कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोले गाँवै सुनसान

‘वर्षौंदेखि नै घरमा भण्डारण गरिएको अनाज र धनसम्पत्ति कसैले पनि चोरी नगर्ने विश्वासका साथ गाउँ छाड्ने गरिन्छ’
राजबहादुर शाही

(मुगु) — जाडो छल्न स्थानीय धमाधम बेंसी झरेपछि हिमाली गाउँ मुगु मानवविहीन बनेको छ । मुगमकार्मारोङ गाउँपालिका २, स्थित तिब्बत सीमाको मुगु गाउँ दुई सातादेखि मानवविहीन बनेको हो । चिसोका कारण गाउँपालिकाका अन्य गाउँसमेत सुनसान हुन थालेपछि विकास निर्माण प्रभावित बनेको हो ।

चिसोले गाँवै सुनसान

समुद्र सतहदेखि करिब ३ हजार ५ सय मिटर उचाइको गाउँका स्थानीय चिसो कटाउन औल बस्तीमा ओर्लिएका हुन् । १ सय २० घरधुरी र करिब ४ सय जनसंख्या रहेको बस्तीमा पशुचौपायासमेत भेटाउन मुस्किल छ । स्थानीय बासिन्दा चौपायासहित बेंसी झरेका हुन् ।


स्थानीयलाई ५ महिना न्यानोकै चिन्ता हुन्छ । हिउँदमा हिमपात हुनुअघि नै स्थानीयले बर्सेनि बस्ती खाली गर्दै आएका छन् । हिमपातका कारण बाहिर निस्कनै समस्या हुने गरेपछि औंलमा झर्नुपर्ने स्थानीयलाई बाध्यता छ । ‘अहिले गाउँमा कोही छैन,’ मुगु गाउँका तन्डुल लामाले भने, ‘हिउँले ढोका थुन्छ, चिसोले हातखुट्टा कठ्यांग्रिन्छ, कसरी घरमा बस्नु ?’ चिसोले धारा र खोलाको पानीसमेत जम्ने गरेको उनले सुनाए ।


अहिले अधिकांश स्थानीय सिरानीचौर झरेका छन् । केही परिवारले गमगढी, जुम्ला र काठमाडौं गएर जाडो कटाउने गरेको उनले जानकारी दिए । स्थानीय टासी लामाले बर्सेनि हिउँदमा ५ महिना बस्ती छाड्नुपर्ने बाध्यता रहेको गुनासो गरे । यार्चा र अन्य जडीबुटीले लोभले गर्दा गाउँ छाड्न नसकिएको उनी बताउँछन् । उनका अनुसार स्थानीयको प्रमुख आम्दानी जडीबुटी बिक्री हो । ‘मंसिरमा गाउँ छाड्छौं,’ उनले भने, ‘अब चैत/वैशाखमा मात्र माथि उक्लिने हो ।’ वर्षौंदेखि नै घरमा भण्डारण गरिएको अनाज र धनसम्पत्ति चोरी नभएकाले विश्वासका साथ गाउँ छोड्ने गरिएको उनले जनाए ।


घाम ताप्न औल झर्नुअघि १/२ सातासम्म गाउँका गुम्बा र चैत्यमा पूजापाठ गर्ने गरिएको छ । घरघरै पाहुना डाकेर रमाइलो गरी खानपिन गरेर एकैदिन सबैले गाउँ छाड्ने गरिएको लामाले जानकारी दिए । उनका अनुसार मुगु गाउँमा एकै प्रकारका घर बनाइएको छ । १९७५ सालमा बनेका घरसमेत उसै रहेको उनले जानकारी दिए । ढुंगा र काठ पर्याप्त नपाइने भएकाले पुरानै घरलाई टालटुल गरी बस्ने गरिएको उनी बताउँछन् ।


गाउँपालिकाको चितै र डोल्फू गाउँमा पनि अधिकांश घरमा ताला ठोकिएको छ । ५/७ जना गाउँ हेरालु राखेर स्थानीय बासिन्दा औलका बस्ती झरिरहेका छन् । हिउँदभरि गाउँ नै सुनसान हुने भएकाले हेरालुका लागि ५ महिना पुग्ने अन्न र दाउराको व्यवस्था गरी गाउँ छोड्ने गरिएको स्थानीयको भनाइ छ । कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा छरिएर रहेका मानव बस्तीलाई एकीकृत गर्ने योजना अघि सारे पनि कार्यान्वयन नगर्दा आफूहरूले सास्ती भोग्नुपरेको लामाको गुनासो छ । भौगोलिक विकटता, थोरै जनसंख्या र पातलो बस्ती भएकाले प्रभावकारी रुपमा पूर्वाधार विकास गर्न नसकिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘विकास खर्चसमेत बढी छ,’ उनले भने, ‘५ महिना अधिकांश बस्ती खाली हुने भएकाले विकास निर्माणका काम बर्सेनि प्रभावित भइरहेका छन् ।’ बस्तीहरू एकीकृत गर्नसके पूर्वाधार विकासमा सजिलो हुने लामा बताउँछन् ।


सरकारी कार्यालय र विद्यालयमा ताला

स्थानीय औलका बस्तीमा झरेपछि स्वास्थ्यचौकी, सीमा प्रहरी चौकी, भन्सार, वडा कार्यालय र सामुदायिक विद्यालयमा ताला लागेको छ । चिसो बढेपछि मुगु गाउँस्थित प्रहरी चौकीमा कार्यरत १५ प्रहरीलाई सदरमुकाम बोलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिउँदको समयमा सीमा सुरक्षा चौकीको कामकाज बर्सेनि जिल्लाबाटै हुने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर ऐरले बताए । ‘चिसो समयमा गाउँमा कोही नबस्दा प्रहरीलाई सदरमुकाम बोलाउने गरेका हौं,’ उनले भने, ‘स्थानीय बासिन्दा फर्किएपछि प्रहरीचौकी फेरि पुन:स्थापना गरिनेछ ।’


