समितिले पटक–पटक जग्गा खरिद गरेका जितबहादुर पुनसित छलफल गर्‍यो । ‘अब लगभग जग्गा हाम्रो स्वामित्वमा आइसक्यो,’ मन्दिर व्यवस्थापन समितिका सचिव चूडामणि गौतमले भने, ‘आगामी जेठ १५ भित्र उक्त ठाउँ छाड्न र संरचना हटाउन जितबहादुरजी राजी हुनु भएको छ ।’

समिति, पुन र वडा ८ बीच ६ महिनाभित्र मन्दिरको जग्गा खाली गराइसक्ने गरी सहमति भएको सचिव गौतमले बताए । ‘यतिका समय बस्नुभयो,’ उनले भने, ‘संरचना व्यवस्थापनका लागि अबको ६ महिना दिन सहमत भएका हौं ।’ सबै जग्गा मन्दिरको स्वामित्वमा आएपछि उक्त जग्गा कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए । सिंचाइ सुविधासहितको खेत उक्त क्षेत्रमा छ ।

प्रकाशित : मंसिर २३, २०७६ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×