कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुलाम्मे वीरेन्द्रनगर : ठेकेदारको लापरबाही, बटुवालाई सास्ती

चाँदनी कठायत

(वीरेन्द्रनगर) — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर घोषणा भएपछि पहिलोपटक हुम्लाबाट सुर्खेत झरेका झपेन्द्र परियारलाई नगरभित्रका धुलाम्मे सडकले निकै सास्ती दियो । लोकसेवा आयोगको तयारी कक्षा लिन आएका उनी जीर्ण सडकको धूलोले दिक्क भएका छन् ।

धुलाम्मे वीरेन्द्रनगर : ठेकेदारको लापरबाही, बटुवालाई सास्ती

उपभोक्ता समिति र ठेकेदारको लापरबाहीले यात्रु र बटुवाले सास्ती भोग्नुपरेको हो । निर्माणको जिम्मा लिएको लामो समय बित्दासमेत उपभोक्ता समिति र ठेकेदारले अझै काम थालेका छैनन् । ‘म पहिला आउँदा बरु सफा सडक देखेको थिएँ,’ उनले भने, ‘अहिले त झन् सडकमा परेको खाल्डामा माटो पो भर्न थालिएको रहेछ, यसले गर्दा त झन् धुलैधुलो भएको छ ।’


लेकवेशी नगरपालिका १, का प्रेम सुनार केही दिनअघि काँक्रेविहार घुम्न गए । तर मंगलगढीदेखि शिवालय चोकसम्मको धुलाम्मे सडकले उनी धुलाम्मे बने । अटोरिक्सासँग ठोक्किए पनि ठोक्किए अनि घाइते भए । ‘राजधानी भएपछि विकासको अनुभूति गर्न पाइएन,’ उनले भने, ‘पर्यटनका नारा जप्ने स्थानीय सरकारले यत्ति सडक त मर्मत गर्न सकेको छैन अरु के गर्ला ?’ अहिले नगरभित्रका अधिकांश सडक धुलाम्मे छन् । नगरपालिकाले विभिन्न प्राविधिक कारण देखाउँदै सडकका खाल्डाखुल्डी बेलाबेलामा माटोले पुर्ने गरेको छ । चालु आवको ४ महिना बितिसक्दा पनि प्रदेश तथा स्थानीय सरकारले वीरेन्द्रनगरभित्रका सडकहरू निर्माण तथा स्तरोन्नतिको काम सुरु गर्न सकेका छैनन् ।


भर्खर मात्र सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले उपभोक्ता समितिसँग वडास्तरीय योजनाभित्र परेका सडक निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भइसके पनि निर्माणको काम सुरु नभएको बताए । उनका अनुसार घण्टाघरदेखि खेलकुद चोकसम्मको सडकको स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया सम्पन्न भइ सम्झौता भएको छ । मालिका कन्स्ट्रक्सनले जिम्मा पाएको यो सडकको काम चाँडै सुरु हुने इन्जिनियर अधिकारीले जानकारी दिए । उनले आगामी वैशाखसम्म सबै सडकको मर्मत तथा स्तरोन्नति सकिने दाबी गरे । ‘बोलपत्र आह्वान गरिसकेका छौं,’ उनले भने । प्रदेश सरकारले पनि सहरी सडक योजनाअन्तर्गत वीरेन्द्रनगरभित्रका २५ सडक मर्मत तथा स्तरोन्नति गर्दै छ । सडकका लागि ठेक्का प्रक्रिया सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख बासु पौडेलले बताए । सडकका लागि २१ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।


नगरपालिकाले मुख्य बजार क्षेत्र मानिने वीरेन्द्रनगरको वडा ६ र ७ मा केही सडक उपभोक्ता समितिमार्फत र केही सडक ठेक्कामार्फत गराउने तयारी थालेको छ । वडा ६ मा रहेका विभिन्न सडक कालोपत्रे तथा मर्मत सम्भार गर्न ठेक्का प्रक्रिया सुरु भएको हो । ठेक्का प्रक्रियाका लागि बोलपत्र आह्वान गरिएको नगरपालिकाका इन्जिनियर अधिकारीले बताए । वडा ७ मा पाँच सडक स्तरोन्नतिका लागि ३ वटा उपभोक्ता समितिसँग सम्झौता गरिएको उनले जनाए । दुई सडकका लागि भने ठेक्का प्रक्रिया सुरु भएको छ ।


वडा ८ मा दुई सडक कालोपत्रे तथा सतह ढल निर्माण गर्न ठेक्का सम्झौताका लागि बोलपत्र आव्हान गरिएको छ । वडा ९ मा १२ सडक स्तरोन्नतिको काम सुरु हुने चरणमा छन् । यी सडक उपभोक्तामार्फत सम्पन्न हुनेछन् । वडा १० मा विभिन्न दोहोरो पक्की नाला तथा सडक ग्राभेलका लागि लागत अनुमान तयार हुँदै छ । वडा ११ मा १८ वटा सडक स्तरोन्नति र ग्राभेलका कामका लागि सम्झौताको चरणमा छन् । वडा १२ मा दुई सडक कालोपत्रे र स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । तीमध्ये चनौटेको मुख्य सडक कालोपत्रे गर्न बोलपत्र आह्वान गरिएको छ । नगरपालिकाले वडा १ मा पाँच, २ मा ९ र ३ मा तीन सडक मर्मतको योजना बनाएको छ । वडा ४ मा तीन, १३ मा पाँच, १४ मा चार, १५ मा ६ र १६ मा १० सडकको स्तरोन्नति तथा मर्मत गर्न लागिएको इन्जिनियर अधिकारीले जानकारी दिए ।

प्रकाशित : मंसिर ५, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?