कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्ला–मुगु जोड्ने पुल ४ वर्षदेखि अलपत्र

राजबहादुर शाही

(मुगु) — मुगु र हुम्ला जोड्न कर्णाली नदीको भट्टेचौरमा निर्माण थालिएको बेलीब्रिज ४ वर्षदेखि अलपत्र छ । मुगु–हुम्ला सडक सम्पन्न हुन लाग्दा पनि मुख्य पुलको काम पूरा नहुँदा सवारीसाधन आउजाउमा समस्या हुने देखिएको छ ।

हुम्ला–मुगु जोड्ने पुल ४ वर्षदेखि अलपत्र

साबिक जिल्ला प्राविधिक कार्यालयले आव ०७२/७३ मा ९ करोड रुपैयाँ विनियोजन गरी ठेकेदार कम्पनीसँग निर्माणको सम्झौता गरेको थियो । तर ठेकेदार कम्पनी पृथ्वी/आशिष जेभीले पुल निर्माणमा लामो समयदेखि आलटाल गर्दै आइरहेको छ । दुई जिल्लालाई सडक यातायातसँग जोड्ने उद्देश्यले निर्माण थालिएको बेलीब्रिजको निर्माण ठेकेदारले आयोजनास्थलमा कडा ढुंगाको समस्या देखाएर बीचमै छाडेका हुन् । ठेकेदारले काममा लापरवाही गरेपछि पूर्वाधार कार्यालयले पुलको डिजाइन स्टमेट परिर्वतन गरेको थियो । परिवर्तित डिजाइनअनुसार ९ करोड रुपैयाँ बजेट घटाएर ८ करोड रुपैयाँको लागत स्टिमेट तयार पारी सोही कम्पनीलाई काम गर्न कार्यादेश दिएको थियो ।



लागत रकम घटेको भन्दै ठेकेदारले पुल निर्माणमा लापरबाही गरिरहेको कार्यालयले जनाएको छ । पुल निर्माणमा ढिलाइ हुँदा बालुवा, गिट्टी, फलामे छडलगायत निर्माण सामग्री आयोजनास्थलमा अलपत्र छन् । गमगढीदेखि बाम–चंखेली हुँदै हुम्लाको दार्मसम्मको सडक निर्माणको काम तीव्र बनाइएको छ । ग्रामीण पहुँच कार्यक्रमका अनुसार ट्र्याक खोलिएको सडकमा कर्णालीबाट सवारीसाधन तारेर यातायात सेवा सञ्चालन गरिएको छ । सडक निर्माणपछि छिमेकी जिल्ला हुम्लाका बासिन्दालाई आउजाउ र खाद्यान्न आपूर्तिमा सहज हुने जनाइएको छ ।


संस्थाका अनुसार अहिलेसम्म ५६ किमि ट्र्याक खुलिसकेको छ । ठेकेदारले पुल निर्माणमा आलटाल गरेपछि पुलको डिजाइन परिर्वतन गर्न १६ महिना लागेको थियो । संघीयता कार्यान्वयनको क्रममा सरकारी कार्यालयको संरचना परिवर्तन भएपछि ठेकेदारलाई थप फाइदा पुगेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख मोहनसिंह कार्कीले बताए । विभिन्न कारणले कारणले ढिलासुस्ती भए पनि पुल निर्माणको काम छिट्टै सुरु गरिने कम्पनीका प्रतिनिधि नवराज रावतले दाबी गरे । हिउँदमा कर्णाली नदीमा पानीको सतह घट्ने भएकाले काम गर्न केही सहज हुने उनको भनाइ छ ।


यसैबीच, निर्माणाधीन पुलको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलगायतको टोलीले बिहीबार अनुगमन गरेको छ । एक साताभित्र काम अघि बढाउन मुख्यमन्त्री शाहीले ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । ‘एक साताभित्रै पुलको काम सुरु नगरे ठेक्का तोड्ने प्रक्रिया थालिनेछ,’ उनले भने ।


प्रकाशित : मंसिर २१, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?