बालबालिकासमेत बेंसी झर्दा सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने गरिएको छ । सामुदायिक विद्यालयमा पुस १५ गतेदेखि माघ १५ सम्म जाडो बिदा दिने गरिएको मुगमकार्मारोङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रावलले बताए । जाडो बिदा, यार्सा सिजन, हिमपातलगायत कारण मुगु गाउँका बालबालिकाले वर्षमा ८० दिन पनि राम्ररी पढ्न पाउँदैनन् ।


पूर्वाधार विकास अवरुद्ध

बेमौसमी बसाइँका कारण मुगु गाउँमा विकास निर्माणका कामकाज प्रभावित भइरहेका छन् । गाउँमा खानेपानी, विद्युत्, सडकलगायत पूर्वाधारको अभाव वर्षौंदेखि छ ।


गाउँपालिका, प्रदेश र संघीय सरकारबाट विनियोजन भएको बजेट वैशाखदेखि असार अन्तिम सातासम्म सक्नुपर्ने बाध्यता छ । छोटो समयमै सबै बजेट खर्च गर्नुपर्ने भएकाले विकास निर्माणको कामकाज गुणस्तरीय बन्न नसकेको स्थानीयको गुनासो छ । गाउँको विकासका लागि चालु आवमा पूर्वाधारतर्फ ३४ लाख, सांसद क्षेत्र विकास कोषको १० लाख र मुगुदेखि कोइकीसम्मको पर्यटकीय पदमार्ग निर्माणमा १ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार निर्माणका कुनै पनि योजनाको प्रक्रिया अगाडि नबढेको गाउँपालिका अध्यक्ष लामाले जनाए । उनका अनुसार स्थानीय बासिन्दा फर्केपछि मात्रै पूर्वाधार निर्माणका आवश्यक प्रक्रिया सुरु हुनेछन् ।


सधैं खाद्यान्नको चिन्ता

न्यून उत्पादन हुने भएकाले मुगु गाउँका स्थानीयलाई सधैं खाद्यान्नको समस्या हुने गरेको छ । सरकारी अनुदानको चामल मुगु गाउँमा नपुग्ने हुँदा स्थानीयलाई चिनियाँ खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ । सिँचाइ सुविधासमेत नभएकाले हिमपात र वर्षाको आशामा खेती गर्ने गरिएको लामाले जनाए । उनका अनुसार गाउँमा मुस्किलले एक बाली पाक्छ । साउनमा तिब्बत सीमा क्षेत्रमा १५ दिन लाग्ने हाटबजारबाट खरिद गरी ल्याएको खाद्यान्नले वर्षभरि पुर्‍याउनुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘स्थानीयको प्रमुख आयस्रोत नै जडीबुटी संकलन हो, जडिबुटी लिएर हाटबजारमा बिक्री गर्छौ,’ उनले भने, ‘त्यही रकमले खाद्यान्न र दैनिक उपभोग्य वस्तु किनेर वर्षभरि निर्वाह गर्ने गरिरहेका छौं ।’


सिँचाइ समस्या र चिसोका कारण उत्पादन कम हुँदा स्थानीय उत्पादनले वर्षभरि खान नपुग्ने वडाध्यक्ष कार्मा लामाले बताए । उनका अनुसार स्थानीयलाई सरकारी अनुदानको चामल लिन एक दिनभरि हिँडेर पुलु आउनुपर्ने बाध्यता छ । ‘पुलु आए पनि चामल पर्याप्त पाइँदैन, चिनियाँ खाद्यान्नको तुलनामा महँगो पनि पर्छ, उनले भने, ‘त्यसैले अधिकांशले तिब्बती हाटबजारबाटै वर्षभरि पुग्न खाद्यान्न एकैपल्ट खरिद गर्छन ।’ पुलू खाद्य डिपोको लागि खाद्य संस्थानले बार्षिक एक हजार ५ सय क्विन्टल चामलको कोटा तोकेको छ । उक्त चामल समयमा ढुवानी नहुँदा स्थानीयले पर्याप्त चामल नपाउने गरेको वडाध्यक्ष लामाले जनाए ।


चौंरी पनि घामतिर

चुन र बुकी खान पाटन उक्लेका चौंरी अहिले बेंसीका गोठमा झरेका छन् । पाटन क्षेत्रमा चिसो बढेर बरफ जम्न थालेपछि हिडडुल गर्न र चरिचरिन गर्न समस्या हुँदा चौंरीलाई बेंसी झारिएको हो । अहिले बेंसी झारिएका चौंरीलाई निगालो र सिस्नो भएका सामुदायिक वनमा चराउन थालिएको स्थानीयले जनाएका छन् ।


मुगु, डोल्फू, चितैलगायत गाउँबस्तीका चौंरी गत जेठमा चरनका कोइकी, रिमार, टाँकेलगायत पाटनमा चरनका लागि लगिएका थिए । करिब ६ महिनासम्म रित्तै रहेका गोठ चौंरीले भरिन थालेको स्थानीय कर्माटासी तामाङको भनाइ छ ।

प्रकाशित : मंसिर १८, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?